अर्बौं लगानीको सेरामिक टाइल्स क्षेत्र अब नियमनको दायरामा, राष्ट्रिय गुणस्तर मापदण्ड बनाइँदै

686
Shares

काठमाडौं । आफुखुशी आयात, उत्पादन र बिक्री-बितरण हुँदै आएको सेरामिक टाइल्सलाई पनि नियमनको दायराभित्र ल्याउन सरकारले सेरामिक टाइल्ससम्बन्धी ‘राष्ट्रिय नेपाल गुणस्तर मापदण्ड’ ल्याउन लागेको छ ।

उद्योग र निर्माण क्षेत्रको गुणस्तर सुनिश्चित गर्ने उद्देश्यले नापतौल तथा गुणस्तर विभागले यससम्बन्धी प्रारम्भिक मापदण्ड ल्याउने तयारी गरेको हो।

विभागले विभिन्न सरोकारवाला निकायसँग सहकार्य गरी सेरामिक टाइल्ससम्बन्धी प्रारम्भिक खाका तयार गरी अहिले विभिन्न निकायसँग राय सुझाव मागेको छ । विभागका निर्देशक अनिल शाक्यका अनुसार राय सुझाव संकलनका लागि ६० दिनको अवधी तोकिएको छ ।

‘विभागले तयार पारेको प्रारम्भिक चरणको मापदण्डको खाकामा राय सुझाव उपलब्ध गराउन ६० दिनको समय तोकिएको छ,’ निर्देशक शाक्यले भने,‘तोकिएको अवधीभित्र प्राप्त हुने राय सुझावको आधारमा मापदण्डलाई थप परिमार्जन गरी नेपाल गुणस्तर परिषदबाट स्वीकृत गराउने विभागको तयारी छ ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यो परिषदको अध्यक्ष रहने व्यवस्था छ ।

हालसम्म सेरामिक टाइल्ससम्बन्धी फराकिलो दायरा भएको मापदण्ड नेपालमा थिएन । यसले गर्दा आयातकर्ताले आफुखुशी गुणस्तरको आयात गर्ने र स्वदेशी उद्योगीले उत्पादन गर्दैआएको शाक्यको भनाइ छ ।

निर्माण क्षेत्रमा प्रयोग हुने टाइल्सको गुणस्तर सुनिश्चित गर्न मापदण्ड तयार पारी नेपाल गुणस्तर (एनएस) मापदण्ड ल्याउने तयारी भएको छ ।

तयार भएको नयाँ मापदण्ड कार्यान्वनयमा आएपछि भुँई र पर्खालमा प्रयोग हुने टाइल्सको उत्पादन, आयात, बिक्री तथा वितरण गर्दा तोकिएको न्यूनतम गुणस्तरीय आवश्यकता अनिवार्य रुपमा पूरा गर्नुपर्नेछ ।

यस्तै निर्माण व्यवसायीले पनि विशिष्टीकृत क्षेत्रमा कुन मापदण्डको प्रयोग गर्ने भनेर अनभिज्ञ रहेका थिए । उदाहरणको लागि भुँई (फ्लोर) र पर्खाल (वाल) मा प्रयोग गर्ने छुट्टै विशिष्टीकृत गुण भएको टाइल्स हुन्छ । यस्तै अस्पताल, घर, एयरपोर्ट, होटेललगायतका भौतिक संरचनामा छुट्टाछुट्टै गुण भएको टाइल्स प्रयोग गर्नुपर्छ ।

‘तर हाम्रोमा ज्ञान र गुणको बारेमा जानकारी नहुँदा जहाँ पायो त्यस्तो टाइल्स प्रयोग गरेको पाइएको छ, वालमा लगाइने टाइल्स भुँइमा र भुँइमा लगाउने टाइल्स वालमा पनि लगाइएको पाइयो, त्यस्तै चिसो स्थानमा लगाउने टाइल्स गर्मी हुने स्थानमा लगाइएको र गर्मी स्थानमा लगाउने टाइल्स चिसो स्थानमा प्रयोग भएको पनि पाइएको छ,’ शाक्यले क्लिकमान्डुसँग भने,‘यस्ता समस्यालाई बैज्ञानिकरुपमा समाधान गर्न र अन्तर्राष्ट्रियस्तरको चलनलाई ध्यानमा राख्दै विभागले प्रारम्भिक चरणको विशिष्टिकृत मापदण्डको खाका तयार पारेको हो ।’

ल्याउन लागिएको यो मापदण्डमा टाइल्सको आकार र सहनशिलता, भौतिक, रसायनिक र कार्यसम्पादनसम्बन्धी विशिष्टीकृत गुणहरु समावेश गरिएको छ।

टाइल्सको लम्बाई, चौडाई, मोटाई, जल शोषण दर, शक्ति अर्थात् बल सहनशिलता (ब्रेकिङ बलियोपना), स्त्र्mयाच र रसायन प्रतिरोध, थर्मल शक टेस्ट, स्पिल प्रतिरोध, लेवलिङ र प्रमाणिकरणलगायतका विषयमा विभिन्न प्रकारका मापदण्ड तय गरिएको छ ।

कजरिया रमेश टाइल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हिमांशु अग्रवालका अनुसार सेरामिक टाइल्सको बिषयमा मापदण्ड नहुँदा निक्कै समस्या भएको थियो ।

उनका अनुसार टाइल्सको गुणस्तर, आकार प्रकार, बनावट, चिसो र तातोपना शोषण गर्न सक्ने, टुट्न सक्ने, कस्तो कच्चा पदार्थबाट तयार गर्ने, कुन स्थानमा कस्तो प्रकारको टाइल्स प्रयोग गर्नेलगायतको विषयमा वैज्ञानिक मापदण्ड नहुँदा आयातकर्ता, उत्पादनकर्ता, बिक्रेता, निर्माणकर्ता र उपभोक्तालाई निक्कै समस्या भइरहेको थियो ।

‘अहिलेसम्म बजारमा आयातकर्ता, उत्पादनकर्ता र बिक्रेताले आफुखुशी आयात गर्ने, यस्ता गुणस्तरको छ भनेर दावी गर्दै बजारीकरण गर्दैआएका थिए, त्यसलाई बिशिष्टिकृत रुपमा परीक्षण गर्ने प्याामिटरसहितको मापदण्ड थिएन,’ क्लिकमान्डुसँग अग्रवालले भने,‘यसले गर्दा हामीजस्ता आयातकर्ता र उत्पादनकर्तालाई पनि ठूलो समस्या पर्दै आएको थियो ।’

मापदण्ड आएपछि टाइल्स क्षेत्रमा कार्यरत सम्पूर्ण उद्योगी व्यवसायीलाई विश्वस्तरमा चलन चल्तीमा भएको गुणस्तरको टाइल्स आयात र उत्पादन गर्न सहज भएको उनले जानकारी दिए ।

आयातकर्ता, उत्पादनकर्ता, बिक्रेता र निर्माणकर्तासँग विभिन्न चरणमा छलफल गरी यो मापदण्ड ल्याउन लागेको अग्रवालले जानकारी दिए ।

मापदण्ड तयार गर्न नापतौल तथा गुणस्तर विभागले विभिन्न क्षेत्रका बिज्ञहरुलाई समावेश गरी टेक्नीकल उपसमिति गठन गरेको थियो । यहि उपसमितिले अन्तर्राष्ट्रिय अभ्यासको आधारमा सरोकारवाला निकायहरुसँग छलफल र सहकार्य गरी मापदण्ड तयार पारेको हो ।

यो उपसमितिका सदस्य तथा नेपाल निर्माण व्यवसायी महासंघका बोर्ड सदस्य प्रमोद लामिछानेका अनुसार मापदण्ड तयार भएर कार्यान्वयनमा आएपछि मापदण्ड पुगेका स्वदेशी उद्योगले नेपाल गुणस्तर चिन्ह प्राप्त गर्न सक्षम हुनेछन् ।

लामिछानेले भने,‘नेपाल गुणस्तर (एनएस) प्राप्त गर्ने उद्योग विश्वस्तरको मापदण्डसँग प्रतिस्र्पधा गर्न सक्न सक्षम हुने भएकाले त्यस्ता उद्योगबाट उत्पादित टाइल्स ठूलो परिमाणमा अन्तर्राष्ट्रिय बजारमा समेत बजारिकरण गर्न सम्भव हुनेछ ।’

विभागले यो मापदण्ड स्वीकृत भएको ३ देखि ६ महिनामा यो मापदण्ड कार्यान्वयनमा आउने प्रस्ताव गरेको छ । सुरुआति समयमा स्वेच्छिकरुपमा पालना गर्ने व्यवस्था गरिनेछ । त्यसपछि समयसीमा निर्धारण गरेर अनिवार्य रुपमा पालना गर्न लगाइने विभागले जनाएको छ ।

नेपालमा ८ वटा उद्योगले सञ्चालनको अनुमति पाएपनि हाल करिब ५ सेरामिक टाइल्स उद्योगहरू स्वदेशी लगानीमा सञ्चालनमा छन् । प्राइम सेरामिक्स, नेपोभिट, लुम्बिनी, कजरिया र नेमाटो जस्ता उद्योगले उत्पादन गर्न सुरु गरिसकेको छ ।

बाँकी उद्योग उत्पादन गर्ने क्रममा रहेको महासंघका बोर्ड सदस्य लामिछानेले जानकारी दिए । उनका अनुसार नेपालमा वार्षिक १५ लाख वर्गमिटर टाइल्सको माग र खपत छ ।

‘तर हाल सञ्चालनमा आएका र सञ्चालन हुन बाँकी रहेका उद्योगहरु पूर्ण क्षमता र मापदण्ड दायराभित्र रहेर उत्पादन गरेमा स्वदेशी माग पूरा गर्नुका साथै विश्वबजारमा निर्यात गर्न पनि सक्षम हुने अवस्था छ,’ लामिछानेले भने।

उनका अनुसार यस्ता उद्योगले मुलुकलाई टाइल्स उत्पादनमा आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याइरहेका छन्। यी उद्योगहरूले आयात प्रतिस्थापनमा सहयोग गर्नुका साथै स्थानीयस्तरमा रोजगारी सिर्जना, प्रविधि हस्तान्तरण र नेपाली डिजाइनको प्रवद्र्धनमा पनि उल्लेखनीय भूमिका खेल्ने लामिछानेले जानकारी दिए ।

कस्तो छ टाइल्सको मापदण्ड ?

विभागले ग्लेज्ड भिट्रिफाइड टाइल्स (जीभीटी) र पोलिस्ड ग्लेज्ड भिट्रिफाइड टाइल्स (पीजीभीटी) को हकमा पानी सोस्ने क्षमता (जल शोषण दर) ०.५ प्रतिशत तोकेको छ ।

यस्तै साधारण वल टाइल्सको लागि जल शोषण दर अधिकतम २० प्रतिशत तोकेको छ । जल शोषण दरको आधारमा सेरामिक टाइल्सलाई तीन भागमा वर्गीकरण गरिएको छ । जसअनुसार ०.५ प्रतिशतभन्दा कम जल शोषण दर भएका टाइल्सलाई समूह एक, ०.५ प्रतिशतदेखि १० प्रतिशतसम्म जल शोषण दर भएका टाइल्सलाई समूह दुई र १० प्रतिशतभन्दा बढि जल शोषण दर भएका टाइल्सलाई तेश्रो समूहमा राख्ने गरी वर्गीकरण गरिएको छ ।

यस्तै टाइल्सले न्यूनतम भार सहन सक्ने मापदण्ड पनि तोकिएको छ । उदाहरणका लागि ७.५ मिमी मोटाईको टाइल्सको लागि कम्तीमा ६ सय न्यूटन वल सहन सक्नुपर्ने भार सहन क्षमता तोकिएको छ ।

विभागले यो मापदण्डमार्फत टाइल्सले अत्यधिक तापक्रम परिवर्तन सहन सक्ने क्षमताको परीक्षण पनि अनिवार्य गरेको छ । सार्वजनिक स्थान र भिजेका स्थानको लागि टाइल्सको हकमा ‘स्लीप रेसिस्टेण्ट रेटिङ’ प्रणालीलाई पनि अनिवार्य गरिएको छ ।

सेरामिक टाइल्सको गुणस्तर सुनिश्चित गर्न विभागले यो मापदण्डमार्फत आठ प्रकारको विभिन्न भौतिक र यान्त्रिक परीक्षण अनिवार्य गरेको छ । जसअनुसार पानी सोस्ने क्षमता (जल शोषण दर), टुट्ने शक्ति, टाइल्स भाँचिने क्षमता, सतहको गुणस्तर, हिउँ प्रतिरोध क्षमता (जाडो मौसममा प्रयोग हुने टाइल्सको हकमा), रसायनिक प्रतिरोधक, दाग प्रतिरोधक र तापीय झट्का प्रतिरोधक परीक्षणमा उतिर्ण हुने सेरामिक टाइल्समात्रै गुणस्तरीय हुने मापदण्डमा उल्लेख छ ।

अनिवार्य रुपमा लेवल राख्नुपर्ने

उत्पादनकर्ता र आयातकर्ताले टाइल्स आयात गर्दा वा उत्पादन गर्दा अनिवार्य रुपमा उक्त टाइल्सको निर्माता वा आयातकर्ताको नाम, टाइल्सको प्रकार, आकार र वर्ग(समुह नम्बर), मापदण्ड नम्बर, उत्पादन मिति वा ब्याच नम्बर, उत्पादन भएको मुलुक अनिवार्य रुपमा लेवलमा उल्लेख गर्नुपर्ने व्यवस्था प्रारम्भिक मापदण्डमार्फत गरेको छ ।

विभागले मापदण्डविपरित आयात, उत्पादन र बजारमा बिक्री बितरण भएको पाइएमा जफ्त, जरिवाना र कारवाहीसम्मको व्यवस्था गरेको छ ।

बजारमा कस्ता प्रकारका टाइल्स

विश्वबजारसहित नेपालको बजारमा विभिन्न प्रकारका सेरामिक टाइल्सले बजारिकरण गरिरहेको छ । यसमध्ये ग्लेज्ड भिट्रिफाइड टाइल्स (जीभीटी), पोलिस्ड ग्लेज्ड भिट्रिफाइड टाइल्स (पीजीभीटी), डबल चार्ज टाइल्स, वल टाइल्स, सोल्टो सोल्ट टाइल्स, सेनिटरी वेयर टाइल्स लगायत मुख्य हुन् ।

नेपालमा सबैभन्दा बढी जीभीटी र पीजीभीटी टाइल्सको माग छ । यसमा आधुनिक डिजाइन र टिकाउपन हुन्छ । नेपालमा भारत, चीन र इटलीबाट वार्षिक करिब ४० अर्ब रुपैयाँबराबरको सेरामिक टाइल्स आयात गर्दैआएको छ ।

१९ अर्बको लगानीमा नेपालमा ८ उद्योग

नेपालमा हाल १८ अर्ब ७६ करोड रुपैयाँको लगानीमा टाइल्ससम्बन्धी ८ वटा उद्योग स्थापना भएका छन् । यसमध्ये ५ वटाले उतपादन सुरु गरेको छ भने बाँकी उत्पादन गर्ने प्रक्रियामा छन् ।

यसमध्ये भारतको कजरिया सेरामिक्कको ५० प्रतिशत लगानी र नेपालको रमेश कर्पको ५० प्रतिशत संयुक्त लगानी हुने गरी ४ अर्ब रुपैयाँमा नवलपरासीमा कजरिया रमेश टाइल्स लिमिटेड स्थापना भएको छ । यो उद्योगको वार्षिक उत्पादन क्षमता ५१ लाख वर्गमिटर छ ।

यस्तै लुम्बिनीको गुलरिया नगरपालिका ९ मा ४ अर्ब रुपैयाँको लगानीमा अर्को टाइल्स उद्योग लुम्बिनी सेरामिक्स लिमिटेड (लामिनार टाइल्स) सञ्चालन भएको छ । यसको वार्षिक उत्पादन क्षमता ४.१५ करोड वर्गफुट छ ।

३ सयजनालाई रोजगारी उपलब्ध गराउने उद्देश्य राखेर यो उद्योगले सतप्रतिशत भिट्रिफाइड टाइल्स(म्याट, ग्लोसी, हाई ग्लोसी, म्याट क्यार्भिङ, ग्रिप ९, ट्रुम्याट, फुल बडी र प्लाङ्कस) उत्पादन गर्ने नीति बनाएको छ । यसले इटली, स्पेन, चीन र भारतबाट अत्याधुनिक प्रविधिसहितको प्लान्ट स्थापना गरेको छ ।

यस्तै रौतहटको बृन्दावन नगरपालिका ६ मा २ अर्ब रुपैयाँको लगानीमा प्राइम सेरामिक्स उद्योग सञ्चालनमा आएको छ । यसको वार्षिक उत्पादन क्षमता १५ लाख वर्गफुट हो । यसले मुख्यगरी भित्तै र भुँईका लागि विभिन्न आकार र २५० भन्दा बढि डिजाइनमा टाइल्स उत्पादन गर्ने जनाएको छ ।

यसले पनि ३ सय जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएको छ । जसमध्ये ६० प्रतिशत महिला कामदार छन् । यसैगरी नेपालको उद्योगपति घराना मुरारका समूह र भारतको सोमानी सेरामिक्सको संयुक्त २ अर्ब रुपैयाँको लगानीमा रुपन्देहीमा सोमानी टाइल्स उद्योग स्थापना भएको छ । यसको वार्षिक उत्पादन क्षमता ३० लाख वर्गमिटर छ ।

यस्तै ३ अर्ब रुपैयाँको लगानीमा सुनसरीको सोनापुरमा नेमाटो टाइल्स उद्योग स्थापना भएको छ । यसको उत्पादन क्षमता दैनिक १८ हजार वर्गमिटर छ ।

यसैगरी बाराको जितपुर सिमरामा १.६ अर्ब रुपैयाँको लगानीमा नेपालकै पहिलो उद्योग नेपाल सेरामिक इण्डस्ट्रिज (नेपोभिट टाइल्स) स्थापना भएको छ । यो नेपालको पहिलो टाइल्स ब्राण्ड स्वदेशी कम्पनी हो । यसले ५० प्रतिशत बढी नेपाली माटोको प्रयोग गरी टाइल्स उत्पादन गर्दैआएको छ ।

यो उद्योगले प्रत्यक्ष रुपमा ४ सय जनालाई रोजगारी उपलब्ध गराएको छ । यस्तै बाराको सिमरा सेजमा १ अर्ब ५ करोड रुपैयाँको लगानीमा पशुपति सेरामिक्स उद्योग सञ्चालनमा आएको छ । यसमा नेपालका व्यवसायी र भारतीय व्यवसायीको संयुक्त लगानी छ ।

त्यस्तै कपिलवस्तुमा ६६ करोड ७९ लाख रुपैयाँको लगानीमा मेक्सो टाइल्स उद्योग स्थापना भएको छ । यो उद्योगको फ्लोर टाइल्स १ करोड ६० लाख पिस र वाल टाइल्स १ करोड २५ लाख पिस वार्षिक उत्पादन गर्ने क्षमता छ ।

विश्वबजारमा सबैभन्दा ठूलो उत्पादक चीन, सबैभन्दा महँगो इटलीको

सेरामिक टाइल्स उत्पादनमा विश्वबजारमा सबैभन्दा ठूलो मुलुक चीन हो । चीनको उत्पादन लागत खर्च निक्कै सस्तो भएकाले विश्वबजारका ३० प्रतिशत हिस्सा चिनियाँ टाइल्सले ओगटेको छ । चीनले वार्षिक रुपमा ७०० करोड वर्गमिटर टाइल्स उत्पादन गर्छ ।

दोश्रो उत्पादकमा भारत पर्छ । सस्तो लागत खर्चमा उत्पादन गर्ने भारतले वार्षिक रुपमा ३०० करोड वर्गमिटर उत्पादन गर्दैआएको छ । कूल टाइल्स उद्योगमध्ये झण्डै ८५० वटा उद्योग गुजरातको मौरवी क्षेत्रमा रहेका छन् ।

यसपछि तेश्रो उत्पादकमा ब्राजिल पर्छ । यसले वार्षिक रुपमा १०० करोड वर्गमिटर टाइल्स उत्पादन गर्छ । ब्राजिलले उत्पादन गर्ने टाइल्स मुख्यगरी युरोप, अमेरिका र अफ्रिकामा निर्यात हुन्छ ।

चौथो उत्पादक मुलुकमा टर्की पर्छ । यसको वार्षिक उत्पादन क्षमता ७० करोड वर्गमिटर छ । यसको उत्पादन पनि युरोप, अमेरिका र अफ्रिकामा निर्यात हुन्छ ।

पाँचो उत्पादक मुलुकमा इटली पछ । उच्च प्रिमियम, लग्जरी र डिजाइनयुक्त टाइल्स सेगमेन्टमा विश्वबजारमा प्रख्यात छ । यसको वार्षिक उत्पादन ५० करोड वर्गमिटर छ ।

इटलीमा उत्पादन हुने टाइल्स मुख्यगरी युरोप र अमेरिकामा निर्यात हुँदै आएको छ । अन्य मुलुकको तुलनामा इटलीमा उत्पादन भएको टाइल्स निक्कै महँगो छ ।

Skip This