उद्योग निर्माणका लागि ३ अर्ब ऋण लिँदै कजरिया रमेश टायल्स, २०२४ को अन्त्यबाट सञ्चालनमा आउने



काठमाडौं । कजरिया रमेश टायल्स उद्योगले स्थापनाका लागि ३ अर्ब ४ करोड रुपैयाँ लिने भएको छ । कम्पनीले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि ३ अर्ब ४ करोड रुपैयाँको रेटिङ गराएको हो ।

भारतको कजरिया सेरामिक लिमिटेड र रमेश कर्पको ५०/५० प्रतिशत हिस्सा रहेको कजरिया रमेश टायल्सले जोइन्टभेन्चरमा नवलपरासी जिल्लाको बर्दाघाट उद्योग स्थापना गरिरहेको छ । कम्पनीमा कजरिया सेरामिकको ५० प्रतिशत स्वामित्व छ भने बाँकी ५० प्रतिशत भने रमेश कर्पको ७ जना सदस्यको स्वामित्व छ ।

कम्पनीले वार्षिक २ करोड ५६ लाख स्क्वारफिट ग्लेज भिट्रीफाइड टायल्स र २ करोड ९३ लाख स्क्वायरफिटक वाल टायल्स उत्पादन गर्ने लक्ष्य लिएको छ । कम्पनीले कजरिया ब्रान्डमा उत्पादित टायल्स बेच्नेछ ।

नेपालले अहिले उच्च रकम खर्चेर टायल्स आयात गर्दै आएको छ । सरकारले उच्च आयात भइरहेको टायल्समा ४० प्रतिशत भन्सारदर तोकेको छ । जसले गर्दा नेपाली बजारमा टायल्सको मूल्य महंगो छ ।

पछिल्लो समय बजारमा माग बढ्दै गएपछि नेपाली उद्योगीहरुले टायल्स उत्पादनमा जोड दिँदै आएको छन् । त्यस्तै, कम्पनीले पनि आयात निरुत्साहित गर्नका लागि स्वदेशमा नै टायल्स उत्पादन गर्ने उद्योग निर्माण गरेको जनाएको छ ।

कम्पनीले ७५ प्रतिश लगानी बैंकबाट कर्जा लिई उद्योग निर्माणमा लगानी गर्ने भएको छ । कम्पनीकाअनुसार पछिल्लो समय अर्थतन्त्रमा देखिएको संकुचनले गर्दा रियल इस्टेट कारोबारमा कमी आएको छ । तर, आगामी दिनमा बजारमा माग बढ्ने कम्पनीको विश्वास छ ।

कम्पनीले हालसम्म १६ प्रतिशत भौतिक कार्य सम्पन्न गरिसकेको छ । कम्पनीले सन् २०२४ को अन्त्यबाट व्यवसायिक कारोबार गर्ने लक्ष्य लिएको छ ।


क्लिकमान्डु