९ वर्षमा ६६ अर्बको सेरामिकजन्य वस्तु आयात, सबैभन्दा बढी फिनिसिङ सेरामिक



काठमाडौं । उच्च आयातका कारण बजारमा तरलता अभाव भएको सरकारले विभिन्न चरणमा आयातमा कडाइ गरेको थियो । नेपाल राष्ट्र बैंकले पहिलोपटक परिपत्र जारी गर्दै पुस ५ गते विभिन्न २० वस्तुको आयातमा शत प्रतिशत मार्जिनको व्यवस्था गरेको थियो । त्यस्तै, माघमा पुनः २७ वटा वस्तुमा कडाइ गरेको थियो ।

सरकारले कडाइ गरेकोमध्ये सेरामिकजन्य वस्तु पनि एक हो । पछिल्ला दिनहरुमा सेरामिकजन्य वस्तुको आयात पनि उच्च भइरहेको देखिन्छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत वर्ष मात्रै नेपालले १३ अर्ब ३८ करोड १४ लाख ७१ हजार रुपैयाँको सेरामिकजन्य वस्तु आयात गरेको थियो ।

सरकारले सेरामिजन्य वस्तुको आयातमा मार्जिनको व्यवस्था गरेपनि आयातमा भने कमी आएको देखिदैन । त्यस्तै, नेपालले चालु आर्थिक वर्षको चार महिनाको अवधिमा मात्रै ३ अर्ब ३५ करोड ८४ लाख रुपैयाँको सेरामिकजन्य वस्तु आयात गरेको छ ।

त्यसैगरी, नेपालले ९ वर्षको अवधिमा ६६ अर्ब १८ करोड १४ लाख ९१ हजार रुपैयाँको सेरामिकजन्य वस्तु आयात गरेको छ । नेपालले आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी सेरामिकजन्य वस्तु आयात गरेको देखिन्छ । विभागअनुसार गत वर्ष १३ अर्ब ३८ करोड १४ लाख ७१ हजार रुपैयाँको सेरामिकजन्य वस्तु आयात गरेको छ ।

त्यस्तै, नेपालले आव २०७७/७८ मा १२ अर्ब ६६ करोड ४९ लाख रुपैयाँ, आव २०७६/७७ मा ८ अर्ब ८९ करोड ५७ लाख रुपैयाँ, आव २०७५/७६ मा ९ अर्ब २० करोड ८७ लाख रुपैयाँ, आव २०७४/७५ मा ७ अर्ब ४३ करोड ४ लाख रुपैयाँ, आव २०७३/७४ मा ५ अर्ब १७ करोड ६३ लाख रुपैयाँ, आव २०७२/७३ मा ३ अर्ब ३८ करोड ५६ लाख रुपैयाँ र २ अर्ब ६७ करोड ९७ लाख रुपैयाँको सेरामिक आयात गरेको छ ।

समग्रमा हेर्दा पछिल्ला दिनहरुमा सेरामिकजन्य वस्तुको आयातसँगै बजारमा माग बढ्दो देखिन्छ । नेपाली बजारमा सेरामिक टायल्यभन्दा बढी फिनिसिङ सेरामिक उच्च आयात भएको छ । विशेषगरी घर निर्माणमा प्रयोग हुने सेरामिक टायल्स विभिन्न देशबाट आयात गरी आपूर्ति गर्दै आएको छ ।

सरकारी तथ्याङ्कअनुसार घर निर्माण गर्दा प्रयोग हुने सेरामिकभन्दा फिनिसिङ सेरामिक बढी आयात भएको देखाउँछ । फिनिसिङ सेरामिकमा सजाउनका लागि प्रयोग हुने विभिन्न आकारका सामग्री, कचौरा, प्लेटलगायतका अन्य भित्तामा प्रयोग हुने वस्तु पर्छन् । पछिल्ला दिनहरुमा सेरामिकबाट बनेको विभिन्न प्रकारका वस्तुको प्रयोगमा बढ्दो देखिएकाले आयात बढिरहेको भन्सार विभागले जनाएको छ ।

सबैभन्दा बढी फिनिसिङ सेरामिक

विभागअनुसार नेपालले वार्षिक आयात गर्ने सेरामिकजन्य वस्तु आयात गर्दा सबैभन्दा बढी फिसिङ सेरामिक आयात भएको देखाउँछ । जसमा पूर्ण तयार भएको विभिन्न प्रकारका सेरामिकबाट बनाएका सजावटका सामग्री, प्लेट, कप, भुईं तथा भित्तामा प्रयोग हुने टायल्सलगायत अन्य विभिन्न प्रकारका वस्तु छन् ।

नेपालले चालु आर्थिक वर्षको चार महिनाको अवधिमा मात्रै २ अर्ब ४१ करोड २७ लाख ८९ हजार रुपैयाँको फिनिसिङ सेरामिक आयात गरेको छ । त्यस्तै, गत वर्षमा १० अर्ब १० करोड ९४ लाख रुपैयाँको आयात गरेको सरकारी तथ्याङ्कमा छ ।

त्यस्तै, आव २०७७/७८ मा ९ अर्ब ६० करोड ६८ लाख रुपैयाँ, आव २०७६/७७ मा ६ अर्ब ३६ करोड ७८ लाख रुपैयाँ, आव २०७५/७६ मा ६ अर्ब ६२ करोड १ लाख रुपैयाँ र आव २०७४/७५ मा ५ अर्ब २८ करोड ३३ लाख ६७ हजार रुपैयाँको फिनिसिङ सेरामिक आयात गरेको थियो । तर, त्यसअघि सेरामिकजन्य वस्तु आयात भएपनि फिनिसिङ सेरामिक भने आयात हुँदैनथ्यो । सोबेला नेपालले सेरामिकजन्य इट्टा, पाइप, टायल्सलगायत अन्य वस्तु आयात गर्दै आएको थियो ।

अधिकांश सेरामिक भारतबाट आयात

नेपालले आयात गर्ने अधिकांश सेरामिक भारतबाट आयात हुँदै आएको छ । विभागअनुसार चालु आर्थिक वर्षको चार महिनाको अवधिमा ३ अर्ब ३५ करोड रुपैयाँको सेरामिक आयात गर्दा भारतबाट मात्रै ३ अर्ब २९ करोड ४४ लाख ६२ हजार रुपैयाँको आयात गरेको छ ।

त्यसपछि चीनबाट आयात भएको छ । चीनबाट चार महिनाको अवधिमा ३१ करोड ४ लाख रुपैयाँको आयात गरेको छ । त्यसैगरी, नेपालले बंगलादेश, फ्रान्स, जर्मनी, हङकङ, जापान, इजरायल, काजास्थान, कुवेत, साउदी अरेबिया, सिंगापुर, स्पेन, श्रीलंका, थाइल्यान्ड, टर्की, युएई, बेलायत तथा अमेरिकाबाट आयात हुने गरेको छ ।


क्लिकमान्डु