२ अर्ब लगानीमा बारामा नेपोभिट सेरामिक टायल उद्योग खुल्दै, कति लिँदैछ ऋण ?



काठमाडौं । करिब २ अर्ब रुपैयाँ लगानीमा नेपोभिट सेरामिक प्रालिले टायल उत्पादन गर्न लागेको छ ।

नेपालमै पहिलो पटक सेरामिक्स टायल उत्पादन गर्ने गरि सञ्चालनमा आउने तयारीमा रहेको उक्त कम्पनीले ८१ करोड २३ अर्ब रुपैयाँको कर्जाका लागि रेटिङ गराएको छ ।

उक्त उद्योगमा भारतीय टायल उत्पादन कम्पनी एसियन ग्रानिटो इन्डिया लिमिटेडको समेत लगानी रहने छ ।

उक्त कम्पनी भारतकै ठूलो मध्येको व्यापारिक समूहमा पर्छ । नेपालमा सञ्चालनमा आउने उद्योगको बोर्ड सदस्यमा चार जना रहेका छन् । जसको अध्यक्षता शम्भुनाथ झाले गरेका छन् । झा बिगतमा पनि यहि क्षेत्रमा काम गरिरहेका व्यक्ति हुन् । उनी नेपाल सेरामिक्स इन्डस्ट्रिज प्रालिका अध्यक्ष पनि हुन् । उक्त कम्पनीले बिगतमा भारतबाट सेरामिक टायलहरु आयात गर्दै बिक्री गर्ने गरेको छ ।

कम्पनीको प्रमुख उत्पादन कारखाना सिमरा ११ नम्बर वडामा निर्माणाधीन छ। भारतीय सीमा नजिकै भएकाले उद्योगले कच्चा पदार्थको आयात र तयार सामग्रीको निर्यातका लागि पनि खर्च कटौती गर्ने अवस्था छ ।

कम्पनीको निर्देशकमा मनोजप्रसाद रौनियार रहेका छन्, जो विगत २५ वर्षदेखि टायल, हार्डवेयरजस्ता सामग्रीको आयात तथा बिक्रीमा संलग्न हुनुका साथै नेपाल हिल टेक प्रालि र हिमाल इम्पेक्सका चितवनका पनि निर्देशक हुन् ।

उद्योग निर्माणको चरणमा रहेको कम्पनीले निर्माणपछि भने वर्षेनी २८ लाख ५० हजार बक्स टायल प्रतिवर्ष उत्पादन गर्ने भनिएको छ ।

हालका लागि ८१ करोड २३ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको कम्पनीले दीर्घकालीन कर्जा सुविधा अन्तर्गतको ६२ करोड २० लाख रुपैयाँका लागि डबल बी माइनस र २ करोड रुपैयाँको अल्पकालीन कर्जा सुविधाका लागि ए फोर रेटिङ पाएको छ । साथै कम्पनीले १६ अर्ब रुपैयाँको दीर्घकालीन तथा अल्पकालीन दुवै कर्जा सुविधाका लागि भने डबल बि माइनस/ए फोर रेटिङ पाएको छ ।


क्लिकमान्डु