नेपोभिट ब्रान्डको टायल बेच्ने कम्पनीले एकै वर्ष गर्‍यो साढे १ अर्बको व्यापार



काठमाडौं । नेपोभिट ब्रान्डको सेरामिक टायल उत्पादन गरी बजारमा बिक्री गर्दै आएको नेपाल सेरामिक उद्योगले एकै वर्ष साढे १ अर्बको व्यापार गरेको छ । कम्पनीले सञ्चालनमा आएको वर्ष दिनमै १ अर्ब ५५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२२ मा ३३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२२ को अप्रिलदेखि व्यापार गर्न सुरु गरेको थियो ।

बारा जितपुरमा रहेको उद्योगमा दुई जना निर्देशक छन् । सम्भुनाथ झा र मनोजप्रसाद रौनियारको लगानी रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि १ अर्ब २५ करोड ५२ लाख रुपैयाँको रेटिङ गराएको छ ।

सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यसहित सेरामिक टायल आयतमा ४० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरेको छ । तर, यता टायल बनाउनका लागि आवश्यक कच्चा पदार्थमा भने छ प्रतिशत भन्सार दर तोकेको छ ।

बजारमा सेरामिक टायलको उच्च माग हुँदा बजारमा आपूर्ति गर्नका लागि विगतको दिनमा उच्च आयात हुँदै आएको थियो । तर, पछिल्ला दिनहरुमा स्वदेशी लगानीकर्ताहरुले टायल उत्पादनमा जोड दिएसँगै आयात कम हुँदै गएको छ । कम्पनीकाअनुसार सन् २०२३ मा कम्पनीले उत्पादन गरेको टायलको माग बढ्दा एकै वर्ष ३६५ प्रतिशत व्यापार बढेको उल्लेख छ ।

पछिल्ला दिनहरुमा उद्योगीहरुले सेरामिक उद्योगमा लगानी बढाउँदै गएका छन् । लगानी गरेका केही उद्योगहरुले छिट्टै नै व्यापार गर्ने तयारी गरिरहेको छ ।


क्लिकमान्डु