उड्डयन प्राधिकरण संचालक समिति र महानिर्देशककाे कार्यकक्षमा कर्मचारीले ताला लगाए

315
Shares

काठमाडौं‌ । नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले प्राधिकरणलाई नियामक र सेवा प्रदायकमा विभाजन गर्न लागिएको बिरोधमा प्राधिकरण संचालक समिति र महानिर्देशककाे कार्यकक्षमा ताला लगाएका छन् ।

कर्मचारीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्याउन नहुने भन्दै संसदमा दर्ता भएको नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ को बिरोध गर्दै तालाबन्दी गरेका हुन् ।

वैशाख १४ र १५ गते नेपाल नागरिक उड्डयन प्राधिकरण संचालक समितिका अध्यक्ष, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालय, बवरमहलमा र महानिर्देशकको सिनामंगल तथा बवरमहलस्थित कार्यकक्षमा तालाबन्दी गरेका छन् । कर्मचारीले तालाबन्दीपछि १२:०० बजेदेखि १:०० बजेसम्म १ घन्टा धर्ना दिन सुरु गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल राष्ट्रिय कर्मचारी संगठनले विज्ञप्ति जारी गर्दै सरोकारवालासँग औपचारिक छलफलविना संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले २०८१ माघ १९ गते संघीय संसद्मा दर्ता गरी २०८१ फागुन १३ गते प्रतिनिधि सभामा पेश गरेको प्राधिकरणको विद्यमान संरचनालाई ध्वस्त पारी २ वटा कमजोर प्राधिकरणहरु बनाउन खोजेको भन्दै असहमति जनाउँदै आएका छन् ।

यसअघि मन्त्रीलाई गत फागुन २८ गते ७ दिने अल्टिमेटमसहित बुझाइएको ज्ञापनपत्रमा नेपाल सरकारबाट पेश गरिएका विधेयकहरू फिर्ता लिन गरिएको मागको कुनै सुनुवाई नभएपछि वाध्य भएर तालबन्दीसहितको विरोधमा उत्रनु परेकाे नेपाल नागरिक उड्डयन प्राधिकरण आधिकारीक ट्रेड युनियनका अध्यक्ष सुवाष कोइरालाले बताए ।

संसदमा प्रस्तुत भएका विधेयकहरू फिर्ता लिनको लागि श्रृङ्खलाबद्ध रूपमा संघर्षमा जाने निर्णय भए बमोजिम हालको बजेट अधिवेशनमा पुनः कार्य सूचिमा राखिएको भन्दै उनीहरुले वैशाख १४ र १५ गते संघर्षको कार्यक्रमहरू घोषणा गरेका हुन् । अपरेशन ड्यूटीमा बाधा नपर्ने गरी आन्दोलन गर्ने उनीहरुको भनाइ छ।