उड्डयन प्राधिकरण टुक्राउने बिधेयकविरुद्ध कर्मचारी, महानिर्देशको कार्यालयमा तालाबन्दी गरेर धर्नामा

336
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले प्राधिकरणलाई नियामक र सेवा प्रदायकमा विभाजन गर्न लागिएको बिरोधमा महानिर्देशक प्रदीप अधिकारीको कार्यालयमा तालाबन्धी गरेर धर्नामा बस्नेसहितका बिरोधका कार्यक्रम सार्वजनिक गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल राष्ट्रिय कर्मचारी संगठनले विज्ञप्ति जारी गर्दै सरोकारवालासँग औपचारिक छलफलविना संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले २०८१ माघ १९ गते संघीय संसद्मा दर्ता गरी २०८१ फागुन १३ गते प्रतिनिधि सभामा पेश गरेको प्राधिकरणको विद्यमान संरचनालाई ध्वस्त पारी २ वटा कमजोर प्राधिकरणहरु बनाउन खोजेको भन्दै असहमति जनाउँदै आएका छन् ।

यसअघि मन्त्रीलाई गत फागुन २८ गते ७ दिने अल्टिमेटमसहित बुझाइएको ज्ञापनपत्रमा नेपाल सरकारवाट पेश गरिएका विधेयकहरू फिर्ता लिन गरिएको मागको कुनै सुनुवाई नभएको उनीहरुको भनाइ छ ।

संसद्मा प्रस्तुत भएका विधेयकहरू फिर्ता लिनको लागि श्रृङ्खलाबद्ध रूपमा संघर्षमा जाने निर्णय भए वमोजिम हालको बजेट अधिवेशनमा पूनः कार्य सूचिमा राखिएको भन्दै उनीहरुले वैशाख १४ र १५ गते संघर्षको कार्यक्रमहरू घोषणा गरेका हुन् । अपरेशन ड्यूटीमा बाधा नपर्ने गरी आन्दोलन गर्ने उनीहरुको भनाइ छ।

वैशाख १४ र १५ गते नेपाल नागरिक उड्डयन प्राधिकरण संचालक समितिका अध्यक्ष, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालय, ववरमहलमा र महानिर्देशकको सिनामंगल तथा बवरमहलस्थित कार्यकक्षमा तालाबन्दी गरी महानिर्देशकको सिनामंगलस्थित कार्यकक्ष अगाडि दिनको १२:०० बजेदेखि १:०० बजेसम्म १ घन्टा धर्ना दिने कार्यक्रम सार्वजनिक गरेका छन् ।