पोखरा एयरपोर्टमा अर्बौंको भ्रष्टाचार: क्यानका डीजीमाथि कारबाहीको माग गर्दै नाराबाजी (भिडियो)


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं रुपैयाँ भ्रष्टाचार भएको गरेको प्रदर्शन गरेका छन् । नेकपाका नेता कार्यकर्ताले नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा घेराउ गरेका हुन् ।

सोमबार मध्याह्न उनीहरुले प्राधिकरणको मुख्यालय घेराउ गरेका थिए ।

प्रदर्शनकारीले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी अधिकारीविरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरुले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारमा संलग्न भएको भन्दै अधिकारीको राजीनामा माग गरेका हुन् ।

उनीहरुले ‘नीतिगत भ्रष्टाचारीलाई कारबाही गर’, ‘प्रदीप अधिकारी राजीनामा दे’ जस्ता नारासहित प्रदर्शन गरेका हुन् ।

महानिर्देशक अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा २०७१ सालदेखि २०७४ सालसम्म परियोजना प्रमुखको भूमिकामा थिए। उनी २०७८ सालदेखि नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकका रूपमा कार्यरत छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा कर छुटसहित आर्थिक अनियमता गरेर १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको संसदीय छानबिन उपसमितिले ठहर गरेको छ । संसदको सार्वजनिक लेखा समितिले गठन गरेको राजेन्द्र लिङ्देन संयोजकत्वको उपसमितिले पोखरा विमानस्थल निर्माण गर्दा आर्थिक अनियमितासहित अहिलेसम्मकै मोटो रकम भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो ।

उपसमितिले विमानस्थल निर्माण गर्दा हालका महानिर्देशक प्रदीप अधिकारी आयोजना प्रमुख रहेको र उनकै निर्देशनमा काम भएको भन्दै अधिकारीलाई तत्काल निलम्बन गरेर थप अनुसन्धानका साथै सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनसमेत सिफारिस गरेको छ ।