तीन महिनादेखि ठप्प निगमको आन्तरिक उडान सुरु, दुई साताभित्र अर्को जहाज उडाने प्रयास

567
Shares

काठमाडौं । तीन महिनाभन्दा लामो समयदेखि ठप्प भएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको उडान पुनः सुरु भएको छ । निगमले तीन दिनदेखि उडान नियमित गर्न थालेको वायुसेवा निगमका प्राविधिक प्रवक्ता मनोजकुमार साहले बताए ।

साहले क्लिकमान्डुसँग भने, ‘इन्जिनको आवर सकिएर उडान बन्द भएको निगमको एउटा जहाजमा नयाँ इन्जिन ल्याएर उडान सुरु गरिएको छ । यो जहाजले तीन महिना अगाडिकै उडान तालिकाअनुसार नियमित उडान गर्न थालेको छ र अर्को एउटा पनि तयार हुँदै गरेको छ ।’

दुईवटा जहाज भए पनि गत पुस ७ देखि आन्तरिक उडान गर्न नसकेको निगमले एउटा उडाएर अर्को पनि मर्मत गरिरहेको छ । इन्जिन अभावले उडान गर्न नसकेका दुबै जहाजमो इन्जिनको व्यवस्थासँगै दुर्गम क्षेत्रमा हवाई सेवा सञ्चालन गर्न थालेको पनि निगमले जानकारी दिएको छ ।

इन्जिन निर्माता कम्पनीले निगमसँग गरेको सहमति कार्यान्वयन हुन नसक्दा इन्जिन आउन ढिलो भएको हो । सहमति भएको कम्पनीले तीन महिना अगाडि नै दिन्छु भनेको भए पनि समयमा दिन नसकेका कारण निगमले चाहेर पनि आन्तरिक उडान गराउन नसकेको जनाएको छ । निगमले वेद सेमेसलाई इन्जिन बनाउने जिम्मा दिएको थियो । सोही कम्पनीले इन्जिन दिएपछि उडान सुरु भएको निगमले जानकारी दिएको छ ।

निगमले एकैपटक दुइवटै इन्जिन मर्मत गर्न पठाएको भए पनि विकल्प तयार पार्न नसकेको र मर्मत कम्पनीबाटसमेत समयमा नै ल्याउन नसकेको कारण वायुसेवा दुईटै जहाज एककैपटक थन्किएको थियो ।

निगमले बनाउन दिएको इन्जिन बनाएर ल्याउने र अर्को बनाउन छोड्ने गरी मर्मतमा गएको थियो । इन्जिन समयमा नै तयार नहुँदा उडान नै रोकिन पुगेको थियो भने अब सुरु भइसकेको पनि उल्लेख छ ।

निगमसँग भएको ९एन एबीटी गत २३ जेठदेखि र ९एन एबीयू ७ पुसदेखि उडानमा थिएनन् । वायुसेवा निगमका अनुसार इन्जिनको उडान आवर सकिएर दुवै ट्विनअटर ग्राउन्डेड हुँदा आन्तरिक उडान हुन पुगेको थियो ।

उडान ठप्प हुँदा ति उडानमा काम गर्ने पाइलट, इन्जिनियर, एयर होस्टेस, ग्राउण्ड स्टाफ, निमका कर्मचारीसहित १५० भन्दा बढी जनशक्ति कामविहीन हुन पुगेका थिए । निगमको एउटा जहाज उडानमा आएसँगै पाइलट र कर्मचारी काममा व्यस्त हुन थालेको निगमको भनाइ छ ।

निगमले करिब एक वर्ष अगाडि नै टेण्डर प्रक्रियामा गएर एउटा इन्जिन ल्याउन कम्पनीले छनोट समेत गरिसकेको छ । सो अनुसार छनोट भएको कम्पनीले काम नगर्दा आन्तरिक उडान ठप्प हुन पुगेको र पुनः सुरु गर्न तीन महिनाभन्दा लामो समय लागेको उल्लेख छ ।

वायुसेवा निगमले तीन महिनासम्म जहाज थन्काउँदा मासिक लाखौं घाटा भने व्यहोर्नुपरेको छ । सन् २०२४ मा ११ हजार २७५ यात्रुलाई सेवा दिएर निगम आन्तरिक उडानमा छैटौं स्थानमा थियो । अघिल्लो वर्ष २०२३ मा निगमले १३ हजार २७८ यात्रुलाई सेवा दिएको थियो ।

निगमले गत असोज र कात्तिकमा मात्रै ३ हजार ७१५ यात्रुलाई सेवा दिएर २ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको थियो । निगमले गत वर्ष २०८०/८१ को एक वर्षमा १८ हजार ६१० यात्रुलाई सेवा दिएको थियो । अघिल्लो वर्ष २०७९÷८० मा ३० हजार ६०६ जना यात्रुलाई सेवा दिएको निगमको तथ्यांक छ ।

त्यसो त वायुसेवा निगमले तीनवटा ट्वीनअटर खरिद गर्न प्रस्ताव माग गरेको भए पनि त्यसलाई टुंग्याउन सकेन । दुईवटा एटीआर भाडा ल्याएर उडान गर्ने योजना सरकारसमक्ष पेश गरेको भए पनि सो अनुसार काम भने गर्न सकेन । निगम नेतृत्वले समयमै जहाज उडानकाे जोहो गर्न नसक्दा आन्तरिक उडान तीन महिना ठप्प भएको हाे । निगमको नेतृत्वमा हाल युवराज अधिकारी छन् ।