निगमको आन्तरिक उडान ठप्प: असक्षम नेतृत्व र योजनाविहीन संस्थाका कारण आर्थिक भारमात्रै थपिँदै

उडान आवर सकिँदासम्म बनेर आएन अर्को इन्जिन


काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको आन्तरिक उडान एक महिनादेखि ठप्प छ।

भएकै जहाज मर्मत गरेर उडान गर्न नसक्दा नयाँ किन्ने र भाडामा ल्याउने योजना नेतृत्वको पद जोगाउन देखाउने अस्त्र मात्रै हुँदा वायुसेवा निगम जर्जर अवस्थामा पुगेको छ ।

वायुसेवा निगमको आन्तरिक उडानमा रहेको २ वटा जहाज मध्ये एउटा वर्षौदेखि मर्मतको मर्मतमै छ भने अर्को एउटाको उडान आवर सकिएर पुस ७ देखि थन्किएको छ ।

जहाज थन्किएको बेला नयाँ किन्ने योजना र भाडामा ल्याउने विकल्प प्रस्तुत गर्नुभन्दा निगम नेतृत्वलाई भएकै जहाज बनाएर छिटो परिणाम देखाउने अवसर हुँदा पनि एयरक्राफ्ट अन ग्राउण्ड (एओजी) वेसिसमा मर्मत गर्न पाउने अधिकारको समेत नेतृत्वले प्रयोग गर्न सकेको छैन ।

एओजी बेसिसमा जहाज ल्याउँदा प्रक्रिया अत्यन्तै छोटो हुन्छ भने तुरुन्तै आवश्यक पाटपूर्जा खरिद गरि जहाज उडाइहाल्न पाइने सुविधा भए पनि निगमले त्यसलाई प्रयोग गर्न नसक्दा आन्तरिक उडानको सेवा नै ठप्प भएको छ ।

निगमले आन्तरिक उडानमा ट्विनअटर नामका साना जहाज प्रयोग गर्दै आएको छ । यो कम्पनीसँगका आन्तरिक उडानमा दर्जनभन्दा बढी जहाज एकैपटक उडन सक्ने क्षमता खस्कदैँ अहिले दुईवटा उडानयोग्यको अवस्थामा रहेको भए पनि त्यो पनि ठप्प भएको छ ।

निगमसँग भएको ९एन एबीटी गत २३ जेठदेखि र ९एन एबीयू ७ पुसदेखि उडानमा छैनन् ।

वायुसेवा निगमका अनुसार इन्जिनको उडान आवर सकिएर दुवै ट्विनअटर ग्राउन्डेड हुँदा आन्तरिक उडान नै ठप्प भएको हो ।

उडान ठप्प हुँदा ति उडानमा काम गर्ने पाइलट, इन्जिनियर, एयर होस्टेस, ग्राउण्ड स्टाफ, निमका कर्मचारीसहित १५० भन्दा बढी जनशक्ति कामविहीन भएका छन् ।

निगम सरकारी संस्था भएकोले कामविहीन अवस्थामा पनि कर्मचारी खर्च भने नियमित गर्नुपर्छ ।

निगमको जहाजमा आवश्यक इन्जिन कहिले मर्मत हुन्छ र जहाज कहिलेदेखि उडानमा फर्किन्छ भन्ने वारेमा कुनै टुंगो नभएको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

‘जहाज किन्ने, भाडामा ल्याउने वा भएकै जहाज उडाउने अन्य विकल्पसमेत केही छैन,’ उनले भने,‘निगमको मर्मतमा रहेको जहाज नबनेको र उडान भइरहेको जहाज पनि अब उडान नमिल्ने भएकोले उडान ठप्प हुन पुगेको हो ।’

पौडेलका अनुसार ८/९ महिना अगाडि नै टेण्डर प्रक्रियामा गएर एउटा इन्जिन ल्याउन कम्पनीले छनोट समेत गरिसकेको छ ।

उक्त कम्पनीले इन्जिन दिने समय अगावै उडान आवर सकिएकोले आन्तरिक उडान ठप्प हुन पुगेको पौडेल बताउँछन् ।

उनकाअनुसार छिट्टै इन्जिन आउने र नियमित उडान हुने विश्वास बाहेक अरु विकल्प अहिले छैन ।

इन्जिनको उडान आवर सकिन्छ भन्ने विषयमा पहिल्यै जानकारी भएर अर्डर गरे पनि नयाँ इन्जिन आइनपुग्दा निगमको जहाजको उडानै ठप्प हुँदा नकारात्मक सन्देश प्रवाह भएको छ । तर निगम नेतृत्वलाई भने त्यसको वास्ता देखिएको छैन ।

‘इन्जिनको टेन्डर आह्वान भएर ठेक्का पनि लागिसकेको छ । ठेक्का लागेको ४५ दिनभित्र डेलिभरी दिने भन्ने सम्झौता थियो । तर, त्यसको म्याद सकिए पनि डेलिभरी नदिएका कारण उडानमा असर परिरहेको छ,’ निगम स्रोतको भनाइ छ ।

वायुसेवा निगमले सन् २०२४ मा ११ हजार २७५ यात्रुलाई सेवा दिएर आन्तरिक उडानमा छैटौं स्थानमा थियो । अघिल्लो वर्ष निगमले २०२३ मा १३ हजार २७८ यात्रुलाई सेवा दिएको थियो ।

निगमले गत असोज र कात्तिकमा मात्रै ३ हजार ७१५ यात्रुलाई सेवा दिएर २ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

निगमले गत वर्ष २०८०/८१ को एक वर्षमा १८ हजार ६१० यात्रुलाई सेवा दिएको थियो । निगमले अघिल्लो वर्ष २०७९/८० मा ३० हजार ६०६ जना यात्रुलाई सेवा दिएको निगमको तथ्यांक छ ।

१ वर्षदेखि ४ वटा एटीआर भाडामा लिने योजना अलपत्र

निमगले आन्तरिक उडानको बजार हस्ताक्षेप गर्न १ वर्षअघि नै ४ वटा एटीआर ७२ जहाज भाडामा लिने तयारी गरेको थियो । तर निगमको असक्षमताका कारण यो योजना पनि अलपत्र परेको छ ।

७२ सिट क्षमताको जहाज ल्याएर निगमले सहरी क्षेत्रका विमानस्थलमा उडान गर्ने योजना अगाडि सारेको वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताएका थिए ।

‘प्रशस्त सम्भावना रहेको र जहाज उडाएर नाफा पनि गर्न सक्ने गन्तव्यमा जाँदा बजारमा राम्रो सन्देश जान्छ’ उनको भनाइ छ।

अधिकारीका अनुसार निगमले अन्तर्राष्ट्रिय उडानमा दुईवटा र आन्तरिकमा ४ वटा जहाज भाडामा लिने तयारी छ । यसका लागि अन्तर्राष्ट्रिय उडानको लागि एयरवसको ए३२०–२०० सिरिजको न्यारोबडी जहाज लिन निगम सञ्चालक समिति सदस्य किशोर प्रधानको संयोजकत्वमा अध्ययन समिति गठन भएको थियो । समितिले प्रतिवेदन तयार पारि १ वर्षअघि नै बुझाइसकेको थियो । तर बोर्ड बैठकले निर्णय भने गर्न सकेको छैन ।

निजी क्षेत्रसँगको प्रतिस्पर्धा, नाफामूलक गन्तव्यमा सेवा दिने र आम नेपालीको निगमप्रतिको सकारात्मक बुझाइलाई थप प्रभावकारी बनाउन आक्रामक बजार विस्तारको रणनीतिअनुसार आन्तरिक उडानको जहाज भाडामा लिन खोजिएको निगमको भनाइ छ ।

आन्तरिक उडानको लागि एटीआर जहाज भाडामा लिने विषयमा निगमकै उपप्रवन्ध निर्देशक जनकराज कालाखेतीको संयोजकत्वमा एक समिति पनि बनेको थियो । उक्त समितिले दिएको प्रतिवेदनका आधारमा निगमले एटीआर जहाज भाडामा ल्याउने विषयमा निर्णय गर्ने भनिए पनि अहिलेसम्म कुनै निर्णय नहुँदा निगम उडानविहीन भएको हो ।

निगमले आन्तरिक उडानमा तीनवटा ट्वीनअटर जहाज खरिद गर्ने प्रक्रियालाई १ वर्षअघि नै अघि बढाएको जनाएको थियो । निगमले ट्वीनअटर खरिद गर्न प्रस्ताव माग गरेको थियो र उक्त प्रस्तावमाथि परेको आवेदनको अझै निगमले मूल्यांकन सकेर नतिजा सार्वजनिक गरेको छैन ।

निगमकाअनुसार तीनवटा कम्पनीको आवेदनमाथि १ वर्षभन्दा लामो समयदेखि प्राविधिक प्रस्तावमाथि मूल्यांकन भइरहेको हो । निगमले मागको आवेदनमा ट्वीअटर बिक्री गर्न भारतको हिस्दूस्थान एरोनोटिकल, क्यानडाको डे ह्याभिल्याण्ड र चेक रिपब्लिकको एयरक्राफ्ट इन्ड्रस्ट्रिडले प्रस्ताव पेस गरेका छन् । यी तीनवटै कम्पनीको प्रस्ताव मूल्यांकन गरेर उपयुक्त कम्पनीका विषयमा निर्णय गर्ने बताएको निगमको असक्षम नेतृत्वका कारण एक वर्षभन्दा लामो समय बित्दा पनि निर्णय हुन सकेको छैन । जसका कारण सरकारी स्वामित्वको निगम आन्तरिक उडानमा विमानविहीन बनेको छ भने त्यसमा खटिने कर्मचारी बेकामे बनेका छन् ।