
काठमाडौं । अवैधरुपमा हुने सुनको आयातलाई रोक्न सरकारले पछिल्लो समयमा भन्सार शुल्क घटाए पनि त्यसको प्रभाव आयात प्रणालीमा परेको छैन।
नेपालभन्दा भारतमा काँचो सुन आयात गर्दा भन्सार शुल्क सस्तो भएका कारण पछिल्लो समयमा नेपालमा भारतबाट अवैध रुपमा तस्करी भएर आएको सुनबाट नेपालको बजार चल्दै आएको थियो ।
अवैधरुपमा हुने सुनको तस्करीलाई नियन्त्रण गरी वैधरुपमा बजारलाई नियमितरुपमा चलायमान बनाउन सरकारले गत मंसिर ६ गतेदेखि सुनको आयात गर्दा लाग्ने भन्सार शुल्क घटाएको थियो ।
भन्सार शुल्क घटाउँदा पनि बजारको मागअनुसार सरकारी दस्तुर तिरेर अन्तर्राष्ट्रिय बजारबाट सुन आयात भएको छैन । वैध रुपमा भन्सारमार्फत मागअनुसार सुन आयात नभए पनि बजारमा सुनको अभाव नभएको सुन व्यवसायीहरुले दाबी गरेका छन्।
खुला सीमाको फाइदा उठाउँदै तस्करीमार्फत आउने सुनका कारण नेपालको सुन व्यापार प्रभावित भएको भन्दै नेपाल सुनचाँदी व्यवसायीहरुको पटक पटकको ध्यानाकर्षणपछि गत मंसिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकले सुनको आयातमा लाग्दै आएको भन्सार शुल्क घटाउने निर्णय गरेको थियो ।
सुन आयात गर्दा लाग्दै आएको २० प्रतिशत भन्सार महसुललाई झारेर १० प्रतिशत कायम गरिएको थियो । यस्तै चाँदीमा लाग्दै आएको भन्सार दर पनि घटाएर १५ बाट १० प्रतिशतमा झारिएको थियो ।
अवैध रुपमा हुने सुनको जगमा ठडिएको सुनको समग्र बजारलाई नियमनको दायरामा ल्याउन सरकारले भन्सार शुल्क घटाउने अस्त्र चलाए पनि औपचारिक रुपमा अझै मागअनुसार बजारमा सुन आयात भएको छैन ।
अर्थात भन्सार शुल्क घटाउदा पनि दैनिक मागको तुलनामा थोरै सुन आयात हुँदा पनि अभाव बेगर कसरी चलेको छ सुनको बजार ? राज्यको लागि यो खोजीको विषय हुन सक्छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघसँग आवद्ध व्यवसायीहरुले पनि भन्सार शुल्क घट्दा पनि वैध रुपमा सुनको आयात परिमाण नबढेको र बजारमा अभाव पनि नभएको औंल्याएका छन् ।
महासंघका महासचिव किरणभाई बज्राचार्यका अनुसार भन्सार शुल्क घटे पनि भन्सारमार्फत हुने आयात परिमाणमा आशलाग्दो रुपमा परिवर्तन आएको छैन।
‘भन्सार शुल्क घटेपछि मागकै हाराहारीमा वैध रुपमा सुनको आयात हुन्छ भनेर हाम्रो सोच थियो,’ महासचिव बज्राचार्यले भने,‘तर खासै सकारात्मक प्रभाव परेको देखिँदैन । अहिले मागभन्दा झण्डै ८ देखि १० किलो कम परिमाणमा सुनको आयात भएको छ । कम परिमाणमा आयात भए पनि बजारमा सुनको खासै अभाव सिर्जना भएको छैन ।’

सामान्य समयमा देशभर दैनिक २० किलो सुनको माग छ । बिहे, ब्रतवन्धको महिनामा यो माग बढेर ३० किलोदेखि ५० किलोसम्म पुग्ने महासंघको भनाइ छ।
‘मागअनुसार वैध रुपमा सुन आयात नभए पनि बजारमा अहिले खासै अभाव भएको छैन,’ महासंघका पूर्वअध्यक्ष मानिकरत्न शाक्यले भने,‘वैध रुपमा जे जति परिमाणमा सुन आयात भएको छ, त्यसले मज्जैले बजार धानेको छ ।’
व्यवसायीहरुकै भनाइलाई मान्दा अहिले उपभोक्ताको क्रयशक्ति घटेको र आर्थिक मन्दीको प्रभावले दैनिक माग १५ किलोमा सीमित भएको छ ।
‘आर्थिक मन्दी र ग्राहकको क्रयशक्ति घटेर दैनिक खपत न्यूनतम २० किलोबाट झरेर अहिले १५ किलोमा पुगेको छ,’ महासचिव बज्राचार्यले भने,‘वैध रुपमा योभन्दा कम परिमाणमा सुन आयात भइरहेको अवस्था भए पनि बजारमा सुनको अभाव भएको छैन।’
भन्सार विभागको तथ्यांकलाई विश्लेषण गर्ने हो भने चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्ममा १ अर्ब ४२ करोड रुपैयाँको १३२ किलो ५६ ग्राम सुन आयात भएको पाइन्छ । मासिक रुपमा भाग लगाउँदा करिब ३३ किलोको हाराहारीमा पुगेको देखिन्छ।
कात्तिकसम्म आयात भएको यो सुनलाई चार महिनाको प्रतिदिन भाग लगाउँदा ८७० ग्राम मात्र पुगेको देखिन्छ । मागअनुसार त्यो बेला न्यूनतम दैनिक १९,१३० ग्राम सुनको अभाव भएको थियो ।
मंसिर ६ गते सरकारले सुन र चाँदीको आयात गर्दा भन्सार शुल्क घटाउने निर्णय गरेको थियो । यो निर्णयपछि मंसिर महिनामा मात्रै सुनको आयातमा झिनो सुधार भएको देखिन्छ । तर यो महिनामा चाहिएको परिमाणअनुसार वैध बाटोमार्फत सुन आयात भएको थिएन ।
मंसिर महिनामा ६१ करोड २० लाख रुपैयाँबराबरको ५३ किलो ४१४ ग्राम सुन आयात भएको थियो । दैनिक २० किलो मागअनुसार यो महिनामा दैनिक १ किलो ७८ ग्राम सुनमात्रै आपूर्ति भएको पाइएको छ । त्यो महिनामा दैनिक १८,२२० ग्राम सुन अभाव भएको थियो ।
मंसिरपछि पुसमा वैधबाटोमार्फत आयात हुने परिमाणमा अझै केही सुधार भएको पाइएको छ । पुस महिनामा ४ अर्ब ६७ करोड रुपैयाँबराबरको ४ सय किलो १०१ ग्राम सुन आयात भएको थियो ।
यसअनुसार पुस महिनामा दैनिक मागको तुलनामा १३ किलो ७९ ग्राम सुन आपूर्ति भएको पाइएको छ । यो महिनामा पनि दैनिक ६,२१० ग्राम सुन अभाव भएको थियो ।
महासंघका महासचिव बज्राचार्यकाअनुसार बिहेको सिजन आउनुभन्दा पहिलेको महिनामा सुनको माग अत्याधिक बढ्छ ।

‘हामी कहाँ प्राय: जसोको घरमा बिहे हुनुभन्दा दुई तीन महिना अगावै गरगहना बनाएर थन्काउने चलन छ,’ बज्राचार्यले भने,‘माघमहिना बिहेको सिजन भएकाले त्यसका लागि मंसिर पुसमै गरगहना बनाइसक्छन् । यहि कारणले पुस महिनामा वैध बाटोमार्फत सुनको आयात तुलनात्मक रुपमा केही बढेको देखिएको हो ।’
पुसमा दैनिक १३.७९ किलोको दरले आपूर्ति भएको सुनको आयात फेरि माघमा घटेको पाइन्छ । माघ महिनामा ४ अर्ब ६७ करोड रुपैयाँबराबरको ३०१ किलो २४ ग्राम सुन आयात भएको थियो ।
डलरको भाउ बढ्दै गएका कारण पुस महिनाकै रकमको हाराहारीमा माघ महिनामा थोरै सुन आयात भएको पाइएको छ ।
आयात भएको यो परिमाणअनुसार माघ महिनामा वैध बाटोमार्फत दैनिक १० किलो मात्रै सुन आपूर्ति भएको पाइएको छ । मागको तुलनामा दैनिक १० किलो सुन अभाव भएको थियो ।
नेपालभन्दा भारतमा सस्तो हुँदा अहिले पनि सीमा क्षेत्रमा भारतबाट नेपालतर्फ तस्करीको सुन भित्रिने गरेको छ ।
केही महिना अघिसम्म मलेसिया, हङकङ, चीन र दुवईलगायतका मुलुकबाट हवाई र स्थलमार्ग हुँदै सुनको अवैध तस्करी भइरहेको थियो । पछिल्लो समयमा यसमा भारत पनि जोडिएको एक व्यवसायीको भनाइ छ ।
ती व्यवसायीले भने,‘नेपालभन्दा भारतमा काँचो सुन निक्कै सस्तो भएकाले उताबाट अवैधरुपमा आएको सुनले अहिले नेपालको बजार धानेको छ ।’
उनकाअनुसार नेपालभन्दा भारतमा सुन सस्तो भएकाले नेपालका बैंकहरुले पनि महँगो मूल्य तिरेर वैधरुपमा मागअनुसार सुन भित्र्याउन चासो देखाएका छैनन् ।
‘वैध रुपमा सुन ल्याउँदा बजारमा बिक्री नहुने डरले बैंकहरुले पनि मागअनुसार पछिल्लो समयमा सुन आयात गर्न मानेका छैनन्,’ ती सुनचाँदी व्यवसायीले भने ।
महासंघका महासचिव बज्राचार्यले भन्सार शुल्क घटेपछि अहिले अवैध रुपमा सुन नआएको दाबी गरे ।
‘अहिले माग नै निक्कै घटेको छ, दैनिक २० किलोबाट घटेर १५ किलोमा पुगेको छ, यो १५ किलो बिक्री हुन पनि धौ धौ भएको छ,’ बज्राचार्यले भने,‘आर्थिक मन्दी र उपभोक्ताको क्रयशक्ति घटेर सुनको बजारमा ४० प्रतिशतले गिरावट आएको छ ।’
उनका अनुसार बजार नै घटेको र अमेरिकन डलरको मूल्यसमेत बढेका कारण सुनको मूल्य बढ्दा बजारमा खपत दर निक्कै घटेको छ ।
आम उपभोक्ताको घरमा भएको सुनबाट अहिलेको बजारहिस्सा ३० प्रतिशत धानेको जानकारी दिँदै उनले अपुग भएको अवस्थामा मात्रै नयाँ सुन किनेर गहना बनाउने अवस्था आएको बताए ।
‘यसले गर्दा बैंकले पनि निक्कै थोरै परिमाणमा आयात गरेको छ भने आम उपभोक्ताले पनि निक्कै थोरै परिमाणमा खरिद गरेका छन्,’ बज्राचार्यले भने ।

नेपालभन्दा भारतमा अझै सस्तो सुन
नेपाल सरकारले सुन र चाँदीको आयात गर्दा भन्सार शुलक घटाउँदा पनि अहिले पनि भारतमै सुन सस्तो छ । अहिले भारतबाट सुनको तयारी गहना ल्याउँदा करिब ६ हजार नेपाली रुपैयाँ प्रतितोला सस्तो पर्छ ।
यस्तै ढिक्के (गोल्डवार) सुन ल्याउँदा करिब १० हजार रुपैयाँ सस्तो पर्छ । नेपाल सरकारले भन्सार शुल्क घटाउनु अघिसम्म भने तयारी गहना प्रतितोला १६ हजार र ढिक्के (गोल्डवार) सुन ल्याउँदा २१ हजार सस्तो मूल्य भारतमा थियो ।
भारतीय वित्तमन्त्री निर्मला सीतारमणले वित्त वर्ष २०२४/२५ को बजेटमार्फत सुन चाँदी आयात गर्दा लाग्दै आएको भन्सार शुल्क १० प्रतिशतलाई घटाएर ६ प्रतिशत कायम गरेकी थिइन् । यसका साथै प्लेटेनियममा पनि भन्सार शुल्क घटाएर ६.४ प्रतिशतमा झारिएको थियो ।
भारतले हालै सार्वजनिक गरेको वित्त वर्ष २०२५/२६ को बजेटमार्फत सुन आयात गर्दा लाग्दै आएको भन्सार दर हेरफेर गरेको छैन ।
यसअघि सन् २०२२ मा भारत सरकारले सुन आयातमा लाग्दै आएको भन्सार कर ७.५ प्रतिशतलाई वृद्धि गरी १२.५ प्रतिशतसम्म पुर्याएको थियो । यसले गर्दा नेपाली बजारमा सस्तो र भारतीय बजारमा महँगो हुँदा नेपालबाट भारततर्फ सुनको अवैध तस्करी बढेको थियो ।

अहिलेभन्दा कोभिडकालमा बढी आयात र खपत
उदेकलाग्दो तथ्य के छ भने कोभिड महामारी फैलिएको दुई आर्थिक बर्ष २०७६/७७ र २०७७/७८ को पहिलो चार महिनाको अवधिमा चालु आर्थिक वर्षको चार महिनाको तुलनामा अत्याधिक परिमाणमा काँचो सुन भित्रिएको थियो ।
सुनचाँदीका एक व्यवसायीका अनुसार कोभिडको समयमा सर्वसाधारणलाई खान र ज्यान जोगाउन कठिन भएको अवस्थामा पनि अहिलेको चार महिनाको तुलनामा बढी परिमाणमा काँचो सुन आयात भएको थियो ।
आर्थिक वर्ष २०७६/७७ को ४ महिनामा २ अर्ब ७२ करोड ५० लाख ९२ हजार रुपैयाँबराबरको ५ सय किलो र आर्थिक वर्ष २०७७/७८ को ४ महिनामा ३ अर्ब ६६ करोड १२ लाख ६१ हजार रुपैयाँ बराबरको ५ सय किलो काँचो सुन आयात भएको थियो।
वार्षिक रुपमा हेर्ने हो भने पछिल्लो ५ आर्थिक वर्षमध्ये पनि कोभिड महामारीको अत्याधिक प्रभाव रहेको आर्थिक वर्ष २०७७/७८ मा निक्कै बढी परिमाणमा सुन आयात भएको देखिन्छ । त्यो वर्ष २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपैयाँको ३ हजार ९ सय २४ किलो सुन आयात भएको थियो । ५ वर्षमध्ये सबैभन्दा २०७८/७९ मा सबैभन्दा बढी परिमाणमा काँचो सुन आयात भएको थियो ।
कोभिड महामारी संक्रमण सकिए लगत्तै बजार विस्तारै आफ्नो गतिमा लिन थालेपछि त्यो वर्ष सबैभन्दा बढी सुन नेपालमा भित्रिएको थियो ।
त्यो आर्थिक वर्षमा ३५ अर्ब ६१ करोड ९५ लाख २४ हजार रुपैयाँबराबरको ५ हजार ५३ किलो काँचो सुन नेपालमा भित्रिएको थियो ।
भित्रिएको सुनमध्ये युएईबाट २८ अर्ब ९४ करोड ५७ लाख ६२ हजार रुपैयाँबराबरको ४ हजार ९१ किलो सुन भित्रिएको थियो । यस्तै ५ अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँबराबरको टर्कीबाट ८ सय ६१ किलो र स्वीटजरल्याण्डबाट ७४ करोड ५० लाख १२ हजार रुपैयाँबराबरको १ सय किलो आयात भएको थियो ।
प्रतिक्रिया