अमेरिका-रुस वार्ता: पश्चिममा अत्यधिक विश्वास गर्दा युक्रेनको कन्तबिजोक

1.3k
Shares

युक्रेनमाथि आक्रमण गरेको रुसलाई पश्चिमले विश्वबाट एक्ल्याउन गरेको प्रयास विफल भएसँगै स्वयं पश्चिमको नेतृत्वकर्ता अमेरिका नै रुसलाई फेरि आफ्नो पक्षमा ल्याउनका लागि उद्यत देखिएको छ ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग गरेको फोनवार्ता, अमेरिका र रुसका परराष्ट्रमन्त्रीहरूले साउदी अरबको राजधानी रियादमा गरेको कुराकानी, युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीलाई ट्रम्पले वार्ता प्रक्रियाबाट गरेको बहिष्करण तथा युरोपेली साझेदारहरूलाई वार्ता प्रक्रियामा समावेश नगर्ने ट्रम्पको निर्णयले विश्व राजनीति तरंगित भएको छ ।

सुरक्षा जोखिम बढाउने गरी नेटोको आपत्तिजनक विस्तारको घोर विरोध गरिरहेको रुसको वाणीलाई बेवास्ता गरेको पश्चिमले उत्तेजक गतिविधि बढाउँदै लगेपछि रुसले बाध्य भएर सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेको थियो । शुरूमा केही असफलता बेहोर्नुपरेको भए पनि पछि रुस युद्धमा हावी हुँदै गयो र अहिले उसले युक्रेनको २० प्रतिशत भन्दा बढी भूभागमा नियन्त्रण कायम गरेको छ । युक्रेनले यसबीचमा प्रत्याक्रमणका प्रयासहरू गरेको र तीमध्ये केहीमा सफलता पनि पाएको थियो तर रुसलाई आफ्नो भूभागबाट हटाउन ऊ असमर्थ रह्यो ।

युक्रेनलाई मोहरा बनाएर पश्चिमले आफ्नो सबै शक्ति लगाएको भए पनि रुसलाई परास्त गर्न नसकिने कठोर पाठ पढेको छ । त्यसैले आफ्नो लज्जास्पद पराजयलाई विश्वसामु कसरी प्रस्तुत गर्ने भन्ने विषयमा विचार गरिरहेको पश्चिमलाई सजिलो पार्ने गरी डोनल्ड ट्रम्प जस्ता युद्धविरोधी नेता पुनः अमेरिकाको राष्ट्रपति बन्न आइपुगेका छन् ।

पूर्व राष्ट्रपति जो बाइडनले युद्ध रोक्नका लागि कुनै पनि पहल गर्नु आवश्यक ठानेका थिएनन् । उल्टो, उनी त पुटिनलाई पागल र खतरनाक व्यक्तिका रूपमा चित्रित गर्दै त्यस्तो व्यक्तिसँग वार्ताको औचित्य नरहेको बताउँदै आएका थिए । युक्रेनले रुसलाई सामरिक रूपमा परास्त गर्न सक्दैन भन्ने कुरा थाहा पाएको भए पनि उनी युक्रेनलाई हातहतियार तथा अन्य सहयोगहरू दिइरहन्थे र रुसलाई चिढ्याउनका लागि युक्रेनलाई पश्चिम सैन्य गठबन्धन नेटोको सदस्य बनाइने झूटो आश्वासन पनि बाँडिरहन्थे । उनको यो बहुलट्ठीपूर्ण हठलाई पश्चिमका मूलधारे सञ्चारमाध्यमहरूले पनि मलजल गर्ने गरेका थिए ।

हुन त रुसले पनि यस युद्धका कारण ठूलै मूल्य चुकाउनुपरेको छ र उसका पनि लाखौं सैनिकहरू युद्धभूमिमा मारिएका छन् । युक्रेनमाथि झ्यापझुप आक्रमण गरेर तत्कालै किएभ कब्जामा लिने अनि पूरा युक्रेनलाई आफूमा मिसाउने रुसको रणनीति थियो भने त्यो असफल नै भएको छ । तर शुरूआती विफलतापछि रुसले लामो समयसम्म युद्ध गर्ने (वार अफ एट्रिशनको) नीति लियो र सम्पूर्ण नेटोका हातहतियारलाई युक्रेनमा बसीबसी ध्वस्त पार्‍यो । त्यससँगै उसले सुस्त गतिमा भए पनि युक्रेनका पूर्वी भागमा आफ्नो नियन्त्रण कायम गर्दै गयो ।

युक्रेनलाई पश्चिमले उदारतापूर्वक हातहतियार तथा सैन्य सहयोग दिँदै गर्दा रुसले त्यसलाई रोक्नका लागि खासै पहल गर्न सकेन । तर उसलाई युद्धको सीमित दायरामा रहेर नेटोका हातहतियार सिध्याउँदै पश्चिमाहरूको भण्डार नै रित्याइदिने सुविधा थियो । त्यसमा रुस सफल हुँदा पश्चिममा पनि कहिलेसम्म हतियार र अन्य सहयोग दिइरहने हो भन्ने विषयमा चर्को बहस चल्न थालेको थियो ।

अमेरिकाले युक्रेनलाई गरेको सहयोगको आधा जति रकम केमा खर्च भयो, त्यसको कुनै हिसाब नभएको ट्रम्पले बताएका छन् । अर्थात्, युक्रेन युद्ध अमेरिकाको हतियार उद्योग र डीप स्टेटका लागि मुनाफा कमाउने भ्रष्ट उपाय मात्र भएको ट्रम्पको निष्कर्ष छ । अमेरिकालाई पुनः महान् बनाउने अभीष्टलाई युक्रेन युद्धले पूरा हुन दिँदैन भन्ने कुरा ट्रम्पलाई थाहा छ ।

त्यसैले उनी रुसीहरूसँगको वार्तामार्फत यसलाई टुंग्याउन चाहन्छन् । त्यसक्रममा उनी रुसका मागहरूमा पनि लचिलो देखिएका छन् । रुसले नियन्त्रणमा लिएको भूभाग उसैलाई राख्न दिने, युक्रेनलाई नेटोको सदस्य नबनाउने, एक वर्षभन्दा बढी समयसम्म निर्वाचन नगरिकन तानाशाही शासन चलाइरहेका जेलेन्स्कीलाई नयाँ चुनावका लागि दबाब दिने, रुसविरुद्ध लगाइएका आर्थिक प्रतिबन्धलाई खुकुलो बनाउने विषयमा ट्रम्पले सकारात्मक कदम चाल्ने अपेक्षा गरिएको छ । त्यसो त युक्रेन युरोपेली संघको सदस्य बन्दा आफूलाई कुनै आपत्ति नहुने संकेत रुसले दिएको छ ।

यसरी अमेरिका र रुसले आपसमा सहमति गरिरहँदा युक्रेन र युरोपेली संघसित कुनै पनि सल्लाह लिइएको छैन । यसले गर्दा उनीहरू त्रसित र चिन्तित भएका छन् । अझ, ट्रम्पले युक्रेनलाई अहिलेसम्म गरिएको अर्बौं डलरको सहयोगको बदलामा युक्रेनमा भएको खनिज पदार्थ अमेरिकालाई सुम्पनुपर्ने माग राखेका छन् । त्यसैको रिसमा जेलेन्स्कीले ट्रम्प गलत सूचनाको संसारमा हराइरहेको भनी आरोप लगाए जसले ट्रम्पलाई थप क्रुद्ध बनायो र उनले जेलेन्स्की तानाशाह भएको आक्षेप लगाए ।

उता, युरोपेली संघले अमेरिकी सहयोग विना पनि युक्रेन युद्धलाई लम्ब्याउन सकिन्छ भनी छलफल गर्न गत साता आकस्मिक बैठक डाकेको थियो । तर अमेरिकाको सहयोग पाउँदा समेत युक्रेनले रुसलाई हराउन नसकेको स्थितिमा अमेरिकाले धाराको टुटी बन्द गरिदिँदा युरोपले त्यसको पुरताल गर्ने सम्भावना न्यून छ । युरोपेलीहरूले पनि हातहतियारको भण्डार रित्याइसकेका छन् भने आर्थिक सहयोग गर्नका लागि पनि उनीहरूसँग पर्याप्त मौज्दात छैन ।

रुसको साटो अमेरिकालाई आफ्नो शत्रुका रूपमा हेर्न थालेका युरोपेलीहरूले अमेरिकासँग कूटनीतिक रूपमा जोरी खोज्ने प्रयास गर्न सक्छन् तर उनीहरूले सफलता हात पार्ने छैनन् । दशकौंदेखि अमेरिकाको पिछलग्गू बनेर आफ्नो स्वतन्त्र अस्तित्वलाई तिलाञ्जलि दिएका युरोपेलीहरूले स्वायत्त निर्णय लिने हैसियत नै गुमाइसकेका छन् ।

यसै साता अमेरिकाको भ्रमण गर्न लागेका फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रों र बेलायतका प्रधानमन्त्री केर स्टार्मरले कथंकदाचित् ट्रम्पलाई युक्रेन युद्ध जारी राख्नका लागि फकाएछन् नै भने पनि ट्रम्पले अमेरिकालाई अनुकूल हुने निर्णय गर्नका लागि उनीहरूलाई बाध्य बनाउने पक्का छ । त्यो भनेको चीनसँग व्यापार सम्बन्ध घटाउनु पनि हुन सक्छ, अमेरिकाको हतियार अहिलेभन्दा बढी किन्न लगाउनु पनि हुन सक्छ । अनि नेटोका सदस्यहरूले आफ्नो कुल गार्हस्थ्य उत्पादनको ५ प्रतिशत रकम नेटोको व्यवस्थापनका लागि छुट्ट्याउनुपर्ने र अमेरिकी वस्तुमा न्यून आयातशुल्क लगाउनुपर्ने ट्रम्पको शर्तलाई पनि युरोपेलीहरूले मान्नुपर्ने हुन्छ । जसो गर्दा पनि घाटा हुने युरोपेलीहरूलाई नै हो ।

विगत तीन वर्षको युक्रेन युद्धले के प्रमाणित गरेको छ भने साना राष्ट्रहरूले ठूला शक्तिराष्ट्रहरूको भूराजनीतिक खेलमा लाग्दा त्यसको परिणाम भयावह हुन्छ । अमेरिका र पश्चिमको उक्साहटमा लागेर रुसविरुद्ध उपयोग गरिएको युक्रेनको कन्तबिजोक भएको छ । लाखौं युक्रेनीहरू मारिएका छन् र अर्थतन्त्र तहसनहस भएको छ

पश्चिमी संसारबाट एक्ल्याइएको रुसलाई फेरि साझेदार बनाउन ट्रम्पले प्रयास गर्नेछन् । त्यसैले रुसलाई पुनः जी८ सदस्य बनाउनुपर्ने उनको धारणा छ । चीनसँगको साझेदारी तोडेर पश्चिमसँग साँठगाँठ गर्नका लागि ट्रम्पले पुटिनलाई फकाउन खोजेका हुन सक्छन् तर उनको यो प्रयत्न विफल हुनेछ किनकि रुसले पश्चिमबाट बारम्बार पाएको धोकाबाट राम्रै पाठ पढिसकेको छ । त्यसमाथि विश्व अहिले अमेरिकी एकध्रुवीयताबाट बहुध्रुवीयतामा प्रवेश गरिरहँदा रुस जस्तो आफैंमा सबल ध्रुवले चीन जस्तो अर्को सबल ध्रुव, त्यसमाथि आफ्नो छिमेकी मुलुक, लाई चिढ्याउने काम गर्ला भनी सोच्न सकिन्न । त्यसो त चार वर्षसम्म ट्रम्पको इगोलाई व्यवस्थापन गर्दै युक्रेन युद्ध अन्त्यका लागि रुसले प्रयास गरिरहनेछ किनकि त्यसपछि फेरि डेमोक्रेटहरूको जीत भएछ भने युद्ध पुनः चर्किन पनि सक्नेछ ।

उता ट्रम्पले पनि विश्व व्यवस्था बहुध्रुवीय बनिसकेको यथार्थलाई स्वीकार गरेर नै रुससँगको सम्बन्ध सामान्यीकरणमा जोड दिएको देखिन्छ । रुस र चीन जस्ता सशक्त ध्रुवसँग जोरी खोज्नुभन्दा युरोपेली संघ, क्यानडा, ग्रीनल्यान्ड र पनामा जस्ता कमजोरहरूलाई पेलेर आफूअनुकूलको काम गराउने ट्रम्पको नीति हुन सक्छ । ट्रम्पका परराष्ट्रमन्त्री मार्को रुबियोले विश्व बहुध्रुवीय भइसकेको र रुसको शक्तिलाई कम आँक्न नहुने भनी पछिल्ला अन्तर्वार्ताहरूमा दिएको बयानलाई सबैले गम्भीरताका साथ लिनु जरूरी छ ।

विगत तीन वर्षको युक्रेन युद्धले के प्रमाणित गरेको छ भने साना राष्ट्रहरूले ठूला शक्तिराष्ट्रहरूको भूराजनीतिक खेलमा लाग्दा त्यसको परिणाम भयावह हुन्छ । अमेरिका र पश्चिमको उक्साहटमा लागेर रुसविरुद्ध उपयोग गरिएको युक्रेनको कन्तबिजोक भएको छ । लाखौं युक्रेनीहरू मारिएका छन् र अर्थतन्त्र तहसनहस भएको छ ।

उद्योगधन्धा भएको आफ्नो २० प्रतिशत भूमि गुमाउन पनि युक्रेन बाध्य भएको छ । अमेरिकी सहयोग विना युक्रेनले रुसविरुद्धको युद्धलाई लम्ब्याउने कल्पना गर्न सकिन्न । अझ त्यसमाथि ट्रम्पको नजर युक्रेनको खनिज पदार्थमा परेकाले उससँग केही पनि नरहने स्थिति छ । यस्तो अवस्थामा जेलेन्स्कीको ज्यान पनि जोखममा छ ।