ढल्केबर-मुजफ्फरपुरको क्षमता १००० मेगावाट पुग्यो, यी हुन् ऊर्जा सचिवस्तरीय बैठकका निर्णय


काठमाडौं । सञ्चालनमा रहेको एक मात्र ४०० केभीको ढल्केबर-मुजफ्फरपुर प्रसारणलाइनको क्षमता १००० मेगावाट पुगेको छ । नेपाल र भारतबीच अब यो प्रसारणलाइनमार्फत १००० मेगावाटसम्म विद्युत आयात निर्यात गर्न सकिने भएको छ ।

नेपाल र भारतबीचको ऊर्जा सचिवस्तरीय बैठकले यो प्रसारणलाइनको क्षमता २०० मेगावाट बढाएर १००० मेगावाट बनाउने निर्णय गरेको हो । मंगलबार नयाँ दिल्लीमा नेपाल – भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १२औं बैठक बसेको थियो । नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव  सुरेश आचार्य तथा भारत सरकारको विद्युत मन्त्रालयका सचिव पंकज अग्रवालको सहअध्यक्षतामा बैठक बसेको हो ।

बैठकले यस अघिको सहसचिवस्तरीय बैठकका निर्णयहरुमा सहमति गरेको हो । बैठकले  चमेलिया (नेपाल) – जौलिजीवी (भारत) वीचको २२० किलोभोल्ट डवल सर्किट प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन  २०२५ मार्चसम्म तयार गर्ने निर्णय गरेको छ । नेपाल खण्डको प्रसारण लाईन नेपाल विद्युत प्राधिकरण तथा भारत खण्डको प्रसारण लाइन पावर ग्रिडले  २०२७ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

नेपाल-भारत बीच इनरूवा – न्यु पुर्णिया र दोदोधरा – बरेली वीचको ४०० किलोभोल्ट क्षमताका अन्तरदेशीय प्रसारण लाइनहरुको निर्माण कार्य संयुक्त उपक्रम मार्फत क्रमशः सन् २०२८/२९ र २०२९/३० सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ।  यसका लागि नेपालतर्फको प्रसारण लाइन नेपाल विद्युत प्राधिकरणको ५१% र भारतको पावर ग्रिडको ४९% तथा भारततर्फको प्रशारण लाइनको लागि  ५१% पावर ग्रिड र ४९% नेपाल विद्युत प्राधिकरणको स्वपुंजी रहने गरी संयुक्त उपक्रमको मोडालिटीमा गर्ने सहमति भएको ऊर्जा सचिव सुरेश आचार्यले बताए  । संयुक्त उपक्रम कम्पनी स्थापना सम्बन्धी कार्य १ महिनाभित्र सम्पन्न गर्ने समेत सहमति भएको छ ।

सन् २०३४-३५ सम्मका लागि नेपालबाट थप विद्युत भारत निर्यात गर्नका अन्तर्देशीय प्रसारण लाइनहरूको विस्तृत आयोजना प्रतिवेदन तयार गरी निर्माण तथा विस्तार गर्ने सहमति भएको छ ।  त्यसका लागि निजगढ/हरनैया (नेपाल) – मोतिहारी (भारत) बीच ४०० केभी प्रसारण लाइन सन २०३४-३५ सम्म निर्माण गर्ने सहमति भएको छ ।  हलपुर (नेपाल) – लखनउ (भारत) वीच ४०० केभी प्रसारण लाइन: २०३४-३५ सम्म निर्माण गर्ने सहमति भएको छ ।