![](https://clickmandu.com/wp-content/uploads/2025/01/rabi-lamichhane-768x403.png)
काठमाडौं । सहकारीको रकम अपचलन आरोपमा पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध चितवन जिल्लामा पनि मुद्दा दर्ता भएको छ ।
चितवन जिल्ला सरकारी वकिल कार्यालयले सहारा सहकारी संस्थाको रकम ठगीको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको हो । चितवन जिल्ला अदालतका प्रवक्ता अमृत विश्वकर्माका अनुसार लामिछानेविरुद्ध सहकारी संस्थाको रकम ठगीको अभियोगमा मात्र मुद्दा दर्ता भएको छ
लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा मुद्दा दर्ता भएको हो ।
१५ जना प्रतिवादीमा रवि लामिछाने छविलाल जोशी , रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफअलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणी बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठ छन् ।
प्रहरीको अनुसन्धान प्रतिवेदनमा यो सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने राय प्रहरीको छ ।
यसअघि लामिछानेविरुद्ध कास्की, काठमाडौं र रूपन्देही जिल्लामा दर्ता भएका मुद्दा विचाराधीन छन् । लामिछानेले हालसम्म धरौटी बापत सवा दुई करोड रुपैयाँ बुझाइसकेका छन् ।
कास्की जिल्ला अदालतले गत पुस २५ गते उनलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो भने काठमाडौं जिल्ला अदालतले माघ २ गते ६० लाख रुपैयाँमा उनलाई थुनामुक्त गरेको थियो । रूपन्देही जिल्ला अदालतले माघ १३ गते धरौटी बापत एक करोड रुपैयाँ लिएर उनलाई रिहा गरेको थियो ।
प्रतिक्रिया