![](https://clickmandu.com/wp-content/uploads/2023/09/Nepal-telecom-768x403.png)
काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८०/८१ मा ४२ अर्ब ११ करोड रुपैयाँ आम्दानी गर्दा ४१ करोड ५९ लाख रुपैयाँ कर तिरेको छ ।
टेलिमकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ३० अर्ब ८६ करोड रुपैयाँ खर्च गरेर कर अघिको खुद नाफा ११ अर्ब २५ करोड रुपैयाँ रहेको छ । कर तिरेपछिको टेलिकमको खुद नाफा ६ अर्ब २३ करोड रुपैयाँ हुन पुगेको टेलिकमले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
टेलिकमले गत वर्षको आम्दानीबाट प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ६१ पैसा हुन पुगेको तथ्यांकले देखाएको छ । यस्तो प्रतिसेयर आम्दानी गत आर्थिक वर्ष २०७९/८० मा ४४ रुपैयाँ १६ पैसा रहेको थियो ।
टेलिमले गत वर्षको आम्दानीबाट सरकारलाई विभिन्न ११ शीर्षकमा ४१ अर्ब ५९ करोड रुपैयाँ कर तथा दस्तुर तिरेको छ । यस्तो रकममा अग्रिम आयकर १ अर्ब ७० करोड, मूल्य अभिबृद्धि कर ३ अर्ब ४६ करोड, दूरसञ्चार सेवा शुल्क ३ अर्ब १४ करोड, स्वामित्व शुल्क ८६ करोड, भन्सार शुल्क १७ करोड, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष शुल्क २ अर्ब १५ करोड फ्रिक्वेन्सी दस्तुर २ अर्ब ४ करोड रुपैयाँ तिरेको छ ।
नेपाल टेलिकमको पछिल्लो ४ वर्षको आम्दानी र खर्चको विवरण
![](https://clickmandu.com/wp-content/uploads/2025/02/telicome-data_1-768x607.jpg)
टेलिकमले नाफा कमाएवापतको लाभांश ६ अर्ब ५८ करोड सरकारी कोषमा दाखिला गरेको छ भने सम्पत्ति र सवारी साधान कर ५ करोड ८२ लाख तिरेको छ ।
टेलिकमले गत वर्ष इजाजतपत्रको नवीकरण गराउनुपर्ने भएकोले एकमुष्ट लाइसेन्स शुल्क १६ अर्ब ९८ करोड रुपैयाँ तिरेको थियो ।
गत वर्ष लाइसेन्स शुल्कका लागि तिरेको पैसाकै कारण यसको सरकारी कोषमा योगदान उल्लेख्य देखिएको हो । यो बाहेक टेलिकमले स्रोतमा कर कट्टी (टीडीएस) ४ अर्ब ५८ करोड रुपैयाँ तिरेको पनि टेलिकमले जानकारी दिएको छ ।
टेलिकमले गत आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारलाई विभिन्न कोषमा बुझाएको यस्तो शुल्क २८ अर्ब ४५ करोड रुपैयाँ बुझाएको थियो । यस्तो शुल्क २०७८/७९ मा २६ अर्ब ४१ करोड र २०७७/७८ मा २७ अर्ब ७२ करोड रुपैयाँ बुझाएको देखिएको छ ।
टेलिकमले वार्षिक रुपमा सरकारलाई बुझाउने कर तथा शुल्कको औसतमा वार्षिक २६ देखि २८ अर्ब रुपैयाँसम्म मात्रै हुने गरेकोमा गत वर्ष भने लाइसेन्स नवीकरण गर्नको लागि मात्र्र १६ अर्ब ९८ करोड एकमुष्ट तिरेले खर्च बढी देखिएको हो ।
टेलिकमको आम्दानी वार्षिक रुपमा घट्दै गएको भएपनि बढ्दो खर्चले संस्थालाई टिकाउन चुनौतिपूर्ण भएको गुनासो टेलिकमले गर्र्दै आएको छ । नेपाल टेलिकमले गत आर्थिक वर्षमा ४२ अर्ब ११ करोड रुपैयाँ खुद आम्दानी गर्दा अघिल्लो वर्ष २०७९/८० मा भने ४४ अर्ब ४३ करोड रुपैयाँ आम्दानी गरेको तथ्यांकले देखाएको छ ।
यस्तो आम्दानी अघिल्लो वर्ष २०७८/७९ मा ४४ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो भने २०७७/७८ मा टेलिकमले गरेको कुल आय ४२ अर्ब २० करोड रुपैयाँ रहेको पनि टेलिकमले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
नेपाल टेलिकमका अनुसार पछिल्ला वर्षहरुमा भ्वाइस सेवाका प्रयोगकर्ता निरन्तर घट्दै गएका छन भने डेटा प्रयोगकर्ता बढ्दै गएका छन । टेलिकमका सेवाप्रदायको प्लेटफर्म प्रयोग गरेर ओभर दि टप (ओटीटी)को प्रयोग बढेकोले टेलिकम क्षेत्रले वार्षिक आम्दानी नै गुमाउनुपरेको बताएको छ ।
नेपाल टेलिकमका प्रवन्ध निर्देशक संगिता पहाडी (अर्याल)का अनुसार टेलिकमले डिजिटल मार्केटिङ तथा फाइभजी आयोजनाका कार्यालाई विशेष महत्वका साथ कार्यन्वयनमा लगिने उल्लेख छ । तर, टेलिकमले दुई वर्ष अगाडिको वार्षिकोत्सवबाट फाइभजी परिक्षण गर्न अनुमति दिएको थियो । तर टेलिकमले अहिलेसम्म फाइभजीको प्रगति सार्वजनिक गरेको छैन भने व्यवसायिक रुपमा प्रयोग गर्न दिने क्षमतासमेत बनाउन सकेको छैन ।
प्रतिक्रिया