विमानस्थल

त्रिभुवन विमानस्थलको उडान समय बढ्ने, दुई नयाँ वायुसेवाको उडानसँगै रिसेड्युल हुँदै

2.7k
Shares


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल थप दुई घण्टा सञ्चालनमा आउने भएको छ । आगामी १९ माघको शनिवारदेखि हाल १४ घण्टामात्रै सञ्चालन हुँदै आएको विमानस्थल १६ घण्टा सञ्चालनमा आउने भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा भइरहेको निर्माणको कार्यमा प्रगति भएसँगै उडान समय बढ्ने र विमानस्थल बन्द हुने समय घट्ने भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए ।

विमानस्थलको उडान समय थप भएसँगै भारतीय वायुसेवा स्पाइस जेट र एयर इयर इण्डिया एक्सप्रेसले पुनः उडान गर्न चाहेका छन् ।

विमानस्थलको उडान समय घटेसँगै नेपालमा उडान नभएको यी वायुसेवाको पुनः उडान गर्न चाहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको भनाइ छ ।

विमानस्थलका महाप्रवन्धक निरौलाका अनुसार उडान समय बढ्ने भएसँगै आन्तरिक र विदेशी वायुसेवाको उडान समय पनि बढ्ने भएको छ । यसका लागि आन्तरिक र वाह्य उडानका वायुसेवाले पनि रिसेडेयुल गरेर उडान थप गर्ने इच्छा देखाएको निरौलाले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तारका क्रममा गत कात्तिक २३ देखि दैनिक १० घण्टासम्म बन्द हुँदै आएको विमानस्थल अब ८ घण्टा मात्रै बन्द हुने भएको छ । यसको अर्थ अब उडान समय थप २ घण्टा थप भएर १६ घण्टा पुग्ने छ ।

हाल राति १० बजेदेखि विहान ८ बजेसम्म बन्द हुँदै आएको भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थल भने अब शनिबारदेखि राति ११ बजेदेखि विहान ७ बजेसम्ममको ८ घण्टा मात्रै बन्द हुने पनि उनले जानकारी दिए ।

अन्तर्राष्ट्रिय एप्रोन, समानान्तर ट्याक्सी, ह्यांगर निर्माणलगायतका पूर्वाधार निर्माणका लागि धावनमार्ग नै बन्द गर्नुपरेको थियो । यो विमानस्थभित्र उडान बन्द गरेर मर्मत गर्नुपर्ने काम चैतसम्मको लागि मात्रै भएको पनि उल्लेख छ ।

विमानस्थलभित्र तीन वटा फरक–फरक आयोजनाको काम अघि बढाएको थियो । विमानस्थलभित्र सञ्चालित तीन वटै आयोजनाको ४० प्रतिशत भौतिक कार्य भएको पनि उल्लेख छ ।

विमानस्थलको यात्रु क्षमता बढाउन र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको पूर्वाधार विस्तारको काम भइरहेको छ । सोही काम अन्तर्गत हालको मर्मत भएको पनि विमानस्थल कार्यालयले जानकारी दिएको छ ।