भैरहवा र पोखरा विमानस्थल चलेन भनेर चिन्ता लिनु पर्दैनः महानिर्देशक अधिकारी


काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले फेब्रुअरी ३ देखि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा र थाइ एशियाले उडान सुरु गर्ने बताएका छन् ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा अधिकारीले भैरहवाबाट अहिले पनि नेपाल एयरलाइन्स र फ्लाइ दुबईले उडान गरिरहेको बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा-ल्हासा उडानका लागि हिमालय एयरलाइन्सले पहल गरिरहेको बताए । विमान उडान सञ्चालन देशको जिडिपीसँग जोडिएको हुने भन्दै स्वेच्छिक राखेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा अन्य विमानस्थलमा जानेको संख्या कम हुने उनको भनाइ छ ।

विदेश जानेहरुका लागि ५ सय मिटरभित्रै सबै सेवा उपलब्ध गराउने प्रतिवद्धतासहित अघि बढ्नसके भैरहवा र पोखरा विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउने उनको दाबी छ ।

‘पोखरा र भैरहवाको कुरामा अब सरकारले पनि यो कार्ययोजना पास गरेर विभिन्न क्षेत्रको कार्यक्रमहरु लिएर आएको छ । यसमा पाँच वटाको फ्लाइट भयो । अहिले त्यहाँ नेपाल एयरलाइन्स अपग्रेट गरिरहेको छ, फ्लाइ दुबई अपग्रेट गरिरहेको छ । जजिरा फेब्रुअरी ३ देखि गर्छ, थाइ एशिया फेब्रुअरी ३ देखि गर्दछ । पोखरामा हिमालयले ल्हासा गर्न सकिन्छ की भनेर हेरिरहेको छ,’ उनले भने, ‘यसको किन फ्लाइट भएन भनेर भन्दा यसको सैद्धान्तिक कुरा के हो भने अन्तर्राष्ट्रियमा ट्राफिकहरु हेर्ने,नयाँ विमानस्थल बनाउन लाग्यो भने त्यसको फोरकास्ट गर्ने भनेको त्यो देशको अर्थतन्त्र त्यो देशको जिडिपी कति एग्रिसिप छ, कति ग्रोथमा गएको छ भन्ने हुन्छ । त्यसको सम्बन्ध देशको जिडिपीसँग हुन्छ । ट्राफिक देशको हो । ट्राफिक काठमाडौंको मात्रै, भैरहवाको मात्रै, ट्राफिक पोखराको मात्रै भन्ने हुँदैन । देशको हुन्छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल केही समयको लागि पर्मानेन्ट बन्द गर्नुप¥यो भने हामी हवाई यातायातसँग अवरुद्ध हुन्छौँ त हुँदैनौँ नि । भैरहवा र पोखरा चलाउँछौँ नि ।’

उनले स्वेच्छिक राखेसम्म, अप्सनल राखेसम्म कोही पनि नजाने बताउँदै बाध्यकारी उपाय लगाउनु पर्ने उल्लेख गरे ।
‘यसको बाध्यकारी उपाय भनेको के हो भने श्रमको मान्छेलाई पोखरा, भैरहवाबाट गर्ने भनिन्छ । श्रमको थोरै दुःख छ त काठमाडौंमा । यति महंगो ट्रान्सपोर्ट, खाना, होटल छ । भिसा सेन्टर एक ठाउँमा छ, अर्को अर्को ठाउँमा छ । भनौँ न त भैरहवाबाट तिम्रो लागि एयरपोर्ट डेडिकेटेड । ५ सय मिटरभित्र सबै सुविधा हुन्छ । भिसा, ट्रेनिङ, इन्स्यारेन्स, मेडिकल त्यहीँ हुन्छ । भोलिदेखि चल्छ नि भैरहवा’ उनले भने ।