रुपन्देही । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिरवि लामिछानेको थुनछेक बहस रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा हुने भएको छ ।
बुधबार अदालत खुल्नासाथ लामिछाने रूपन्देही अदालत हाजिर भएका थिए ।
लामिछानेविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार मुद्दा दायर भएको थियो ।
लामिछानेविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरी ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।
अनुसन्धानका क्रममा लामिछानेको नाममा गएको २ करोड रुपैयाँको भौचर समेत बरामद भएको छ । यो रकम २०७७ चैत १८ मा स्वीकृत भएको र ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंक खातामा जम्मा भएको खुलेको छ ।
सुप्रिम सहकारीको रकम अपचलनबारे प्रहरीले बुझाएको यो दोस्रो पूरक अनुसन्धान हो । यसअघि, रवि गृहमन्त्री रहँदा, २०७९ वैशाख ३ मा यस मुद्दामा १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना भएको आरोपमा २८ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।
कास्की प्रहरीमा अनुसन्धान भइरहेका बेला रविमाथि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि २७ कात्तिकमा पोखराबाट बुटवलस्थित सरकारी वकिल कार्यालय लगेर रविको बयान गरिएको थियो ।
सुप्रिमका १,८३१ बचतकर्ताले ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँको हिनामिना भएको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो।
लामिछाने जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । पोखरामा लामिछानेमाथि सूर्यदर्शन सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ।
उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा छ । लामिछाने बिहीबार ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
प्रतिक्रिया