काठमाडौं । सरकारले पर्वतारोहण नियमावली २०८१ जारी गरेसँगै सगरमाथा आरोहणको रोयल्टी समेत बढाएको छ । हाल प्रतिपर्यटक ११ हजार डलर लिँदै आएको यस्तो रोयल्टी अबको बसन्त ऋतुबाट सगरमाथा आरोहण गर्दा १५ हजार डलर तिर्नुपर्ने भएको छ ।
सरकारले अगामी वसन्त ऋतुदेखि लागू हुने गरी सगरमाथा आरोहणको रोयल्टी बढाएको पर्यटन विभागले जानकारी दिएको छ । विभागका अनुसार सरकारले सगरमाथा आरोहणको रोयल्टी वृद्धिसहित आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउने गरी नयाँ व्यवस्था नियमावलीबाट गरेको हो।
यस्तो नियमावली अनुसार विदेशी नागरिकले सगरमाथा आरोहण गर्दा अहिले भन्दा ४ हजार बढी रोयल्टी तिर्नुपर्ने छ भने आरोहणलाई व्यवस्थित र सुरक्षित बनाउने काम पनि सुरु हुने भएको छ ।
विभागका अनुसार पर्वतारोहण नियमावलीले वसन्त ऋतुमा सगरमाथा आरोहण गर्दा लाग्ने दस्तुर बढाएको हो । अन्य सिजनमा भने त्यो भन्दा कम रोयल्टी तिरे पुग्ने व्यवस्था पनि गरिएको छ ।
नियमावलीको प्राथमिकता सगरमाथासहित विभिन्न हिमाल आरोहण हरसम्भव सुरक्षित बनाउने प्रयास भएको र रोयल्टीलाई धेरै महत्व नदिएको विभागको दाबी छ ।
यस अघि २०५९ मा आएको नियमावलीलाई चार पटकसम्म संशोधन गर्दा समूहमा जाने पर्यटकले प्रतिव्यक्ति १० हजार र एकल पर्यटकले ११ हजार डलर रोयल्टी बुझाउनुपर्ने व्यवस्था छ ।
विभागले सगरमाथासँगै ८ हजार मिटार माथिका सबै हिमालको आरोहण रोयल्टी बढाएको र आरोहणलाई सुरक्षित बनाउने प्रयास गरेको पनि उल्लेख छ ।
नेपालमा ४ सय ६१ हिमाल आरोहणमा खुला भएका छन् । यसमध्ये २७ वटा हिमाल नेपाल पर्वतारोहण संघले व्यवस्थापन गर्दै आएको छ । सरकारले गत साता जारी गरेको यो नियमावली राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आउने छ ।
प्रतिक्रिया