नेता तथा कर्मचारी र उच्च पदस्थ व्यक्तिले पुस मसान्त अगावै बैंकलाई राष्ट्रिय परिचयपत्र बुझाउनुपर्ने
काठमाडौं । सबै उच्च पदस्थ व्यक्तिको बैंक खातामा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाले आफ्नो संस्थामा खोलिएका यस्ता व्यक्तिको खातामा राष्ट्रिय परिचयपत्रको विवरण राख्नुपर्ने भएको हो ।
राष्ट्र बैंकले बैंकहरुलाई पुस मसान्तको समय दिएको छ । केन्द्रीय बैंकले बिहीबार एक परिपत्र गर्दै २०८१ माघ १ सम्ममा संस्थाले सबै उच्च पदस्थ व्यक्तिको खातामा राष्ट्रिय परिचयपत्रको विवरण राख्नु पर्ने व्यवस्था गरेको हो ।
उच्च पदस्थ व्यक्ति भन्नाले राजनीति, व्यापार तथा प्रशासनलगायत उच्च ओहोदामा रहेका तथा राजनीति सम्बद्ध व्यक्ति भन्ने बुझिन्छ । उनीहरु सबैले आफ्नो खाता भएको बैंकलाई राष्ट्रिय परिचयपत्र बुझाउनुपर्ने भएको हो ।
यसैगरी बैंकले पनि उनीहरुसँग पुस मसान्त अगावै राष्ट्रिय परिचयपत्र माग गर्नेछन् र सोही अनुसार विवरण अद्यावधिक गर्नुपर्नेछ ।
यी हुन् उच्च पदस्थ तथा राजनीतिक रूपमा प्रभावशाली व्यक्ति र प्रभावशाली पदहरूमा रहेका व्यक्तिहरू र उनीहरूका आफन्तः
१. प्रशासक/राजनीतिज्ञ
– राष्ट्रपति तथा उपराष्ट्रपति
– प्रधानमन्त्री र वर्तमान मन्त्रीहरू
– प्रधानमन्त्रीका सल्लाहकारहरू
– राष्ट्रिय राजनीतिक दलका केन्द्रीय कार्यसमिति सदस्यहरू, जिल्ला अध्यक्ष र सचिवहरू
– संघीय संसदका दुवै सभाका सदस्यहरू (तल्लो र माथिल्लो सदन)
– सरकारका सचिवहरू
– विशेष श्रेणीका सरकारी अधिकारी र माथिल्लो तह
– प्रदेश प्रमुखहरू
– मुख्यमन्त्री र प्रदेश सरकारका मन्त्रीहरू
– प्रदेश सभाका सभामुख/उपसभामुख तथा प्रदेशसभा सदस्यहरू
– महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र उपनगरपालिकाका मेयर र उपमेयर (यदी उनीहरू राजनीतिक पार्टीको शिर्ष भुमिकामा छन् भने)
– जिल्ला समन्वय समितिका अध्यक्ष र उपाध्यक्ष तथा ग्रामीण नगरपालिकाहरू
– प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयोगका सबै आयुक्तहरू
– महालेखापरीक्षक
– महान्यायाधिवक्ता
– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र सबै सदस्यहरू
– लोक सेवा आयोगका अध्यक्ष र सबै सदस्यहरू
– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष र सबै सदस्यहरू
२. न्यायपालिका
– सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरू
– उच्च अदालत र जिल्ला अदालतका प्रमुख न्यायाधीशहरू
३. सेना
– जर्नेल र माथिल्लो दर्जा
४. प्रहरी (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग)
– प्रहरी अतिरिक्त महानिरीक्षक र माथिल्लो दर्जा
५. सरकारी संस्था/निगमहरू (पूर्ण रूपमा वा आंशिक रूपमा सरकारी स्वामित्वमा)
– अध्यक्ष
– प्रमुख कार्यकारी अधिकृत
६. सार्वजनिक संस्थानका सीईओ/अध्यक्ष
७. यस्ता व्यक्तिका परिवारका निम्न सदस्य तथा आफन्तहरू
– आमाबाबु
– अविवाहित दाजुभाइ तथा दिदीबहिनी
– जीवनसाथी
– छोराछोरी
– विवाहित महिलाका लागि ससुरा/सासू
– हजुरबुबा-हजुरआमा र नाति-नातिनी
८. माथि उल्लेखित व्यक्तिहरूका नजिककाहरू
नजिकको सम्बन्ध कायम राख्ने तथा उनीहरूको तर्फबाट महत्वपूर्ण आर्थिक कारोबार गर्नेहरु