गगनको प्रस्ताव: देउवा, ओली र प्रचण्ड लगायतको सम्पत्ति छानबिन गरौं, भ्रष्टाचारका फाइल खोल्नेबारे छलफल गरौं
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन पूर्वप्रधानमन्त्रीको उपस्थितिमा भ्रष्टाचारसँग सम्बन्धित फाइलहरू खोलेर छलफल गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा थापाले भ्रष्टाचारको कुन-कुन फाइल खोल्ने हो त्यस विषयमा छलफल गर्नुपर्ने बताएका हुन् ।
‘एक जना पूर्वप्रधानमन्त्री यहाँ हुनुहुन्छ, अर्को पूर्वप्रधानमन्त्री अर्को समितिमा उपस्थित हुनुहुन्छ । अर्का एक जनालाई पनि बोलाएर यहाँ छलफल गरौं,’ उनले भने, ‘भ्रष्टाचारको कुन-कुन फाइल खोल्ने हो, यो छलफल गरौं।’
राज्य व्यवस्था समितिको बैठकमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित थिए । अर्का पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा कानुन न्याय तथा मानव अधिकार समितिमा सहभागी थिए ।
थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बैठकमा उपस्थित गराएर भ्रष्टाचारका फाइलहरू खोल्ने विषयमा छलफल गर्नुपर्ने बताएका हुन् ।
आफूले सरकारको नेतृत्व गर्दा मौन बस्ने र सरकारबाट बाहिरिना साथ भ्रष्टाचारका फाइल खोल्छौं भन्दै हिँड्ने नेताहरुको बढेको भन्दै थापाले यसबारे शीर्ष तहमा छलफल हुनु पर्ने बताए ।
‘समाजमा सबै नेताहरू कुनै न कुनै भ्रष्टाचारमा संलग्न देखिन थालेका छन्, त्यसैले यसलाई एकीकृत रुपमा समाधान गर्नुपर्ने छ । सरकारमा रहँदा मौन रहँदा र बाहिर रहेपछि भ्रष्टाचारका फाइलहरू खोल्न चाहने नेता छन्, यसैले यो छलफल शीर्ष स्तरमा हुनुपर्छ’ उनले भने ।
त्यसको समाधानका लागि शक्तिशाली आयोग बनाएर सबैको सम्पत्ति छानबिन गर्नुपर्ने उनको भनाइ छ ।
‘हामीले यो समाधान चाहन्छौं भने शक्तिशाली आयोग बनाऔं, सबैको सम्पत्ति छानबिन गरौं,’ थापाले भने, ‘ हामी सबैको सम्पत्ति जाँचौं र बाहिर कुनै एउटा भ्रष्टाचारको फाइल खोल्नुपर्ने कुरा नगरी समाधान खोजौं।’
थापाले अख्तियारको अधिकारलाई थप प्रबल बनाउनुपर्नेमा पनि जोड दिए ।