सुकेधारामा ३ अर्ब लगानीमा १०४ कोठाको पाँचतारे होटल मर्क्युर तयार, यस्ता छन् विशेषता


काठमाडौं । राजधानीको सुकेधारामा १०४ कोठाको पाँचतारे होटल मर्क्युर तयार काठमाडौं तयार भएको छ ।

देशबन्धु बस्नेत (अजित) को लगानीमा निर्माण भएको ११ तले उक्त होटलको आगामी माघ २ गते (१५ जनावरी २०२५ मा) औपचारिक सुभारम्भ हुँदै छ ।

नेपालको पाँचतारे होटलमा भित्रिएको पहिलो फ्रान्सेली ब्राण्डको यो होटल निर्माण करिब ३ अर्ब रुपैयाँ खर्च भएको छ ।

होटल क्षेत्रमा नेपालमा अधिकांश विदेशी ब्राण्ड भित्रिएको अवस्थामा फ्रान्सेली ब्राण्डको यो फरक होटल नेपालमा भित्र्याउनुले गुणस्तरीय पर्यटकीय सेवामा केन्द्रित भएको सन्देश दिएको होटलका सञ्चालक बस्नेतले बताए ।

‘नेपालको पर्यटनमा अरुभन्दा फरक प्रकारको पर्यटकीय सेवा दिन यो होटल आएको हो,’ उनले भने ।

एसिया, युरोप, अफ्रिका एवं मध्यपूर्वक ११० वटा देशमा ५४ सय भन्दा बढी होटल सञ्चालन गरिरहेको अक्कोर ग्रुप नेपाल भित्रिएको हो ।

अक्कोर ग्रुपभित्र रहेको ४० भन्दा बढी ब्राण्डमध्ये नेपालमा भित्रिएको मर्क्युर एउटा होटल ब्राण्ड हो ।

बस्नेतले द मेट्रोपोलिटन होटल प्रालिमार्फत नेपाल भित्र्याएको अक्कोरले ग्रुप अन्तर्गतको मर्क्युर ब्राण्डले पनि ६० भन्दा बढी देशमा ८१० वटा भन्दा बढी होटल सञ्चालन गरिसकेको छ ।

स्थानीय कला संस्कृति र परम्पराको प्रभावलाई आधुनिक डिजाइन र सेवासँग जोडेर दिइने आतिथ्यताको सेवा नै यो होटलको विशेषता हो । यसको सबै ब्राण्डको सेवामा एकरुपता दिनु र स्तरीय पर्यटीय सेवा दिनुभएको पनि बस्नेतको भनाइ छ ।

होटलले पूर्वाधारमात्रै नभएर सुकेधारको होटल परिसरमा हरियाली निर्माणसँगै सडक पूर्वाधारमा पनि योगदान गरेको छ । यो होटलले सार्वजनिक सेवासँगै ७० लाख रुपैयाँभन्दा बढी खर्चिएर १४० मिटर सडकसमेत निर्माण गरेको छ ।

पाँच रोपनी क्षेत्रफलमा फैलिएको यो होटलमा ११ तले छ । होटलको टफ फ्लोमा स्वीमिङ पुल, होटलमा नेपाली, इण्डियन, चाइनिज रेस्टुरेन्ट, तीन सय क्षमताको ब्याक्वेट, आधुनिक जिम, स्टीम र साउना, वेलनेस सेन्टरसहितका सेवा सुविधा छन् । होटलले हाल २२० जनालाई रोजगारी दिएको छ ।

नेपालमा सेवा सुभारम्भ गरेको मर्क्युर होटलमा एउटा एक्जुकेटिभ स्वीट, ७ वटा जुनियर स्वीट, इन्टर कनेक्टिङका स्याण्डर्ड रुमसहितका सुविधासम्मन्न कोठाहरु छन् ।

यो होटल सञ्चालसँगै वर्गीकरणपछि पाँच तारे स्तरको हुने दाबी होटलको छ । होटलले पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागसमक्ष स्तर वर्गीकरणको लागि आवेदन दिएको छ ।

यो होटलमा भएको सेवा सुविधा र क्षमता तथा न्यूनतम सबै मापदण्ड पूरा गरेका कारण यो होटल पाँचतारे स्तर वर्गीकरण हुने उल्लेख छ ।

याे हाेटलका सञ्चालक देश बन्धु बस्नेतले मर्क्युर काठमाडौं होटलका दूरदर्शी लक्ष्यका साथ सञ्चालनमा ल्याएका हुन् । उनले इटहरिमा पनि अर्काे एक पाँचतारे स्तरकै होटल सञ्चालनको तयारी गरेका छन ।

उनी नेपालको एक गतिशील युवा व्यवसायिक नेता हुन्। बस्नेत नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्यमा छन् । उनी महासंघको हवाई तथा यातायात समितिका अध्यक्षमा बसेर काम गरिरहेका छन । उनी जाम्बियाको मानार्थ कन्सुलर समेत हुन ।

बस्तेत एबी होल्डिङका अध्यक्ष हुन् । एबी होल्डिङ एक ठूलाे व्यवसायिक समूह । एबी परियोजना विकास र इक्विटी लगानीमा संलग्न कम्पनी हो ।