गृहनगरमा जनकपुर बोल्ट्सलाई भव्य बधाई, नगरपरिक्रमा गराइयो
जनकपुर । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण जितेको जनकपुर बोल्ट्सलाई गृहनगर जनकपुरमा भव्य स्वागत गरिएको छ । जनकपुर बोल्ट्सले शुक्रबार जनकपुरको प्रस्तावित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालाबाट विजयी यात्रा सुरु गरेका थिए ।
जनकपुर बोल्ट्सका मार्की खेलाडी आसिफ शेख, कप्तान अनिल साह, ललित राजवंशी, शेर मल्ल लगायतका खेलाडीहरू र्यालीमा सहभागी थिए । नेपाल क्रिकेट संघका उपाध्यक्ष र बोल्ट्सका सञ्चालक रोशन सिंह, साथै धनुषा क्रिकेट संघका अध्यक्ष शोभाकान्त पाण्डे पनि र्यालीमा सहभागी भएका थिए।
फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले पहिलो एनपीएलको उपाधि जितेको थियो । विजयी र्यालीको शुभारम्भ मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले गरेका थिए।
जनकपुरको थापाचोक हुँदै नगरका विभिन्न स्थानमा ट्रफी र जनकपुर बोल्ट्सका खेलाडीहरू सहित सयौं प्रशंसक र्यालीमा सहभागी भएका थिए ।