एनपीएल विजेता जनकपुर बोल्ट्सबाट सरकारले साढे २७ लाख कर असुल्ने, सुदूरको भागमा १३ लाख



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) विजेता टोली जनकपुर बोल्ट्सले विजेता वापत पाएको १ करोड १० लाखमध्ये सरकारलाई २७ लाख ५० हजार रुपैयाँ कर दिनुपर्ने भएको छ ।

आयकर ऐनको दफा ८८ ‘क’ अनुसार जनकपुरसँगै उपविजेता सुदूरपश्चिम रोयल्स,तेस्रो स्थानमा रहेको कर्णाली याक्स र चौथो चितवन राइनोजले पनि कर तिर्नुपर्नेछ । ऐनअनुसार आकस्मिक लाभवापत् पुरस्कारको २५ प्रतिशत तिर्नुपर्छ ।

आयकर ऐनको दफा ८८ को उपदफा १ मा पुरस्कारमा आकस्मिक लाभवापतको भुक्तानीमा २५ प्रतिशत करकट्टी गर्नुपर्ने उल्लेख छ ।

जसअनुसार एनपीएल आयोजकले प्रतियोगिता विजेता, उपविजेता, तृतीय र चौथो हुनेलाई कर कटाएर पुरस्कार रकम दिनेछ ।

यसैगरी दफा ९२ को उपदफा १(झ) मा आकस्मिक लाभ वापतको भुक्तानीलाई अन्तिम रूपमा करकट्टी हुने भुक्तानी मानिनेछ।

जनकपुर बोल्ट्सले फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै उपाधि जितेको हो ।

यता उपविजेता टोली सुदूरपश्चिमले पुरस्कार पाएको ५१ लाख रुपैयाँमा १२ लाख ७५ हजार रुपैयाँ कर दिनु पर्नेहुन्छ । तेस्रो भएको कर्णाली याक्सले पुरस्कार पाएको २५ लाखमा ६ लाख २५ हजार आयकर तिर्नु पर्नेछ । चौथो भएको चितवन राइनोजले पुरस्कार पाएको १५ लाख रूपैयाँमा ३ लाख ७५ हजार कर तिर्नु पर्नेछ ।

प्रतियोगिताका सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भएर कार उपहार पाएका दिपेन्द्र सिंह ऐरीले पनि ६२ लाखको कारमा १५ लाख ५० हजार कर तिर्नु पर्ने भएको थियो । दिपेन्द्रले उत्कृष्ट खेलाडी बन्दै ओमोडाको ई–५ कार पुरस्कार पाएका थिए ।

प्रतियोगितामा सुदूरपश्चिम रोयल्स उपविजेता बन्दा टिमका कप्तान ऐरी उत्कृष्ट खेलाडी बनेका थिए । दिपेन्द्रले प्रतियोगिताभर ९ खेलमा १ अर्धशतकसहित २२७ रन बनाएका थिए । बलिङतर्फ उनले ९ खेलमा ९ विकेट लिए ।

प्रतियोगिताभर उत्कष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई ओमोडाले ई–५ कार प्रदान गरेको थियो । नेपाली बजारमा यो कारको मूल्य ६१ लाख ९९ हजार रूपैयाँ रहेको छ । दिपेन्द्रले पाएको कारको २५ प्रतिशत कर शारडा ग्रुपले नै तिरिदिने बताएको छ ।

क्यानले आयोजना गरेको एनपीएलमा सिद्धार्थ बैंकले मुख्य प्रयोजन गरेको थियो । प्रतियोगितामा सुदूरपश्चिम रोयल्स ७ खेलमा ६ खेलमा जित निकाल्दै शीर्ष स्थानमा पुगेर क्वालिफायरमा पुगेको थियो ।

पहिलो क्वालिफायरमा जनकपुरविरुद्ध जित निकाल्दै सुदूरपश्चिम फाइनलमा पुगेको थियो । पहिलो क्वालिफायरमा पराजित भएको जनकपुर दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

१५ दिनसम्म चलेको प्रतियोगिताको प्लेअफमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र चितवन राइनोज पुगेका थिए ।
पहिलो संस्करणको एनपीएलमा टोलीहरुले ८ जना खेलाडीलाई २० लाख रुपैयाँमा मार्की खेलाडीको रुपमा भित्र्याएको थियो ।

नेपाली राष्ट्रिय टोलीका सबै खेलाडी ‘ए’ क्याटेगोरीमा रहँदै १५ लाख रुपैयाँमा टिममा अनुबन्ध भएका थिए । यसैगरी विदेशी खेलाडीहरू जिम्मी निशम, मार्टिन गुप्टिल, शिखर धवन लगायतका खेलाडीले पनि मोटो रकम लिएको बताइएको छ ।

प्रतियोगिताको उद्घाटन खेल, क्वालिफायरका दुई खेल र फाइनल खेलमा सबै टिकट सोल्ड आउट भएको थियो ।


भुपेस उपाध्याय