कन्सल्टेन्सी व्यवसायीले खरिद गरेको रोयल्समा कोच-कप्तानको भेगीय नाता, दुई वर्षमै लगानी उठाउने दाउ



काठमाडौं । नेपाली क्रिकेटको उर्भर भूमि हो, सुदूरपश्चिम । जहाँबाट राष्ट्रिय टोलीका ५० प्रतिशतभन्दा धेरै खेलाडी उत्पादन हुन्छ । नेपाली क्रिकेटका समर्थकको हिसाबले हेर्ने हो भने आकँडा थप सबल देखिन्छ ।

राष्ट्रिय क्रिकेट टोलीमा हुने प्रतिनिधित्वको विषयलाई पर राखेर हेर्दा नेपाली घरेलु क्रिकेटमा पनि सुदूरपश्चिमको बेग्लै चार्म छ । सुदूरपश्चिम रोयल्सको यही चार्म अहिले नेपालकै ठूलो फ्रेन्चाइजी लिग नेपाल प्रिमियर लिग (एनपीएल) मा देखिएको छ ।

एनपीएलको बलियो र भाग्यमानी क्लबको रुपमा सुदूरपश्चिम रोयल्स देखिएको छ । भाग्यमानी यस अर्थमा देखियो कि सुदूरपश्चिम टिमका लगानीकर्ता, कप्तान, ब्रान्ड एम्बासडर, कार्यकारी निर्देशक र प्रशिक्षक पनि सुदूपश्चिमकै हुन् ।

गोलपर्थाबाट कप्तान दिपेन्द्र सिंह ऐरीलाई पाएको सुदूपश्चिमले प्रशिक्षकमा पनि सुदूरपश्चिमकै जगत टमाटालाई राख्यो । ऐरी र टमाटा जोडिँदा सुदूरपश्चिम टिमको भेगीय नाता झनै राम्रो बन्न पुग्यो ।

टोलीमा सुदूपश्चिमकै खेलाडीहरु विनोद भण्डारी, नरेश बुढाएर, नरेन साउद, खड्ग बोहरा र भोजराज भट्ट पनि छन् ।

खेलाडी र कोच एकातिर । टिमका मुख्य लगानीकर्ता स्वतन्त्र प्रताप शाहको छ । उनले सुदूपश्चिम टिम नै रोज्नुको मुख्य कारण पनि भेगीय नाता नै हो ।

सुदूरपश्चिम टिममा लगानी गर्न पाउँदा खुसि लागेको शाहले बताए । ‘एनपीएलमा एउटा टिम किन्ने योजना बनाएको हुँ । नेपाली क्रिकेट विकासको लागि लगानी गर्न खोजेको हुँ । अवसरस्वरुप मैले सुदूरपश्चिम टिम खरिद गर्ने मौका पाएँ । यसमा झनै खुसी छु,’ शाहले क्लिकमान्डुसँगको कुराकानीमा भने ।

प्रतियोगितामा सुदूरपश्चिम सबैभन्दा बलियो टोलीको रुपमा प्रस्तुत भएको छ । प्रतियोगिताको पहिलो खेलबाट नै बलियो देखिएको सुदूरपश्चिमले लिग चरणका ७ खेलमा ६ खेलमा जित निकाल्न सफल भयो । प्रतियोगिताको शीर्ष स्थानमा उक्लँदै पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई हराउँदै फाइनल पुगेको थियो ।

फाइनल खेलसम्म सुदूरपश्चिमले १० करोड रुपैयाँ बराबरको खर्च हुने अनुमान गरिएको छ । एम्पायर स्पोट्र्स म्यानेजमेन्ट प्रालिले सुदूरपश्चिम टिम १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रुपैयाँमा खरिद गरेको हो । टिम खरिदपछि सुदूरपश्चिमले विदेशी खेलाडी, नेपाली खेलाडीलगायतमा कुल १० करोड खर्च हुने अनुमान छ ।

‘प्रतियोगितामा १० करोडभन्दा धेरै खर्च हुने अनुमान गरेका छौ । तर, खेल नसकिउञ्जेलसम्म कति खर्च हुन्छ भन्ने एकीन भन्न सक्ने अवस्था छैन,’ शाहले भने ।

सुदूरमात्र होइन पहिलो सिजनको प्रतियोगितामा सबै टोलीहरुले १० करोडको खर्च अनुमान गरेका छन् । यो खर्चको सूचीमा हरेक टिमले चार जना विदेशी खेलाडीमा गर्ने लगानी, नेपाली खेलाडी अनुबन्ध गर्दा लागेको एक करोड, मार्की खेलाडीको २० लाख सामेल छन् ।

पहिलो र दोस्रो वर्षमै लगानी उठ्ने सुदूरपश्चिमका लगानीकर्ताको विश्वास छ ।

‘हामी नेपाली क्रिकेटको विकास गर्न आएका हौं । लगानी उठ्ने कुरा अहिले नै भन्न सक्दैनौं । तर, अहिलेको एनपीएलको चार्म हेर्दा दुई सिजन पछि केही सोच्न सकिन्छ । म चाहीँ आम्दानी नभएपनि लगानी गर्नबाट पछि हट्ने छैन,’ शाहले भने ।

टिमका ब्रान्ड एम्बास्डर ओलम्पियन दिपक विष्टले टिममा जोडिन पाएकोमा धरै खुसी लागेको बताए । आफू पनि सुदूरपश्चिमबाट नै आएको हुनाले टिममा जोडिन पाउँदा पुरानो खेल जीवनको पनि याद आएको उनले बताए । विष्टले सुदूरपश्चिम टिमका लगानीकर्ता शाहसँग स्कुले जीवनमा सँगै तेक्वान्दो पनि खेलेका थिए ।

‘नेपाली खेलकुद र क्रिकेटसँग म सधैं जोडिएको छु । १२ वर्ष पहिलादेखि एसपीए कप क्रिकेट हुँदा नै म जोडिएको थिएँ,’ विष्टले भने, ‘अहिले म सानो हुँदा आफूसँगै तेक्वान्दो खेलेको साथीको टिममा जोडिएको छु । सुदूरपश्चिम र नेपाली क्रिकेटको विकासका लागि भएको एनपीएलमा जोडिनु मरो लागि ठूलो कुरा हो ।’

को हुन् सुदूपश्चिमका लागिनीकर्ता शाह ?
शाह कैलालीको टीकापुरमा जन्मिएका हुन् । सन् २००३ मा डिप्लोमा इन बिजनेस एडमिनिस्ट्रेसन पढ्न सिङ्गापुर पुगेका उनी त्यसै वर्ष एड्भान्स डिप्लोमा पढ्न उतैबाट अस्ट्रेलिया गएका थिए । नेपालमा कन्सिल्टेन्सी सञ्चालन गरेका शाहको अस्ट्रेलियामा पनि कन्सल्टेन्सी छ । शाहले क्विन्सल्यान्ड राज्यको ब्रिसबेनमा एम्पायर लायन्स क्रिकेट क्लब सञ्चालन गरिरहेको छन् ।

शाहले सन् २०१० मा पाँच वटा रेस्टुरेन्ट समेत सञ्चालन गरेका थिए । उनलाई नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलले २०७९ सालमा अस्ट्रेलियाका लागि पर्यटन दूतको महत्वपूर्ण जिम्मेवारी दिएको थियो । उनी हाल गैरआवासीय नेपाली संघ (एनआरएनए)को सचिव छन् ।

सुदूरपश्चिमका लागि हालसम्म उत्कृष्ट प्रदर्शन गर्ने खेलाडहरु
ब्याटिङतर्फ सुदूरपश्चिमका लागि हालसम्म उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन्, कप्तान दिपेन्द्र सिंह ऐरी रहेका छन् । उनले ८ खेलमा १ अर्धशतकसहित २१८ रन बनाएका छन् । उनले फाइनल खेलमा २ विकेटसहित ६० बनाउन सके ओमोडाको कार जित्ने खेलाडी बन्न सजिलो हुनेछ । उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचीको छैटौं स्थानमा छन् । बलिङमा ऐरीले ८ विकेट लिएका छन् ।

विदेशी खेलाडीमध्ये सेफ जेब उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन् । उनले ८ खेलमा एक अर्धशतकसहित २०६ रन बनाएका छन् । बलिङतर्फ उनले ८ खेलमा ११ विकेट लिएका छन् ।

बलिङतर्फ उत्कृष्ट प्रदर्शन गर्ने सुदूरपश्चिमका खेलाडीमा साइब जेब नै पहिलो स्थानमा छन् । उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचीको आठौं स्थानमा छन् ।

कस्तो भयो हालसम्म टिमको प्रदर्शन कस्तो ?
प्रतियोगितामा सुदूरपश्चिमले लिगका ७ खेलमध्ये ६ खेलमा जित निकाल्न सफल भयो । सुदूरपश्चिमले बुधबार भएको पहिलो क्वालिफयर खेलमा जनकपुर बोल्ट्सलाई पनि हराउन सफल भयो । सुदूरपश्चिमले लिग चरणको खेलमा जनकपुरमाथि ७२ रनको सहज जित निकालेको थियो ।

सुदूरपश्चिमले पहिलो खेलमा विराटनगरलाई ९० रनले हराएको थियो । दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३, तेस्रो खेलमा लुम्बिनी लायन्सलाई ४५ रन, पाँचौं खेलमा जनकपुर बोल्ट्सलाई ७२ रन, छठौं खेलमा पोखरा एभेन्जर्सलाई ५ रन र सातौं खेलमा कर्णाली याक्सलाई ६ विकेटले हराएको हो । सुदूर चौथो खेलमा चितवन राइनोजसँग ३३ रनले हारेको थियो ।

प्रतियोगिताको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले जनकपुरलाई ८ विकेटले हराएको थियो । अब सुदूरपश्चिमले फाइनल खेलमा जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्दैछ ।

डोमेस्टिक अक्सनमा कति भयो सुदूरपश्चिमको खर्च ?
सुदूरपीश्चमले आफ्ना मार्की खेलाडी दिपेन्द्र सिंह ऐरीका लागि २० लाख रुपैयाँ खर्च गरेको थियो । त्यसपछि ‘ए’ क्याटेगोरीका खेलाडी आरिफ शेखलाई १५ लाख र अभिनाश बोहरालाई १२ लाख खर्चेको थियो । समग्रमा टिमले ६९ लाख ३५ हजार रुपैयाँ अक्सनमा खर्च गरेको थियो ।

टिमः सुदूरपश्चिम रोयल्स
नेपाली खेलाडीः दीपेन्द्रसिंह ऐरी (मार्की), आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद
विदेशी खेलाडीः ब्रान्डन म्याकमलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), रोहन मुस्तफा (युएई)
टिमको स्वामित्वः एम्पायर स्पोट्र्स म्यानेजमेन्ट प्रा.लि.
टिम मालिकः स्वतन्त्र प्रताप शाह
प्रशिक्षकः जगत टमाटा
आइकोनिक खेलाडीः बसन्त खत्री
ब्राण्ड एम्बासडरः दीपक विष्ट
सीईओः प्रकाश खड्का
टाइटल स्पोन्सरः ग्लोबल आईएमी बैंक
स्पोन्सरहरुः कुमारी जब, सूर्यपे, नेपाल टेलिकम, एसपीए कलेज, ब्रेड बक्स र फ्रेस जुस


भुपेस उपाध्याय