ऋणको साँवा ब्याज उठेको छैन, बैंक कठिन परिस्थितिमा बाँचेका छन् : गभर्नर अधिकारीको विचार



हामीले बैंकिङ प्रणालीलाई सुरक्षित राख्न सकेका छौं, बैंकर साथीहरूले सघाउनु भएको छ । जुनसुकै कठघरामा पनि बैंकिङ क्षेत्र रिजिलियन्ट बनेर बसेको छ ।

कोरोनालगायत विश्वव्यापी समस्यामा पनि नेपाली बैंकिङ क्षेत्र खरो बनेर उभिएको छ । हामीले विश्वव्यापीकरणको लाभ लिइरहेका छौं तर विश्वव्यापी रूपमा स्वकेन्द्रीत हुन थालिएको छ । यसमा अनिश्चितता मात्र निश्चित देखिन्छ ।

हामीले काम गर्दा प्रशस्त चुनौती छन् । बैंकिङ क्षेत्र झन् चुनौतीमा छ । संवेदनशीलता तपाईंहरूलाई थाहै होला ।

हाम्रा नीति वित्तीय स्थायित्व र आर्थिक वृद्धि सघाउने खालका छन् । बैंकिङ क्षेत्रप्रति हामीले गौरव गर्नुपर्छ । बैंकिङ अभ्यास निकै पारदर्शी छ । पछिल्लो समय बैंकभन्दा बाहिरको समस्याले चुनौती थपेको हो ।

पुँजी राम्रो भए पनि निष्क्रिय कर्जा बढेको छ । तर, प्रोभिजनले बलियो बनाएको छ । प्रोभिजनले बैंकलाई बचाउँछ । ऋणको साँवा ब्याज उठेको छैन, हामी यो कठिन परिस्थितिमा बाँचेका छौं । तर, प्रोभिजनले आत्तिने स्थिति सिर्जना हुनबाट बचेको छ ।

बैंकको लाभांश क्षमता राष्ट्र बैंकको कारणले होइन, बैंक आफ्नै कारणले दिन नसकेको हो । जो इफिसियन्ट छ उसले लाभांश बाँड्यो । प्रोभिजनका कारण लाभांश क्षमता घटेको होइन ।

कसैले २६ प्रतिशत, कसैले शून्य लाभांश बाँडे । हामीले गर्दा लाभांश घट्ने भए उसले पनि सक्दैनथ्यो । हिजो कर्जा बढाउँदा ध्यान पुर्‍याएको भए आज लाभांश बाँड्नै नसक्ने अवस्था आउँदैन थियो ।

नीति प्रेडिक्टेबल हुनुपर्छ । नीति फेरिन्छ एउटै रहँदैन । आवश्यकता आधारमा नीति फेरिन्छ । नीति अनुमानयोग्य छ कि छैन भन्ने कुराले महत्त्व राख्छ । सधै एउटै रेट रहन्छ भन्ने छैन ।

बैंकिङ क्षेत्रलाई बाह्य क्षेत्रबाट दबाब आयो । ऋण नतिरे पनि हुन्छ भन्ने हल्लाका कारण तल्लो तहबाट काम हुन सकेन । बैंकको नाफमाथि प्रश्न उठ्दा पनि असहज भयो । नाफाबिना बैंक चल्न सक्दैन । पुँजी लगानी गरेपछि प्रतिफल त चाहिन्छ ।

पछिल्लो दिन सुधारको लहर देखिन थालेको छ । यसो गर्दा हिजो नोक्सानी व्यवस्था गरेको रकम फिर्ता हुन्छ । लगानीकर्ताले प्रतिफल पाउँछन् ।

प्रोभिजन र रिडेम्सन रिजर्भलगायतले बैंकलाई बचाएको छ । कोभिडका बेला हामीले नै अर्थतन्त्र बचायौं । आर्थिक सुस्तता कम भएसँगै अब बैंकले प्रतिफल दिने दिन बिस्तारै आउँदैछ ।

(नेपाल बैंकर्स संघको साधारणसभामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यक्त गरेको विचार)


क्लिकमान्डु