रवि लामिछानेविरुद्ध ३ कसुरमा ६ सय पेजको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की प्रहरीले ६ सय पेज लामो अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

कास्की प्रहरीका डीएसपी बसन्त शर्माका अनुसार लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोजनको सिफारिस गरिएको छ । यस अनुसन्धानमा प्रहरीले रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउन राय दिएको छ ।

अनुसन्धानको क्रममा हालसम्म १४ जना पक्राउ परिसकेका छन् । तीमध्ये ५ जनालाई हालै पक्राउ गरिएको हो भने ९ जना यसअघि नै पक्राउ परिसकेका थिए । अन्यलाई फरार प्रतिवादीका रूपमा सूचीबद्ध गर्न सिफारिस गरिएको प्रहरीको भनाइ छ ।

सोमबार प्रहरीको रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालय कास्कीलाई बुझाइएको हो । प्रतिवेदन प्राप्त गरेपछि वकिल कार्यालयले अदालतमा मुद्दा दर्ताको प्रक्रिया अघि बढाउने जानकारी गराइएको छ ।

लामिछानेलाई कार्तिक २ गते सहकारी ठगी र संगठित अपराधमा संलग्न रहेको आरोपमा रास्वपा पार्टी कार्यालय काठमाडौंबाट पक्राउ गरि कास्की लगिएको थियो । सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयलाई समेत अनुसन्धानको दायरामा राख्दै प्रहरी टोलीले लामो अनुसन्धानपछि प्रतिवेदन तयार पारेको हो ।

लामिछाने लगायतमाथि कास्की प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरेको हो । संगठित अपराधमा ६० दिन र सम्पत्ति शुद्धीकरणमा ९० दिन हिरासतमा राख्न पाइने कानुनी व्यवस्था छ । यही कसुरमा सरकारी वकिलले अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

हिरासतमा रहेका रविसहितका ४ जनालाई म्याद थप गर्न प्रहरीले मंगलबार अदालतमा उपस्थित गराउनुपर्ने छ ।

प्रहरीले प्रतिवेदन बुझाइसकेकाले मंगलबार नै अदालतमा मुद्दा पेस गर्नेगरी काम गरिरहेको जिल्ला सरकारी वकिलको कार्यालयका अधिकारीको भनाइ छ । तर सम्भव नभए म्याद थपमा जानु पर्ने उनीहरु बताउँछन् ।

पूरक अनुसन्धानमा प्रहरीले सुरुमा असोज ६ गते पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ गरेको थियो । सोही दिनदेखि ९० दिनको समयसीमा गणना हुन्छ । त्यसअनुसार सरकारी वकिलसँग आगामी शुक्रबार (पुस ५) गतेसम्मको समय छ ।


क्लिकमान्डु