दुनाटपरी बेचेर स्वरोजगार बन्दै दाङका महिला



लमही । यहाँका महिला स्थानीय वनमा पाइने सालका पात उपयोग गरी स्वरोजगार भएका छन् । दुनाटपरी बेचेर उनीहरू आर्थिक रूपमा सबल पनि भएका छन् ।

घोराही उपमहानगरपालिका– १२ डाँडागाउँका सातजनाले उद्यमशील दुना टपरी महिला समूह गठन गरेर यन्त्रका माध्यमबाट दुनाटपरी तयार गर्न थालेका हुन् ।

सोसेक नेपाल नामको संस्थाले मेसिनबाट दुनाटपरी बनाउने तालिम दिएर मेसिन राख्ने घर बनाइदिएपछि गत भदौदेखि व्यावसायिक रूपमा दुनाटपरा बनाएर बेच्न थालेको समूहका अध्यक्ष पुष्पा चौधरीले बताइन् । सोही समूहकी सदस्य सुशीला चौधरीले घर नजिकै खजुरी सामुदायिक वनको पात आफ्नो आर्जनको माध्यम बनेको बताइन् ।

उनले भदौयता दुई हजार दुनाटपरी बेचेर १० हजार रुपैयाँ आम्दानी गरेको बताइन् । उनीमात्र होइन उनको समूहका सबैले यन्त्र प्रयोग गरेर दुनाटपरी बनाउने गरेका छन् । सोसेकका जिल्ला संयोजक द्रोण जिसीले विपन्न, केही गरौँ भन्ने सोच भएका महिलालाई छनोट गरेर सीपमूलक तालिम दिएको बताए ।

महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत सीपसहितको बीउपुँजी पनि उनीहरूलाई प्रदान गरिएको छ ।

घोराही उपमहानगरकी उपप्रमुख हुमा डिसीले महिलालाई आत्मनिर्भर बनाउन पालिकाले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।


क्लिकमान्डु