रुस, युक्रेन र अमेरिकाको त्रिपक्षीय वार्तामा के भयो प्रगति ?


एजेन्सी । यक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आइतवार संयुक्त अरब अमिरातको राजधानी अबु धाबीमा रुसी, युक्रेनी र अमेरिकी वार्ताकारहरूबीच भएको प्रगतिको जानकारी दिएका छन् । शान्ति सम्झौताको मार्ग अझै स्पष्ट हुन सकेको छैन ।

जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखे, ‘धेरै कुरामा छलफल भयो र ती कुराकानीहरू रचनात्मक हुनु महत्त्वपूर्ण छ । युद्ध अन्त्यका सम्भावित मापदण्डहरू छलफलको केन्द्रामा छन् ।’

शुक्रबार र शनिबार भएको यो त्रिपक्षीय वार्ता सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता पहिलोपटक तीनै देशका अधिकारीहरू एकै ठाउँमा बसेर गरिएको छलफल हो । एक अमेरिकी अधिकारीका अनुसार, महिनौंको गोप्य कूटनीतिपछि यस बैठकले महत्त्वपूर्ण प्रगतिको संकेत गरेको छ । उनले अन्तिम सम्झौताको ग्यारेन्टी नभए पनि आमनेसामने वार्ताविना यो प्रगति सम्भव नहुने कुरामा जोड दिए ।

यो कूटनीतिक प्रयास भइरहँदा रुसले युक्रेनमाथि यस वर्षकै सबैभन्दा ठूलो रातभरिको हवाई आक्रमण गरेको थियो ।

दुई दिने सत्रले कुनै ठोस निष्कर्ष ननिकाले पनि सहभागी पक्षहरूले भविष्यमा हुने सम्झौताप्रति आशा व्यक्त गरेका छन् ।

‘अगाडि बढ्नका लागि तत्परता छ भने थप बैठकहरू हुनेछन्, सम्भवतः अर्को हप्ता नै । युक्रेन तयार छ,’ जेलेन्स्कीले बताए ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका विशेषदूत स्टिभ विट्कोफले पनि वार्तालाई अत्यन्त रचनात्मक भन्दै अर्को हप्ता अबु धाबीमा कुराकानी जारी राख्ने योजनाहरू बनाइएको उल्लेख गरे ।

विट्कोफले भने, ‘राष्ट्रपति ट्रम्प र उनको सम्पूर्ण टोली यो युद्ध अन्त्य गरी शान्ति ल्याउन समर्पित छ ।’

अर्को चरणको वार्ता फेब्रुअरी १ मा अबु धाबीमा सुरु हुने अमेरिकी अधिकारीहरूले बताएका छन् ।

युक्रेनले खोजेको सुरक्षा ग्यारेन्टीको रूपरेखा समेटिएको कागजात शतप्रतिशत तयार रहेको आइतवार जेलेन्स्कीले बताए । युक्रेनका लागि सुरक्षाको प्रत्याभूति युद्धपछिको स्थिरताका लागि प्रमुख विषय हो ।

युक्रेनले उक्त सम्झौतामा हस्ताक्षर गर्नका लागि समय र स्थान तय हुने आशा गरिरहेको उनले बताए ।

लिथुआनियामा आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले भने, ‘हाम्रा लागि सुरक्षा ग्यारेन्टी भनेको मुख्य रूपमा अमेरिकासँगको द्विपक्षीय सुरक्षा ग्यारेन्टी हो । कागजात शतप्रतिशत तयार छ । हामी हाम्रा साझेदारहरूले हस्ताक्षर गर्ने मिति र स्थान तय गरून् भन्ने अपेक्षा गर्दछौं ।’

उक्त कागजातलाई अमेरिकी संसद् र यूक्रेनी संसद्ले अनुमोदन गर्नुपर्ने उनले थपे ।

लडाइँ जारी रहँदा बाँकी रहेका समस्याहरू सुल्झाउन अमेरिकाले महिनौंदेखि युक्रेन र रुससँग द्विपक्षीय वार्ताको नेतृत्व गर्दै आएको छ ।

अबु धाबीमा वार्ताकारहरूले परिमार्जित २० बुँदे योजनामा छलफल गरे । त्यसमा भूभाग, अर्थतन्त्र, सुरक्षा र अन्य क्षेत्रका विषयहरू समावेश छन् ।

अमेरिका र युक्रेनी पक्षले प्रगति भएको दाबी गरे पनि भूभागको विवादास्पद मुद्दा अझै पनि असहमतिको मुख्य विन्दु बनेको छ । त्यसको कुनै स्पष्ट समाधान निस्किएको छैन ।

कोइला खानीले सम्पन्न दोनेत्स्क र लुहान्स्क क्षेत्रहरू मिलेर बनेको पूर्वी युक्रेनी क्षेत्र डोनबासमाथिको नियन्त्रण रुसको मुख्य माग रहँदै आएको छ ।

अबु धाबी वार्ताअघि क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले डोनबासबाट युक्रेन बाहिरिनु मस्कोका लागि प्रमुख शर्त रहेको बताएका थिए ।

‘रुसको अडान स्पष्ट छ । युक्रेनको सशस्त्र सेनाले डोनबास छोड्नुपर्छ र त्यहाँबाट पछि हट्नुपर्छ । यो धेरै महत्त्वपूर्ण शर्त हो,’ पेस्कोभले बताए ।

रुसका उप–विदेशमन्त्री सर्गे र्याबकोभले वार्तापछि यस कुरालाई दोहोर्याउँदै सरकारी समाचार एजेन्सी तासलाई बताएअनुसार, मस्को केही महिनाअघि अलास्कामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र ट्रम्पबीच भएको शिखर वार्ताका आधारभूत समझदारीहरूसँग पूर्ण रूपमा मेल खाने योजना विकास गर्न चाहन्छ ।

उक्त सम्झौतामा युद्धविरामको बदलामा यूक्रेनले दोनेत्स्क र लुहान्स्कका बाँकी क्षेत्रहरू त्याग्नुपर्ने प्रावधान थियो ।

युक्रेनले शान्ति सम्झौताका लागि भूभाग त्याग्ने धारणालाई लगातार अस्वीकार गर्दै आएको छ ।

अबु धाबीमा वार्ताका सिलसिला चलिरहँदा पनि रुसले युक्रेनमा आक्रमणहरू जारी राख्यो र राजधानी कीभ तथा युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमणको वर्षा गर्यो ।

कीभका मेयर भिताली क्लित्स्कोका अनुसार, त्यहाँ कम्तीमा एकजनाको मृत्यु भएको छ र अन्य चारजना घाइते भएका छन् ।

अत्यधिक जाडोको बीचमा कीभका करिब ६ हजार अपार्टमेन्ट ब्लकहरूले तातो बनाउने प्रणाली (हिटिङ) गुमाएका छन् ।

युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाले अबु धाबीमा कूटनीतिक प्रक्रिया चलिरहेकै बेला पुटिनले निर्ममतापूर्वक यो बर्बर आक्रमणको आदेश दिएको आरोप लगाए ।

जेलेन्स्कीले फेसबुकमा लेखे, ‘हाम्रो ऊर्जा पूर्वाधारमा हुने यस्ता प्रत्येक रुसी प्रहारले वायु रक्षा प्रणाली आपूर्तिमा ढिलाइ हुनुहुँदैन भन्ने प्रमाणित गर्छ । यी आक्रमणहरूलाई नजरअन्दाज गर्न सकिँदैन । यिनलाई कडा जवाफ दिनुपर्छ ।’

जेलन्स्कीले युक्रेनको क्षेत्रीय अखण्डताको सम्मान हुनुपर्नेमा जोड दिए ।