रुसको तेल ट्यांकरलाई बेलायती सेनाले नियन्त्रणमा लियो

161
Shares

एजेन्सी । बेलायती सशस्त्र बलले पहिलोपटक इंग्लिस च्यानलमा रुसको ‘श्याडो फ्लीट’ (छायाँ बेडा) अन्तर्गतको एउटा तेल ट्यांकरलाई नियन्त्रणमा लिएको छ ।

बेलायत सरकारले यसलाई युक्रेन विरुद्धको युद्धका लागि मस्कोले जुटाउँदै आएको कोषमा अवरोध पुर्याउने उद्देश्यले गरिएको महत्त्वपूर्ण सैन्य कारबाहीका रूपमा व्याख्या गरेको छ ।

स्मर्टोस नामक उक्त ट्यांकरमा आइतबार बिहानै बेलायती रोयल मरिन कमान्डो र राष्ट्रिय अपराध एजेन्सीका विशेष तालिमप्राप्त अधिकारीहरूले छापा मारेका थिए । बेलायतको क्षेत्रीय जलक्षेत्रमा करिब ६ घण्टासम्म चलेको उक्त अपरेशनमा मेरिटाइम एयर ग्रुपका चिनुक, मर्लिन एमके–४ र वाइल्डक्याट हेलिकप्टरहरूका साथै आरएएफ पी–८ निगरानी विमान र रोयल नेभीका एचएमएस सदरल्यान्ड र एचएमएस लेडबरी जस्ता युद्धपोतहरूको प्रयोग गरिएको थियो ।

नियन्त्रणमा लिइएको ट्यांकरलाई हाल इंग्ल्याण्डको दक्षिणी तट नजिकै सुरक्षित रूपमा लंगर हालेर राखिएको छ जहाँ अनुसन्धान नसकिउन्जेल यसलाई कडा निगरानीमा राखिनेछ । बेलायतको रक्षा मन्त्रालयले यो कारबाही स्वदेशी र अन्तर्राष्ट्रिय दुवै कानुनको पूर्ण पालना गरी सम्पन्न गरिएको स्पष्ट पारेको छ ।

बेलायतले रुसी स्याडो फ्लीटसँग जोडिएको कुनै पनि जहाज विरुद्ध यस्तो प्रकारको अवरोधको नेतृत्व गरेको यो पहिलोपटक हो । प्रधानमन्त्री किर स्टार्मरले गत मार्चमा बेलायती सशस्त्र बल र कानुन कार्यान्वयन गर्ने निकायहरूलाई बेलायती जलक्षेत्रबाट जाने प्रतिबन्धित जहाजहरूमाथि छापा मार्न पाउने गरी विशेष नयाँ अधिकार प्रदान गरेका थिए ।

अपरेशनको बारेमा घोषणा गर्दै प्रधानमन्त्री स्टार्मरले यो कारबाही रुसका लागि अर्को ठूलो झड्का भएको र पुटिनको युद्धलाई टेवा पुर्याउनेहरू कतै लुक्न नसक्ने कुराको यो एउटा कडा चेतावनी भएको बताएका छन् । उनले देशलाई वर्षको ३६५ दिन नै सुरक्षित राख्ने सशस्त्र बल र सुरक्षा अधिकारीहरूको साहसको उच्च प्रशंसा समेत गरे ।

रक्षा सचिव ड्यान जार्भिसले यो अभियानलाई रुसी युद्ध संयन्त्रलाई कमजोर पार्ने दिशामा महत्त्वपूर्ण कदमको रूपमा व्याख्या गरे । उनका अनुसार, रुसले युक्रेनसँगको द्वन्द्वका लागि आवश्यक रकम जुटाउन आफ्नो छायाँ बेडामाथि भरोसा गर्ने गरेको छ र बेलायतको यो अवरोधले पुटिनको अवैध युद्धमा प्रत्यक्ष प्रहार गरेको छ ।

बेलायतले हालसम्म रुसको स्याडो फ्लीटका करिब ६०० जहाजहरूलाई प्रतिबन्ध लगाइसकेको छ र यी उपायहरू प्रभावकारी देखिएको सरकारको दाबी छ । अधिकारीहरूले गत वर्ष रुसी तेलको राजस्वमा ठूलो गिरावट आएको औंल्याउँदै मस्कोको युद्ध प्रयासलाई जीवित राख्ने समुद्री सञ्जाललाई लक्षित गर्न फ्रान्स र अमेरिका लगायतका सहयोगी राष्ट्रहरूसँगको समन्वय जारी राख्ने बताएका छन् ।