
काठमाडौं । आज सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । नेपाली बजारमा सुनको मूल्य तोलाको ३ लाख ९ हजार रुपैयाँ पुगेको छ । यसअघि आइतबार सुनको मूल्य तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य तोलामा ५ हजार २ सयले बढेको हो ।
नेपालमा सुनको मूल्य बढ्नुमा स्थानीय कारणको प्रभाव हुँदैन । अन्तर्राष्ट्रिय रुपमा सुनको भाउ बढेकाले त्यसको प्रभाव नेपाली बजारमा देखिएको व्यवसायी बताउँछन् ।
आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो बनेको छ । जसका केही कारणहरु छन् ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले युरोपदेखि क्यानडासम्मका प्रमुख सहयोगी राष्ट्रहरूसँगको सम्बन्ध खलबल्याउँदै गएको चिन्ता फैलिएसँगै लगानीकर्ताहरू सुरक्षित सम्पत्तिको रूपमा सुनतर्फ आकर्षित हुँदा सुनको मूल्य पहिलोपटक प्रतिऔंस ५ हजार डलर नाघेको छ ।
सन् २०२६ को सुरुवाती २६ दिनमा सुनको मूल्य १५ प्रतिशतले बढेको छ । यो सन् २०२५ को कीर्तिमानी वर्षपछिको वृद्धि हो ।
त्यतिबेला सुनको मूल्य ६५ प्रतिशतले आकासिएको थियो । त्यो सन् १९७९ यताकै सबैभन्दा ठूलो वार्षिक वृद्धि थियो ।
सुनलाई अक्सर अनिश्चितताको समयमा सुरक्षित आश्रय र बजारको छटपटी मापन गर्ने सूचकको रूपमा हेरिन्छ ।
ट्रम्पले बजारलाई अस्थिर बनाउने विश्वव्यापी र आन्तरिक कदमहरू चाल्नु सन् २०२६ को यो ऐतिहासिक वृद्धिको मुख्य कारण हो । यसमा ग्रीनल्यान्डलाई अमेरिकामा गाभ्ने प्रयासमा नेटो सहयोगीहरूका विरुद्ध दिइएको (तर अहिले फिर्ता लिइएको) भन्सार शुल्कको धम्की, भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्नका लागि गरिएको सैन्य कारबाही र फेडरल रिजर्भका अध्यक्ष जेरोम पावल विरुद्धको फौजदारी अनुसन्धान समावेश छन् ।
कमजोर अमेरिकी डलर अपेक्षाभन्दा उच्च मुद्रास्फीति र फेडरल रिजर्भले यस वर्ष ब्याजदर थप घटाउने पूर्वानुमानका कारण पनि सुनको माग बढेको हो ।
आइतबारसम्ममा सुनको मूल्य १.४ प्रतिशतले बढेर प्रति ट्रोय औंस ५ हजार ५८ डलर पुगेको थियो ।
अर्को सुरक्षित सम्पत्ति मानिने चाँदीको मूल्य ४.५ प्रतिशतले बढेर प्रतिऔंस १०७.८ डलर पुगेको छ । सन् २०२५ मा चाँदीको मूल्य १४१ प्रतिशतले बढेको थियो, जुन सन् १९७९ पछिको सबैभन्दा उत्कृष्ट प्रदर्शन थियो ।








प्रतिक्रिया