
काठमाडौं । पछिल्लो सात दिनमा नेपाली बजारमा सुनको मूल्य तोलामा २६ हजार रुपैयाँले बढेको छ ।
माघ ४ गते २ लाख ७७ हजार ८ सय रुपैयाँ तोलामा कारोबार भएको सुनको मूल्य आज सातौं कारोबार दिन ११ गते आइतबार ३ लाख ३ हजार ८ सय रुपैयाँ तोकिएको छ । नेपालमा बिहेबारीको सिजनमै सुनको मूल्यमा ठूलो उछाल आएको हो ।
नेपालमा सुनको मूल्य वृद्धिको कारण स्थानीय बजार भने होइन । सुनको मूल्य बढ्नुको मुख्य कारण अन्तर्राष्ट्रिय स्तरमा भएको सुनको मूल्यको वृद्धि हो ।
विश्वव्यापी आर्थिक र भू-राजनीतिक अस्थिरताका बीच सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढिरहेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ९ सय ६७ अमेरिकी डलरको बिन्दुमा पुगेसँगै अबको केही समयभित्रै यसले ५ हजार डलर पार गर्ने निश्चित देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएक छन् ।
अन्तर्राष्ट्रिय समाचार संस्था ‘इकोनोमिक टाइम्स’ र ‘गोल्डप्राइस डट ओआरजी’ का अनुसार सुनको मूल्यले पछिल्लो एक साताभित्रै आफ्नै पुराना रेकर्डहरू शृङ्खलाबद्ध रूपमा तोडेको छ ।
सन् २०२६ को जनवरी २१ मा सुन प्रतिऔंस ४ हजार ८ सय ८७ डलर १९ सेन्ट पुगेर नयाँ रेकर्ड कायम भएको थियो । तर, उक्त रेकर्डलाई चार दिन पनि टिक्न नदिई आज आइतबार मूल्य ४ हजार ९ सय ६७ डलर नाघेको हो । विश्लेषकहरूका अनुसार अबको अर्को ठूलो फड्कोमा सुन ५ हजार डलरको ऐतिहासिक उचाइमा पुग्ने देखिन्छ, जसले विश्वका लगानीकर्ताहरूलाई सुरक्षित आश्रयका रूपमा सुनतर्फ झनै आकर्षित गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको यो तीव्र वृद्धिको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्य तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ तोकिएको छ । यसअघि शुक्रबार सुनको मूल्य तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यसहिसाबमा आज सुनको मूल्य तोलामा २४ सय रुपैयाँले बढेको हो ।
सुनको मूल्य बढ्नुका ५ मुख्य कारण
२०२६ को सुरुवातदेखि सुनको अन्तर्राष्ट्रिय मूल्य उच्च स्तरमा रहेर विश्वभरि निवेशकहरूको ध्यान आकर्षित गरेको छ । वर्षौंदेखि बढ्दो मूल्यपछि सुन अझै पनि मूल्य संरक्षणको साधनर सुरक्षित लगानी को रूपमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । विभिन्न आर्थिक र भू-राजनीतिक कारकहरूले सुनको मागलाई संरचनात्मक रूपमा उच्च राखिरहेका छन्।
१. ब्याजदर अपेक्षा र मौद्रिक नीति
अमेरिका, युरोप र अन्य अर्थतन्त्रहरूले ब्याजदर कटौतीको अपेक्षा मिल्ने संकेतका कारण बचत र बन्ड लगानीहरू कम आकर्षक भएका छन् । सुनले कुनै ब्याज नदिए पनि कम/घट्दो ब्याजदरको वातावरणमा यसको माग बढिरहेको छ ।
२. केन्द्रीय बैंकहरू सुन किन्दै
विश्वभरका केन्द्रीय बैंकहरूले सुन भण्डार बढाइरहेको देखिन्छ । पोल्याण्ड, ब्राजिल र चीनजस्ता मुलुकहरूले ठूलो मात्रामा सुन थुपार्न थालेपछि बजारमा यसको माग र आपूर्तिबीचको सन्तुलन बिग्रिएर मूल्य चुलिएको हो । अमेरिकी डलरमा निर्भरता घटाउने उद्देश्यले सुन खरिदमा जोड दिएका छन् । यसले सुनको मूल्यलाई दीर्घकालीन समर्थन दिएको छ ।
३. लगानीकर्ताहरूको माग बढ्दै
निजी र संस्थागत लगानीकर्ताहरूले सुनलाई पोर्टफोलियो विविधीकरण र जोखिमबाट बच्न महत्त्वपूर्ण मानिरहेका छन् । सुनका भौतिक सिक्का, बार र गोल्ड ईटीएफको माग अझै उच्च छ।
४. भू-राजनीतिक अनिश्चितता र आर्थिक तनाव
राजनीतिक तनाव, विश्वव्यापी अस्थिरता र आर्थिक अनिश्चितताका बेला सुनलाई सुरक्षित ठाँउका रूपमा हेर्ने चलन छ । इतिहासभर सुनले संकटका बेला लगानीकर्तालाई संरक्षण दिएको छ जसले यसको मागलाई बढाएको छ । विशेषगरी अमेरिकी प्रशासनले ग्रिनल्याण्डमाथि नियन्त्रण जमाउने प्रयास र नेटो सहयोगी राष्ट्रहरूसँगको बढ्दो टकरावले विश्व बजारमा संशय पैदा गरेको छ। यसका साथै भेनेजुएला र इरानमा उत्पन्न नयाँ राजनीतिक संकटले पनि लगानीकर्ताहरूलाई डलर र सेयर बजारभन्दा सुन सुरक्षित लाग्न थालेको हो।
५.मुद्रा विविधीकरण
सुनको मूल्य प्राय: डल्लर कमजोर हुँदा बढ्ने गरेको छ । अमेरिकी डलर कमजोर बन्दा सुन अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई थप आकर्षक बन्छ । धेरै देश र लगानीकर्ताहरू मुद्रा विविधीकरण को रूपमा सुनमा रुचि देखाइरहेका छन् ।
कतिसम्म पुग्ला सुनको मूल्य?
विज्ञहरूका अनुसार यो वर्षको अन्त्यसम्म सुनको मूल्य अझै बढ्ने संकेतहरू देखिएका छन् छन् । यदि सुनले ५ हजार डलरको बिन्दुलाई पार गरेर स्थिरता कायम गर्न सक्यो भने सन् २०२६ को डिसेम्बरसम्ममा यो प्रतिऔंस ५ हजार ३ सयदेखि ६ हजार अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ ।
प्रमुख अन्तर्राष्ट्रिय आर्थिक विश्लेषक गोल्डमन साच्स ले २०२६ को अन्त्यसम्म सुनको मूल्य ५ हजार ४ सय प्रतिऔंस सम्म पुग्ने अनुमान गरेको छ । जसको कारण उनीहरूले निजी तथा विकसित हुँदै गरेका बजारका केन्द्रीय बैंकहरूले सुन भण्डार विविधीकरणका लागि किन्न जारी राख्ने सम्भावना उल्लेख गरेका छन् ।








प्रतिक्रिया