अमेरिका पठाइने दुर्लभ खनिज चीनले किन रोकिदियो ? साढे ३ अर्ब डलर नोक्सान झेल्दैछ अमेरिका



अमेरिकाले चीनविरुद्ध कडा प्रतिबन्ध लगाउन खोजिरहँदा चीनले अमेरिका निर्यात हुने वहुमूल्य धातु तथा खनिजमा कडा प्रतिबन्ध लगायो । यसले गर्दा अमेरिकालाई ३ अर्ब ४० करोड डलर नोक्सान हुनसक्ने आकलन गरिएको छ ।

एजेन्सी । चीनले केही खनिज र धातुहरु अमेरिका निर्यातमा प्रतिबन्ध लगाएको छ । जसमा ग्यालियम, जर्मेनियम र एन्टीमनी लगायत छन् ।

यी धातु तथा खनिजहरु वहुउपयोगी मानिन्छन् । सेमिकन्डक्टर उत्पादनसँगै थुप्रै सैन्य तथा प्राधोगिकी सम्बन्धी कामहरुमा यीनको उपयोग गर्न सकिन्छ ।

किन चीनले लगायो प्रतिबन्ध

अमेरिकाले यसअघि नै चीनमा हुने निर्यातमा प्रतिबन्ध लगाएपछि नै चीनले पनि यस्तो कदम चालेको हो । विशेषगरी चीनले ती धातु तथा खनिजमा प्रतिबन्ध लगाएर जवाफ दिएको बताइन्छ । र यही नै दुई देशबीचको प्रतिस्पर्धाको नयाँ उदाहरण हो । हालको प्रतिस्पर्धा प्रमुख रुपमा व्यापार, सैन्य प्राधोगिकी उत्पादन र आर्टिफिसियल इन्टेलिजेन्सको विकासमा केन्द्रित रहेको पनि बताइएको छ ।

अमेरिका-चीन व्यापार सम्बन्धका विशेषज्ञ तथा वासिङटन डिसीस्थित कानुनी फर्म एर्नोल्ड एन्ड पोर्टरका वरिष्ठ वकिल क्लेयर रिडका अनुसार चीन र अमेरिका दुबै पक्षले हाल कठोरता र रक्षात्मकता देखाउँदै छन् । तर यी दुई देशका लागि यस्तो कदम कुनै नयाँ भने नभएको बताउँछन् रिड । चीनमा व्यापक रुपमा के धारणा छ भने अमेरिकाले चीनको विकासमा अवरोध गरिरहेको छ । जवकि अमेरिकाले भने चीनलाई राष्ट्रिय सुरक्षाको मुद्दामा खास क्षेत्रमा प्रभुत्व हासिल गर्न रोकिरहेको छ ।

चीनको वाणिज्य मन्त्रालयले भने यसरी खनिज निर्यातमा नियन्त्रण गर्नुलाई आफ्नो राष्ट्रिय सुरक्षा जोगाउने उद्देश्यको रुपमा जनाएको छ । अर्कोतर्फ चीनको सेमिकन्डक्टर उद्योगविरुद्ध अमेरिकाको अभियान पनि निरन्तर जारी छ । यस्तै अमेरिकाले हालै प्रतिबन्धको तेस्रो सूची जारी गरिसकेको छ ।

अमेरिकी राष्ट्रपति जव बाइडेनले आफ्नो कार्याकाल सकिनभन्दा एक महिना पहिले नै १४० कम्पनीमाथि निर्यात नियन्त्रणको योजना ल्याएका छन् । यसमा नौरा, पोयोटेक, एसीएम रिसर्च र सिक्यारियर जस्ता चिप उद्योग कम्पनीहरु छन् ।

अमेरिकी वाणिज्य सचिव जिना रायमोन्डोका अनुसार यो अमेरिकाद्वारा लागू गरिएको अहिलेसम्मको सबैभन्दा बलियो नियन्त्रण योजना हो । जुन चीनको सबैभन्दा आधुनिक चिप्स बनाउने क्षमता कम गर्नका लागि बनाइएको थियो । र चीनले सेनालाई आधुनिक बनाउनका लागि यसको प्रयोग गरिरहेको बताइन्छ ।

चीनको प्रतिक्रिया भने खनिज र धातुहरुको निर्यात प्रतिबन्धमा मात्रै सीमित छैन । यससँगै चीनका चार मुख्य औद्योगिक संगठनहरुले अमेरिकी चिप खरिदमा कमी गर्ने भन्दै आफ्ना सदस्यहरुलाई जानकारी दिएका छन् । यी संगठनले सेमिकन्डक्टर, इन्टरनेट, कार र संचार क्षेत्र समेटेका छन् । सेमिकन्डक्टर क्षेत्रको संगठनले त अमेरिकी चिप उत्पादन अब सुरक्षित र भरोसायुक्त नहुने पनि दाबी गरेको छ ।

अमेरिकामाथि नयाँ प्रतिबन्धको कति असर

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदले भने चीनको यो नयाँ कदमको आकलन गरिरहेको जनाएको छ । अधिकारीहरुले अन्य देशहरुसँग सहयोग बढाउने महत्त्वको रेखांकन गरिरहेका छन् । जसले जरुरी आपूर्ति श्रृंखलामाथि खतरा कम गर्दै चीनवाहेकका विविधता खोजी गरेको छ ।

चीनले ग्यालियम र जर्मेनियमलाई अमेरिका निर्यातमा हालै प्रतिबन्ध लगाएको हो । तर यसको निर्यातमा प्रतिबन्ध २०२३ मा पनि लगाइएको थियो । जवकि यी ग्यालियम उच्च गुणस्तरीय सेमिकन्डक्टर, सोलार प्यानल र रडा उपकरणहरुमा उपयोगी मानिन्छ । यस्तै जर्मेनियमको प्रयोग फाइबर अप्टिकल्स र स्याटेलाइटमा हुने गर्छ ।

अमेरिकास्थित थिंक ट्यांक, रणनीतिक र अन्तर्राष्ट्रिय अध्ययन केन्द्रले भनेको छ, ‘ग्यालियम आधारित सेमिकन्डक्टर अमेरिकाको रक्षा उद्योगका लागि जरुरी छ । विशेषगरी भविष्यमा मिसाइल डिफेन्स र रडार सिस्टमका लागि यो उपयोगी हुन्छ । साथै इलेक्ट्रोनिक युद्ध र संचार उपकरणका लागि पनि ।’

सरकारी एजेन्सी युएस जियोलोजिकल सर्भेका अनुसार २०२३ मा कच्चा ग्यालियमको विश्वव्यापी आपूर्तिको ९८ प्रतिशत हिस्सा चीनले उत्पादन गर्छ । जर्मेनियमकव उत्खनन र उत्पादनको तथ्यांक हाल उपलब्ध छैन । तर यसमा पनि चीनले अधिकांश विश्वव्यापी आपूर्ति नियन्त्रण गरिरहेको छ ।

अमेरिकाले पछिल्ला दिनमा चीनबाट खनिज आयात गर्छ । यससँगै क्यानडा, जर्मनी र जापानमा पनि व्यापार गरिरहेको छ । जवकि पछिल्लो वर्ष चीनको प्रतिबन्ध सुरु भएपछि विश्व बजारमा यसको मूल्य अत्यधिक रुपमा बढिरहेको छ । नोभेम्बर २०२४ मा युएस जियोलोजिकल सर्भेले के भनेको थियो भने यदि चीनले ग्यालियम र जर्मेनियम निर्यातमा प्रतिबन्ध लगायो भने अमेरिकाको जीडीपीमा ३ अर्ब ४० करोड डलरले कमी हुनसक्छ ।

यद्यपि चीनको प्रभुत्वले मात्रै अमेरिकालाई असर पार्न भने नसक्ने विज्ञहरु बताउँछन् । अर्थात यसका बावजुद पनि अमेरिकासँग अन्य विकल्प रहेको उनीहरुको भनाइ छ । यसका लागि अमेरिकासँग रहेका विकल्पमध्ये एउटा हो अन्य उत्पादक पनि छन् । र अर्को गैरचिनियाँ उत्पादक बढाउने सम्भावना रहन्छ ।

ग्यालियम मुख्य रुपमा बोक्साइटको प्रोसेसिङको क्रममा बाइ प्रडक्टको रुपमा पाइन्छ । जुन आल्मुनियमको प्राथमिक स्रोत हो । साथै ग्यालियम उत्पादन गर्न अमेरिकाका लागि ज्यादै खर्चिलो हुने बताइन्छ । तर असम्भव भने छैन ।

प्रतिबन्ध लगाएर चीनले के पाउँछ ?

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु हुनुभन्दा एक महिना अघि नै चीनले अमेरिकाविरुद्ध उठाएको यस्तो कदमलाई लिएर धेरै चर्चा भइरहेको छ । विशेषगरी यो प्रतिबन्धले चीनलाई के लाभ हुँदैछ । अर्थात् यसबाट चीनले के लाभ लिन खोजिरहेको छ भनेर पनि धेरैले चासो राखिरहेका छन् ।

ट्रम्पले भने चिनियाँ वस्तुमा भारी मात्रामा भन्सार शुल्क लगाउने बताउँदै आएका छन् । उनले आफ्नो पहिलो कार्यकालमा पनि चीनसँग व्यापार युद्धको सुरुवात गरेका थिए । रिडका अनुसार यो कुनै एक राष्ट्रपतिको मात्रै सवाल वा निर्णयको कुरा नभएर दीर्घकालीन र व्यापक रुपमा प्रभाव पार्नसक्ने देखिन्छ ।


क्लिकमान्डु