नेपालको बजेटबराबर आईपीएलको ब्रान्ड भ्यालु, कस्तो छ एनपीएलको स्थिति ?
काठमाडौं । नेपाली खेल प्रेमीमा यतिबेला क्रिकेटको महाकूम्भ चलिरहेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट रंगशालामा इन्डियन प्रिमियर लिग (आईपीएल) को झल्को दिने गरी नेपाल प्रिमियर लिग (एनपीएल) भइरहेको छ ।
विदेशी मैदानका रोमान्चक खेल टेलिभिजनमा हेरेका नेपाली खेलप्रेमीहरु यसपटक घरेलु मैदानमै राष्ट्रिय झन्डा फहराउँदै खेलाडीलाई हौसला दिइरहेका छन् भने टेलिभिजन तथा युट्युबमा पनि स्ट्याण्डर्ड भिडियो हेरेर खेलको मजा लिइरहेका छन् ।
एनपीएलमा थुप्रै विदेशी खेलाडीहरुसहित नेपाली खेलाडीहरुले पनि लाखौं पारिश्रमिक लिएर खेलिरहेका छन् । नेपाली क्रिकेटमा पहिलो पटक यो स्तरको क्रिकेट खेल भइरहेको हो । यसले नेपालको अर्थतन्त्रमा योगदान गर्न देखिएको छ । नेपाल क्रिकेट एसोसिएसनले पहिलो पटक आयोजना गरेको एनपीएलमा १ अर्ब खर्च हुने र समग्रमा २ अर्ब रुपैयाँ बढीको आर्थिक क्रियाकलाप हुने अपेक्षा गरेको छ ।
जम्मा १ हजार ४५६ डलर प्रतिव्यक्ति आय भएको देशमा सुरुवाती वर्षमा २ अर्बको खेल गतिविधि उत्साहजनक हो । आगामी दिनमा एनपीएल विश्वस्तरीय खेल बन्ने विश्लेषण भइरहेको छ भने क्यानका सचिव पारस खड्काले एनपीएललाई विश्वको उत्कृष्ट मध्येको क्रिकेट लिग बनाउने गरि लाग्ने बताएका छन् ।
अहिले विश्वको चर्चित क्रिकेट लिगमा आईपीएल (इण्डियन प्रिमियर लिग) पर्छ । विश्वभरका खेलाडीहरु आईपीएलमा पर्नका लागि खोजिरहेका छन् । आईपीएल विश्वकै सबैभन्दा महँगो लिग हो ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले सार्वजनिक गरेको आईपीएलको ब्रान्ड भ्यालु हेर्ने हो भने धेरैलाई यसले लोभ्याउँछ । बीसीसीआईको सार्वजनिक रिपोर्ट अनुसार यस वर्ष २०२४ मा आईपीएलको ब्रान्ड भ्यालु १२ अर्ब अमेरिकी डलर (१६ खर्ब २० अर्ब ६६ करोड ६० लाख नेपाली रुपैयाँ) पुगेको छ । नेपाल सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । नेपालको वार्षिक बजेट हाराहारीमा आइपीएलको ब्राण्ड भ्यालू बनेको हो ।
जवकि गत वर्ष १० अर्ब ९० करोड डलर ब्रान्ड भ्यालु रहेकोमा यस वर्ष १३ प्रतिशतले वृद्धि भएर १२ अर्ब डलर पुगेको हो । २००९ मा २ अर्ब रहेको आईपीएलको ब्रान्ड भ्यालु १५ वर्षको अवधिमा आमूल वृद्धि भएको छ ।
आईपीएल खेल्ने चारवटा टिम चेन्नइ सुपर किंग्स, मुम्बइ इन्डियन्स, रोयल च्यालेन्जर्स र कोलकाता नाइट राइडर्सको ब्रान्डु भ्यालु अन्यको तुलनामा धेरै छ । यी चारै वटा टिममाको ब्रान्ड भ्यालु १०० मिलियन अर्थात् १० करोड डलरभन्दा बढी नै छ । जसमध्ये चेन्नइ सुपर किंग्सको सबैभन्दा धेरै ब्रान्ड भ्यालु १२ करोड २० लाख अमेरिकी डलर छ भने मुम्बई इन्डियन्सको ११ करोड ९ लाख अमेरिकी डलर छ।
यस वर्ष भने चेन्नइको ५२ प्रतिशत भ्यालु वृद्धि भएको छ भने मुम्बइको ३६ प्रतिशत ब्रान्ड भ्यालु वृद्धि भएको छ । यस्तै बेंग्लोरको ब्रान्ड भ्यालु ११ करोड ७ लाख अमेरिकी डलर छ । गत वर्षको तुलनामा बेंग्लोरको ब्रान्ड भ्यालु ३८ प्रतिशतले वृद्धि भएको हो। यसैबीच, कोलकाता र सनराइजर्स हैदराबादको समान १०९ मिलियन अमेरिकी डलर ब्रान्ड भ्यालु रहेको छ ।
आईपीएल संसारको सबैभन्दा महंगो फ्रेन्चाइज टी-२० लिग हो । यसवाहेक इंग्लिस प्रिमियर, स्पेनिस ला लिगा, बुन्डेस लिगा, सिरी ए र लिग वान फुटबलको ब्रान्ड भ्यालु पनि अत्यधिक रहेको छ ।
आईपीएलको संसारभर विज्ञापन तथा चर्चा गर्नुले पनि यो सबैभन्दा महंगो रहेको आकलन गर्न सकिन्छ । भनिन्छ, आईपीएल चलिरहँदा विश्वभर १ अर्ब ३० करोड खेलप्रेमीले हेर्छन् । दर्शकहरुको संख्या लगायतका कारण आईपीएलले विश्वभर लोकप्रिय मानिने फुटबललाई पनि उछिनेको बताइन्छ । साथै अन्य फ्रेन्चाइज लिगहरुलाई पनि आईपीएलले पछाडि पारिदिएको छ ।
समग्रमा आईपीए खेल्ने चेन्नइ सर्वाधिक धनी र सफल टिम मानिन्छ । जसले पाँच पटक त आईपीएल ट्रफी उचालेको छ । यसले जति नै मुम्बइले पनि पाँच पटक नै ट्रफी उचालेको छ । कोलकाताले भने तीन पटक उपाधि उचालेको छ ।
यसपटकको आईपीएल अक्सनका लागि विश्वभरबाट १ हजार ५ सय ७४ खेलाडीले नाम दर्ता गराएका थिए भने खेलाडीका लागि क्लबहरुले गर्ने खर्च पनि उच्च हसने गरेको छ । केही दिन अघि भएको अक्सनमा भारतीय विकेटकिपर ऋषभ पन्तलाई आईपीएलको लिलामीमा लखनऊ सुपर जाइन्ट्सले २७ करोड भारुमा अनुबन्ध गर्यो । योसँगै ऋषभ आईपीएल इतिहासमा अहिलेसम्मका सबै रेकर्ड तोड्दै सबैभन्दा महँगा खेलाडी बने । यसअघि सोही लिलामीमा श्रेयस अय्यर २६.७५ करोड भारु लिएर सबैभन्दा महँगा खेलाडी भएका थिए । उनलाई पञ्जाब किंग्सले अनुबन्ध गरेको हो ।
कसरी गर्छ बीसीसीआईले कमाइ ?
सन् २००७ बाट सुरु भएको आईपीएल अहिले भारतको एउटा खेलको उत्सव मात्रै नभएर व्यापारिक तवरले पनि ठूलो घटनामध्येमा पर्छ । यसको सञ्चालनको पूर्ण जिम्मा बीसीसीआईसँग रहेको छ ।
आईपीएलबाट बीसीसीआईले गर्ने कमाइ मुख्यतः तीन भागमा हुने गरेको छ ।
पहिलो भाग हो सेन्ट्रल पुल । सेन्ट्रल पुलमा तीन स्रोतहरुबाट कमाइ हुन्छ । यसरी भएको कमाइको विभाजन पनि तीन भागमा हुन्छ ।
मिडिया तथा प्रसारणको अनुमति, विज्ञापन र टाइटल स्पोन्सरसिपबाट यो भागमा आम्दानी हुने गर्छ । र यसरी भएको आम्दानी बीसीसीआई, फ्रेन्चाइजी र पुरस्कार राशीमा खर्च हुने गर्छ ।
आईपीएलको कमाइको दोस्रो भाग भनेको फ्रेन्चाइजी हो । यसमा पनि तीन क्षेत्रबाट कमाइ हुन्छ । टिकटकको बिक्री, स्पोन्सरसिप र मचेन्डाइजको बिक्रीबाट हुने आम्दानी यो भागमा पर्छ । यसरी हुने आम्दानीको ८० प्रतिशत हिस्सा फ्रेन्चाइजीका लागि जान्छ भने बाँकी रकम बीसीसीआईलाई प्राप्त हुन्छ ।
आईपीएलको आम्दानीको तेस्रो भाग हो फ्रेन्चाइजीका लागि तिरिने शुल्क । आईपीएलमा खेल्न आउने हरेक टिम ‘ओनर अक्सन’बाट तय हुन्छ । सबैभन्दा धेरै रकमको बोली लगाउने टिमलाई नै फ्रेन्चाइजी वितरण गरिन्छ । यो भागबाट हुने कमाइको पुरा रकम बीसीसीआईलाई नै प्राप्त हुन्छ ।
आईपीएलमा सबैभन्दा धेरै रकम मिडिया अनुमतिको बिक्री तथा प्रसारण अनुमतिबाट हुने गर्छ । आईपीएलका खेलहरुको प्रत्यक्ष प्रसारण गर्ने अनुमतिदेखि हाइलाइट्सजस्ता कुराहरु पनि तीनै कम्पनीले देखाउन पाउँछन्, जोसँग बीसीसीआईले सम्झौता गरेको हुन्छ । लिलामी प्रक्रियाबाट गरिने प्रसारण अनुमतिको बिक्रीका लागि विभिन्न कम्पनी तथा व्यापारिक घरानाहरुले करोडौं रुपैयाँ लगानी गर्छन् ।
२००८ मा आईपीएलको पहिलो सिजनको खेल प्रसारणका लागि सोनी इन्टरटेनमेन्टसँग सम्झौता भएको थियो । सोनीले १० वर्षका लागि प्रसारण अनुमति किनेको थियो । त्यो बेला ८ हजार २ सय करोड भारतीय रुपैयाँमा यो अनुमति बिक्री भएको थियो।
२०१८ देखि २०२२ सम्म स्टार स्पोटर्सले यो अनुमति पायो । यसका लागि स्टार स्पोटर्सले १६ हजार ३४७ करोडमा प्रसारण अनुमति किनेको थियो ।
२०२३ देखि २०२७ सम्मका लागि भने स्टार स्पोटर्स र जियो सिनेमाले संयुक्त रुपमा प्रसारण अनुमति पाएको छ । यसका लागि बीसीसीआईलाई यी कम्पनीहरुले ४८ हजार ३९० करोड भारतीय रुपैयाँ तिरेका थिए ।
एनपीएलको अवस्था
सीमित स्रोतसाधनका बावजुद एनपीएलले अपेक्षाकृत उपलब्धि हासिल गर्ने आकलन गर्न सकिन्छ । जहाँ प्रभावशाली विदेशी खेलाडीहरुसहित ८ वटा टोली सहभागी छन् । खेलाडीको रोमान्चक प्रतिस्पर्धाले खेलप्रेमीलाई उत्साही त बनाएको छ नै, यसले नयाँ खेलाडीसँगै दर्शकहरु उत्पादन गर्ने विश्वास गर्न सकिन्छ ।
त्यसो त यसअघि भएका एभरेस्ट प्रिमियर लिग, पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिग आयोजना भएका थिए । तर ती लिगभन्दा एनपीएल धेरै अर्थमा ऐतिहासिक बनेको छ । ती लिगहरुमा ६ टिम मात्रै सहभागी थिए भने यसपटक क्यानले ८ वटा फ्रेन्चाइजी टोलीलाई १६ करोड ८८ लाख ९३ हजार रुपैयाँमा अक्सनमार्फत् लियो ।
जसमध्ये सबैभन्दा उच्च दर ३ करोड ५७ लाखमा पोखरा एभेन्जर्सलाई लिएको थियो भने काठमान्डौंको कान्तिपुर प्रकाशनको टिम काठमाडौं गुर्खाजलाई ३ करोड ३३ लाख ३३ हजार तिरेको छ । यसैगरी कर्णाली याक्सको मूल्य सबैभन्दा थोरै १ करोड ११ लाख ७० हजार रुपैयाँमा हिमालयन बिल्डर्सले किनेको हो ।