कार्यभार सम्हाल्दै सन्तोषनारायणले भनेः नयाँ स्टकमा सरकारको सहयोग लिएर अघि बढ्छु
काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्स्चेन्जका विषयमा सरकारको सहयोग लिएर अघि बढ्ने बताएका छन् ।
बुधबार बोर्डमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले नयाँ स्कटको धेरै काम अघि बढेको अवगत आफूले पाएको बताउँदै त्यसमा सरकारको सहयोग लिएर अघि बढ्ने दाबी गरेका हुन् ।
उनले लामो समयदेखि रोकिएको आईपीओ समयमा नै आउन थाल्ने पनि बताए । बाँकी काम सम्बन्धित बोर्डका महाशाखासँग मिलेर गर्ने घोषणा गरे । उनले आफ्नो यही कार्यकालमा सेबोन आफ्नै भवनमा सर्ने पनि दाबी गरे । सेबोनको कार्यालय आफ्नै भवनमा सार्ने काम आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए ।
उनले सेबोनमा नेतृत्व नभएको समयमा रोकिएका सबै काम पुरा गर्ने, पुँजीबजारको दायरा बिस्तार गर्न आफुले काम गर्ने बताए ।
अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा लगानिकर्ताको हितमा काम गर्ने, देशको अर्थतन्त्रमा योगदान दिने गरि बजारको विकास गर्ने बताए ।