पाककला नभएका गुरूप्रसाद पौडेल घरमा एक्लै बस्नु परेको दिन के पकाएर खालान् ?



काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई पहिला मिठो खाना भन्नेवित्तीकै मासु वा अचार लगायत जिब्रोमा ट्वाक्क स्वाद आउने परिकार मान्थे । उतिबेला दशैं भन्ने वित्तीकै पौडेललाई सेलरोटी खान पाइन्छ भन्ने हुन्थ्यो ।

अहिले परिवेश फेरिएको छ । सन्तुलित खानपान र स्वस्थ रहनसहनका अपनाउने पौडेललाई अचेल चिल्लो, पिरो, मसला कम भएको खाना स्वादिष्ट लाग्छ । यति भन्दै गर्दा पौडेललाई मासु मन नपर्ने भने होइन, तर मासु भनेर हुरुक्कै पनि हुँदैनन् उनी ।

आफैं किचेनमा पसेर पकाउनुहुन्छ कि हुँदैन ? भन्ने प्रश्नमा उनको सीधा जवाफ छ, ‘पकाउन नजानेका कारण घरमा गाली खान्छु । पकाउन सहयोग नगरे पनि काटकुट, सरसफाइ र किनमेलमा चाहीँ सघाउँछु ।’

शौख नरहेकाले उनी पकाउनेमा खासै अग्रसर भएनन् । ०४५ सालमा एसएलसी दिएर पोखरा आउँदा पकाउन जान्ने साथीसँग बसेका थिए उनी । ‘बरु म भाँडा माझ्थें तर पकाउन अघि सरिनँ,’ उनले सम्झना गरे ।

एकपल्ट रुममेट घर गएका बेला खाना आफैं बनाउनु परे पछि उनलाई फसाद पर्‍यो । तरकारी बनाउन खोजका थिए, तर तरकारी नै भएनछ । त्यतिबेला घर सम्झेर रून मन लागेको पौडेल सुनाउँछन् ।

उनलाई घरमा श्रीमतीले पकाएको मिठो लाग्छ । स्थानीय विशेषका दाल जस्तै गोरखाको मास र जुम्लाको सिमी र बोडी मन पर्छ । ‘अहिले उनले बनाएपछि मिठो भइहाल्छ,’ पौडेलले श्रीमतीको पाककला सम्झिए ।

पौडेललाई सामान्य खाना रुची लागे पनि उनका छोराहरु बढी रेस्टुरेन्टको खाना मन पराउँछन् । उनीहरुको कुरा सुन्दिनुपर्छ भनेर कहिलेकाहीँ बाहिर खान्छन् पनि । अचेल अनलाइनले गर्दा अर्डर गरेर घरमै मगाउन थालेका छन् ।

पौडेलाई औसत, उनकी श्रीमतीलाई शाकाहारी र छोराहरुलाई मांशाहारी खाना मन पर्छ । छोराहरू सोहीअनुसार छनोट गरेर अर्डर गर्छन्, पिज्जा, बर्गर मगाउँछन् ।

विदेश जाँदा पौडेल खोजीखोजी नेपाल खाना खाँदैनन्, सकेसम्म स्थानीय खाना नै खाउँ भन्ने हुन्छ ।

हालै मध्ये अमेरिकी देश एलसाल्भाडोर पुगेको र त्यहाँको अनुभुती सेयर गर्दै पौडेलले भने, ‘त्यहाँ पाँचतारे होटलमा पनि स्थानीय खाना र मदिरा उपलब्ध थियो । मकै र आलुका अनेक परिकार देखेर म रोमाञ्चित भइरहेको थिएँ ।’

विदेश लामो समय बस्दा त्यहीँको खाना भए पनि केही समयपछि जिब्रोले दालभात नै माग्ने गरेको उनको अनुभुति छ ।

कुनै कुनै देशमा त मिठो होला भनेर पस्किएको तर खानै नसक्ने स्वाद पाएको तीतो अनुभव पनि छ उनको ।

खानमा रुची राख्ने तर पकाउनमा खासै चाहा नभएका पौडेल घरमा एक्लै भए के गर्छे होलान् त ? यो प्रश्न गर्दा उनले जवाफ दिए, ‘भोकै सुत्दिनँ, दाल तरकारी चामल एकै कुकरमा राखेर खिचडी बनाउथें होला ।’

दक्षिणाको कुरा गर्दा पौडेलले बाल्यकाल सम्झिए । सानो हुँदा दक्षिणाले महत्व राख्थ्यो, अहिले नलिन पाए पनि हुन्थ्यो जस्तो लाग्छ उनलाई । पोखरा बस्दाखेरीको दक्षिणाले राम्रै भरथेग हुन्थ्यो उनलाई ।

तर, आफूले भनेको हुने भए दक्षिणाको स्ट्यान्डर्ड नै तोक्ने सोच उनले सुनाए । ‘दक्षिणा यस्तो कुरा हो, लिनेलाई खासै रकम पाएको महसुस हुँदैन, दिनेलाई अत्यधिक आर्थिक भार परेको हुन सक्छ,’ पौडेलले भने, ‘मैले भनेर हुने भए स्ट्यान्डर्ड दर तोक्थें होला । मानौं ५१ रुपैयाँ वा १०१ रुपैयाँ ।’

पौडेलले आफू राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागमा हुँदा डिजिटल दक्षिणा जस्ता प्रोडक्ट ल्याउन सेवा प्रदायकलाई अनुरोध गरेका पनि थिए । सो विगत सम्झँदै उनी भन्छन्, ‘मलाई लाग्छ एकदिन सबै दक्षिणा डिजिटल हुनेछन् ।’ सोही सोचअनुसार अहिले घरमा आवश्यकताअनुसार र मिलेसम्म डिजिटल दक्षिणा दिने गरेका छन् पौडेलले ।

प्रस्तुत छ, उनै गुरूप्रसाद पौडेलसँग क्लिकमान्डुका रोविन पौडेलले खाना र दशैं सम्झनाका विषयमा गरेको संवादः


रोविन पौडेल