अमेरिकाको शक्तिशाली सेनाले किन खुलाउन सकेन हर्मुज जलयोजक ?

490
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले हालै विश्वभरिका राष्ट्रहरूलाई हर्मुज जलयोजक नियन्त्रणमा लिन युद्धपोतहरू पठाउन आग्रह गरेका छन् ।

बढ्दो विश्वव्यापी तेलको मूल्यका बीच इरानको नाकाबन्दी तोड्नु सामूहिक कर्तव्य भएको उनले घोषणा गरेका छन् ।

मार्च १३ मा बोल्दै ट्रम्पले आफ्नो सुन्दर आर्माडा (युद्धपोतको लस्कर) लाई बलियो बनाउन बेलायत, फ्रान्स, जापान र चीन जस्ता सहयोगीहरूबाट सहयोगको आह्वान गरेका थिए । तर, यसमा प्राप्त प्रतिक्रिया भने निकै फितलो रह्यो ।

यस आह्वानले के प्रस्ट पारेको छ भने विश्वको सबैभन्दा शक्तिशाली जलसेनाले पनि विश्वको यो सबैभन्दा महत्त्वपूर्ण चोकपोइन्ट (साँघुरो मार्ग) मा स्थायी प्रभुत्व जमाउन सक्दैन ।

हर्मुज जलयोजकले विश्वव्यापी तेल व्यापारको २० देखि ३० प्रतिशत हिस्सा इरानी नियन्त्रणमा रहेको उत्तरी तट र ओमानी दक्षिणी भागको बीचबाट ओसार्छ ।

यो जलयोजक सबैभन्दा साँघुरो ठाउँमा मात्र ३४ किलोमिटर चौडा छ जहाँ जहाज हिँड्ने मार्ग दुवैतर्फ मात्र ४–४ किलोमिटर चौडा छ । यसले गर्दा निरन्तरको खतराका विरुद्ध यहाँ रक्षात्मक घेरा बनाउन असम्भव जस्तै हुन्छ ।

अमेरिकी विमानवाहक समूहहरू जसमा एफ–३५ स्क्वाड्रन भएका विशाल निमिट्ज–क्लास जहाजहरू छन् यस्तो साँघुरो पानीमा संघर्ष गरिरहेका छन् जहाँ जहाज घुमाउनका लागि धेरै किलोमिटरको अर्धव्यास आवश्यक पर्छ ।

इरानको अग्लो भूभागले ट्रकमा राखिएका ३०० किलोमिटर मारक क्षमता भएका खलिज फार्स ब्यालिस्टिक मिसाइलहरू मार्फत प्रहार गर्न सजिलो बनाउँछ जसको गति अमेरिकी जलसैनिक तोप र विमानवाहक जहाजबाट उड्ने विमानको गतिभन्दा पनि बढी हुन्छ ।

समुद्री माइनहरू अझै पनि सबैभन्दा कम लागतको प्रभावकारी हतियार हुन् । इरानले हजारौंको संख्यामा यस्ता माइनहरू भण्डारण गरेको छ जसलाई आईआरसीजीका तीव्र गतिका डुंगाहरू वा गदिर पनडुब्बीहरूले कम गहिराइमा बिछ्याउन सक्छन् ।

सन् १९८८ को अर्नस्ट विल ट्यांकर सुरक्षा अपरेसन जस्ता विगतका अमेरिकी प्रयासहरूले आंशिक प्रवाह त कायम राखे तर पूर्ण नियन्त्रण कहिल्यै पाउन सकेनन् । ट्रम्पको जनवरी २०२६ को यो आर्माडा तैनाथीले पुरानै ढाँचा दोहोर्याइरहेको छ । अर्थात्, जलयोजकको प्राकृतिक भौगोलिक अवरोधलाई जित्न नसकी शक्ति प्रदर्शन मात्र गरिरहेको छ ।

जलयोजकमा पूर्ण नियन्त्रणका लागि इरानको १६ सय माइल लामो तटवर्ती क्षेत्रमा हवाई प्रभुत्व आवश्यक हुन्छ जुन क्षेत्रीय आधार बिना असम्भव छ ।

इरानको सेना कमजोर हुनुको साटो हर्मुजका लागि विशेष रूपमा तयार गरिएको एन्टी–एक्सेस÷एरिया–डिनायल सञ्जालले सुसज्जित छ ।

तटीय गुफाहरूमा लुकाइएका मोबाइल लोन्चरहरूबाट ३ हजारभन्दा बढी एन्टी–शिप क्रुज मिसाइलहरू (नुर, कादेर भेरियन्ट) र हर्मुज–१ जस्ता ब्यालिस्टिक प्रणालीहरूले ठूला ट्यांकर वा मूल्यवान विमानवाहक जहाजहरूलाई निशाना बनाउन सक्छन् ।

हजारौंको संख्यामा रहेका शाहेद–१३६ ड्रोनहरूले अमेरिकी एजिस रेडार रक्षा प्रणालीलाई नै ओझेलमा पार्न सक्छन् ।

आईआरजीसी जलसेनाका २० हजारभन्दा बढी साना र तीव्र गतिका डुंगाहरूले अरिंगालको गोलो जस्तै आक्रमण गर्ने रणनीति अपनाउँछन् । सन् २००२ को मिलेनियम च्यालेन्ज युद्ध–अभ्यासमा पनि इरानी शैलीको नक्कली सेनाले अमेरिकी ब्याटल ग्रुपलाई ध्वस्त पारेको पुष्टि भएको थियो ।

६ वटा किलो–क्लास पनडुब्बी र कैयौं साना पनडुब्बीहरू खाडीको धमिलो पानीमा लुकेर बस्छन् । भर्खरैका घटनाहरूले यो पुष्टि गर्छन् । खार्ग टापुमा अमेरिकी आक्रमणका बावजुद मार्च १४ मा कुनै पनि ट्यांकरहरू स्वतन्त्र रूपमा चल्न सकेनन् ।

इरानसँग ६ हजारसम्म समुद्री माइनहरू, विस्फोटक ड्रोनहरू र तटीय मिसाइलहरू छन् जसले अमेरिकी प्रहारपछि पनि आफ्नो शक्ति प्रदर्शन गरिरहेका छन् ।

दैनिक ६० भन्दा बढी तेल ट्यांकरहरूलाई सुरक्षा दिनका लागि चौबीसै घण्टा गस्ती आवश्यक हुन्छ जसले पहिले नै इन्डो–प्यासिफिक र युरोपमा फैलिएको अमेरिकी जलसेनाका २९० जहाजहरूलाई अझ दबाब दिन्छ ।

आपूर्ति व्यवस्था बहराइनमा रहेको फिफ्थ फ्लीट जस्ता जोखिमपूर्ण आधारहरूमा निर्भर छ जुन आफैं इरानी मिसाइलको पहुँचमा छ । ट्रम्पको बहुराष्ट्रिय आह्वानले कुनै ठोस प्रतिबद्धता पाउन सकेको छैन । साउदी अरब र यूएई जस्ता खाडी सहयोगीहरू आफ्ना ऊर्जा केन्द्रहरूमा पुनः आक्रमण हुने डरले पछि हटेका छन् ।

इरानी तेलमा धेरै निर्भर रहेका जापान र युरोपले ऊर्जा संकटका बीच कूटनीतिलाई प्राथमिकता दिएका छन् । ईयूकी विदेश नीति प्रमुख काया क्लासले भनिन्, ‘कोही पनि आफ्ना मानिसलाई जोखिममा राख्न तयार छैनन् । हामीले खाद्य संकट र ऊर्जा संकट रोक्न कूटनीतिक बाटो खोज्नुपर्छ ।’

ट्रम्पको सुन्दर आर्माडामा ६० भन्दा बढी लडाकु विमान भएको यूएसएस अब्राहम लिंकन विमानवाहक जहाज, दुईवटा डिस्ट्रोयर र दुईवटा क्रुजरहरू छन् । यसमा भर्जिनिया–क्लासका पनडुब्बी र माइनहरू हटाउने जहाजहरू पनि छन् ।

यति ठूलो शक्ति, ९० भन्दा बढी विमान र ५०० भन्दा बढी मिसाइलहरू, भए पनि हर्मुजको कठोर वास्तविकताका अगाडि यो कमजोर छ । विमानवाहक जहाजहरूलाई घुम्न ४–६ किलोमिटरको ठाउँ चाहिन्छ जसले गर्दा यो गोप्य ठाउँबाट प्रहार गरिने मिसाइलहरूको निशानामा पर्ने जोखिम रहन्छ ।

इरानी नुर क्रुज मिसाइलहरू समुद्रको सतहबाट निकै कम उचाइमा उड्छन् जसलाई रेडारले ठम्याउन गाह्रो हुन्छ । भर्जिनिया–क्लासका पनडुब्बीहरू गहिरो समुद्रका लागि उत्कृष्ट हुन् तर हर्मुजको १०० फिट मात्र गहिरो पानीमा इरानका साना र शान्त किलो र गदिर पनडुब्बीहरूले सजिलै धराप थाप्न सक्छन् ।

३ हजारभन्दा बढी इरानी मिसाइल र ड्रोनहरूको बथानका अगाडि अमेरिकी जहाजहरूका हतियारहरू छिट्टै सकिन सक्छन् ।

दैनिक ६० ट्यांकरहरूलाई सुरक्षा दिन प्रति साता १० हजार टन इन्धन खर्च हुन्छ जसको आपूर्ति केन्द्र बहराइन आफैं असुरक्षित छ ।