त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान अवतरणमा रेकर्ड, एकैदिन ४२६ उडान



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान तथा अवतरणमा ‘रेकर्ड ब्रेक’ हुने भएको छ ।

खराब मौसमका कारण पछिल्लो तीन दिनदेखि अवरोध भएको आन्तरिक र अन्तर्राष्ट्रिय उडानको चापका कारण आइतबार एकैदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२६ उडान तथा अवतरण तय भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थका प्रवक्ता रिन्जी शेर्पाकाअनुसार आइतबारका लागि आन्तरिकतर्फ १५६ वटा उडान र सोही नै संख्यामा अवतरण हुने तालिका तय छ ।

हालसम्म तय भएका उडान र अवतरण गरेरै आन्तरिकमा ३१२ वटा उडान तालिका छन् भने अन्तर्राष्ट्रियमा पनि ५७ वटा उडान र ५८ वटा अवतरणको तालिका रहेको उनले क्लिकमान्डुलाई जानकारी दिए ।

अविरल वर्षाका कारण खराब मौसम हुँदा पछिल्लो तीन दिनदेखि हुन नसकेको र रोकिएका उडानका कारण आइततबार उडानमा चाप परेको शेर्पाले बताए।

आजका लागि तय भएका उडान केही ढिलो गरेर भए पनि भइरहेको शेर्पाले जानकारी दिए । उनका अनुसार उडान चाप धेरै भएको विमानस्थल कार्यालयलाई व्यवस्थापन मिलाउन कठिन भइरहेको छ । यात्रु र उडानको चापलाई व्यवस्थापन गर्न अवेर रातिसम्म पनि विमानस्थल खुला गरेर आजका लागि तय भएका सबै उडान गराउने शेर्पाले जानकारी दिए।

‘तय भएका सबै तालिकाको उडान भए हालसम्मकै धेरै उडान एकै दिन हुने छ,’ शेर्पाले क्लिकमान्डुसँग भने, ‘त्यसका लागि आज रातिसम्मको उडान के कति हुन्छ हेर्नुपर्छ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार यसअघि गत वर्ष २०८० को कात्तिकमा सबैभन्दा बढी उडान भएको रेकर्ड छ ।

गत वर्ष दशैंको बेला आन्तरिकमा २७० र अन्तर्राष्ट्रियमा ११० वटा उडान भएको थियो ।

लगातारको अविरल वर्षाका कारण देशभरका अधिकांश सडक सञ्जालमा क्षति पुगेको छ । काठमाडौंबाट बाहिरिने र भित्रिने नाकाहरु सञ्चालनमा आउन सकेका छैनन् भने अन्य क्षेत्रका सडकहरुमा पनि क्षति पुगेपछि हवाई सेवामा चाप बढेको छ । त्यसमा पनि दशैं नजिकिएसँगै विमानस्थलमा स्वभाविक रुपमा चाप बढ्ने गर्छ । सडक मार्ग अवरुद्ध हुनु र केही दिनयता नियमित उडान प्रभावित हुँदा आइतबार विमानस्थलमा अत्यधिक चाप देखिएको हो ।


क्लिकमान्डु