विवेक बन्धकी राखेर रवि लामिछानेको हनुमान बन्ने प्रयासमा स्वर्णिम वाग्ले !



काठमाडौं । ‘अहिले मनरो डक्ट्रिन बारे खुब गुगल गरेर रातारात विज्ञहरु निस्किराखेका छन् । मनरो डक्ट्रिन उच्चारणै गर्न नसक्नेहरु पनि रातारात विज्ञ भएको मैले देखिराखेको छु,’ साउन १५ गते प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहेका सांसद स्वर्णिम वाग्लेले भनेका थिए- ‘हामीहरु (राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद) विदेशमा पढेका, अनुभव हाँसिल गरेका साथीहरु छौं । हामीलाई भ्रष्टाचारको आरोप लगाउने ठाँउ छैन । त्यसैले अनावश्यक लाञ्छाना लगाइएको छ।’

२०८० फागुन २९ गते पार्टीको कार्यक्रममा वाग्लेले ‘साउथ एसियन मनरो डक्ट्रिन’ का विषयमा दिएको भाषणका आधारमा नेकपा एमालेका सांसद रघुजी पन्त तथा नेपाली कांग्रेसका सांसद इश्वरी न्यौपानेले संसदमा प्रश्न उठाएका थिए ।

उक्त प्रश्नको जवाफ दिने क्रममा वाग्लेले मनरो डक्ट्रिन उच्चारणको विषय उठाएका थिए । आफूहरु विदेश पढेकाले अंग्रेजी भाषा जान्ने तथा अन्य सांसदहरु अंग्रेजी उच्चारण समेत गर्न नसक्ने उनको आशय थियो ।

उक्त प्रसंगको विस्तृत जानकारी अनलाइनखबरको यो समाचारमा छ ।

आफूमाथि उठेका प्रश्नको जवाफ दिँदा बीच-बीचमा अंग्रेजी मिसाउँदै बोलेका वाग्लेले मनरो डक्ट्रिन उच्चारणै गर्न नसक्नेहरु पनि रातारात विज्ञ भएको भन्दै सांसदहरुकै खिसिट्युरी गर्न भ्याए।

अंग्रेजी नजान्ने व्यक्तिहरुसँग अंग्रेजीमा लेखिएको विषय बुझ्ने क्षमता नै हुँदैन भन्ने आशयले प्रस्तुत भएका वाग्लेमाथि मंगलबार विहान राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलले नाम नलिइ कटाक्ष गरेका छन् ।

‘बोर्डिङ र विदेश मात्र पढेका साथीहरुको नेपाली लेखपढ कमजोर छ भन्ने त थाहा थियो, तर रिपोर्ट पढ्दा ‘कारबाही सिफारिश’ भनेर लेखेकोलाई ‘उन्मुक्ति दिएको’ भनेर बुझ्लान् भन्ने चाहीँ थिएन,’ पौडेलले लेखेका छन् ।

सिधा पढ्दा पौडेलले कसलाई के भन्न खोजेका हुन् भन्ने बुझिँदैन।

तर, बूढानीलकण्ठ स्कुलबाट एसएलसी पास गरेका स्वर्णिम वाग्लेलाई लक्षित पौडेलले पोष्ट गरेको अनुमान गर्न सकिन्छ ।

सहकारीको बचत ठगी प्रकरणमा गत जेठ १५ गते गठन भएको संसदीय छानबिन समितिले सोमबार दिँउसो प्रतिनिधि सभाको बैठकमा प्रतिवेदन पेस गरेको थियो ।

उक्त प्रतिवेदनको परिच्छेद १८ मा सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमति तबरबाट गोरखा मिडिया नेटवर्कमा आएपछि खर्च गर्ने र गराउने प्रकृयामा संलग्न रहेको भन्दै गोरखा मिडियाका अध्यक्ष गितेन्द्रबाबु राई, प्रबन्ध निर्देशक रवि लामिछाने, सदस्यहरु कुमार रम्तेल र छविलाल जोशीलाई कानून बमोजिम कारबाहीको दायरामा ल्याउन सिफारिस गरिएको उल्लेख छ ।

तर, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले संसद भवन बाहिर नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य रहेका सूर्य थापा नेतृत्वमा सहकारी प्रकरणको अनुसन्धान गर्न गठन भएको संसदीय छानबिन समितिले लामिछानेलाई सफाइ दिएको धारणा राखे ।

नेपाली भाषामा प्रष्टसँग कानुनअनुसार कारबाही गर्न सिफारिस गरिन्छ भन्ने व्यहोरा उल्लेख हुँदा समेत छानबिन समितिले क्लिन चिट दिएको वाग्लेको धारणालाई गंगालाल अस्पतालका डाक्टर रामेश कोइरालाले पनि नाम नलिई व्यंग्य गरेका छन् ।

‘त्यो ‘क्लिन चिट’ भनेको ‘चलाखीपूर्ण ठगी’ हैन भने मैले बूढानीलकण्ठ स्कुल तथा एमआईटी वा हार्बर्डमा पढ्ने सौभाग्य नपाए पनि यति चैँ जान्दछु कि मोटरसाइकल चोरीको मुद्दामा चोर्ने मात्र हैन चोरीको बाइक किन्नेलाई समेत ‘चोरी’कै मुद्दामा कारबाही गरिन्छ न कि निर्दोष भनी ‘क्लिन चिट’ दिइन्छ,’ कोइरालाले समाजिक सञ्जाल एक्समा लेखेका छन् ।

अमेरिकाबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर तथा अष्ट्रेलियाबाट अर्थशास्त्रमा पीएचडी गरेका वाग्लेले संसदीय छानबिन समितिले प्रष्टरुपमा कारबाहीको दायरामा ल्याउनु पर्ने गरी लेखेको विषयलाई समेत ‘क्लिन चिट’ दिएको भन्दै गलत अर्थ लगाएका हुन् ।

रवि लामिछानेप्रति स्वर्णिमको यो प्रकारको भक्तिभावको ‘हनुमानगिरी’ पहिलोपटक मात्रै देखिएको भने होइन ।

२०७९ चैत २० गते चितवनमा निर्वाचन प्रचार गर्ने क्रममा वाग्लेले नेपाली कांग्रेसमा विकृत अभ्यास रहेको बताउँदै अहिले रवि लामिछानेसँग २०१५ सालमा विपी कोइरालामा भएको जस्तो हुटहुटी भएको बताएका थिए ।

‘नेपाली कांग्रेसमा म अट्न सकिनँ । त्यहाँ जुन किसिमले विकृत अभ्यास भइराखेको त्यो असाध्यै नराम्रो छ । त्यो (कांग्रेस) अब विपी कोइरालाको कांग्रेस रहेन,’ वाग्ले मेचीकाली खबरसँगको अन्तर्वार्तामा भनेका थिए,- ‘वास्तवमा तुलना गर्ने हो भने, रविजी, यो (राष्ट्रिय स्वतन्त्र पार्टी) १५ सालको विपी कोइरालाले नेतृत्व गरेको त्यो भिजन भएको, ऊर्जा भएको, एउटा आदर्श बोकेको यो देशलाई एउटा निश्चित समय सीमाभित्र यहाँ पुर्‍याउँछु भन्ने हुटहुटीका साथ, त्यो तपाईंको नेतृत्वमा, त्यो ऊर्जा र भिजन देखिराख्याछ, तुलना गर्न मिल्छ ।’

रवि लामिछानेलाई ऊर्जा र स्पिरिट, देश बनाउनु पर्छ भन्ने हुटहुटी, एम्बिसन, भिजन महत्वाकांक्षा र देशलाई यहाँ पुर्‍याउँछु भन्ने मिसनमा विपी कोइरालासँग तुलना गर्न सकिने वाग्लेले धारणा राखेका थिए ।

राणा शासनविरुद्ध प्रजातन्त्र स्थापनाका लागि लड्ने नेतासँग विवादित पृष्ठभूमिको विगत भएका लामिछानेसँग तुलना गरेको भन्दै नेपाली कांग्रेसका समर्थक मात्रै नभई आम जनताले उक्त भनाइको बिरोध गरेका थिए ।

यस्तै, गत फागुनमा रविले उपप्रधान तथा गृहमन्त्रालयको जिम्मेवारी सम्हालेपछि पनि वाग्ले लामिछानेप्रति निकै अनुग्रहीत सुनिएका थिए ।

‘देशकै उपप्रधान तथा गृहमन्त्रीभन्दा पनि क्या स्वादै आउने,’ वाग्लेले भनेका थिए ।

संसदीय छानबिन समितिले लामिछानेलाई सहकारीको पैसा दुरुपयोग गरेकोमा मात्रै दोषी देखाएको छैन, लामिछानेले गोरखा मिडिया प्रालिको स्वामित्व परिवर्तन गर्दासमेत गलत कागजात प्रयोग गरेको भन्दै छानबिन गर्नु पर्ने सुझाव दिएको छ ।

गोरखा मिडिया नेटवर्ककको सेयर खरिदबिक्री गर्दा किर्ते कागजात प्रयोग भएको हुन सक्ने आशंका गर्दै छानबिन गर्न सिफारिस गरिएको छ।

गोरखा मिडियाको १५ प्रतिशत सेयर लामिछानेको नाममा ल्याउँदा तथा लामिछानेको नामबाट जीबी राईको नाममा लैजाँदा किर्ते कागजात प्रयोग गरिएको ठहर समितिको छ ।

कम्पनी ऐनको दफा १६० (क) मा कम्पनीको कुनै सञ्चालक वा पदाधिकारीले कम्पनीको कुनै कागजपत्रमा बदनियत वा द्वेषपूर्ण लापरवाहीसाथ कुनै झुटा कुरा उल्लेख गरी कम्पनी वा कुनै व्यक्तिलाई हानी नोक्सानी पुर्‍याएको भए त्यस्तो सञ्चालक वा पदाधिकारीलाई ५० हजार रुपैयाँसम्म जरिवाना वा २ वर्षसम्मम कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

सरकारले सेयर नामसारीमा प्रयोग भएका कागजातको विषयमा छानबिन गरेमा रविमाथि २ वर्ष कैद सजायसम्म हुने सम्भावना छ।

उपप्रधान तथा गृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेले जेठ ६ गते प्रतिनिधि सभाको बैठकमा ग्यालेक्सी टिभी सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कमा आफूले स्वेट (पसिना र श्रम वापत) सेयर लिएको बताएका थिए ।

‘म टेलिभिजनमा काम गर्ने हुटहुटी भएको मान्छे, टेलिभिजन खोल्ने प्रस्ताव आयो । मैले स्वेट सेयरको रुपमा (आफूले लगानी नगरेको होइन ) स्वेट सेयरको रुपमा आफ्नो सेवा सुविधा सहित त्यस (ग्यालेक्सी टिभी) मा काम गर्ने निधो गरेँ,’ लामिछानेले संसद बैठकमा भनेका थिए- ‘त्यो मैले प्राप्त गरेको वा लिएको पैसा होइन । काम गरे छोडेर गए । स्वेट सेयरका रुपमा रहेकाले त्यो पनि लिएर गइनँ, छोडेरै गएँ । त्यसको सार्वजनिकीकरण कार्यक्रम सुरु हुँदाको पहिलो श्रृंखला र अन्तिम श्रृखलामा आम जनतासमक्ष प्रस्तुत गरेको थिएँ । भएको यत्ति नै हो ।’

लामिछानेले गोरखा मिडिया नेटवर्कमा आफूले श्रम गरे वापत सेयर प्राप्त गरेको प्रतिनिधि सभालाई जानकारी गराएका थिए ।
तर, क्लिकमान्डुले गरेको अध्ययनबाट लामिछानेले ‘स्वेट’ सेयर नभई गोर्खा मिडिया नेटवर्कको खातामा बुटवलको सुप्रिम सहकारीबाट ऋण लिँदै पैसा जम्मा गर्न लगाएर सेयर प्राप्त गरेको भेटिएको थियो ।

लामिछानेले आफैंले सुरुमा गोर्खा मिडिया नेटवर्कको सञ्चालक समितिलाई १ लाख ८० हजार कित्ता सेयर खरिद गर्न चाहेको जानकारी गराउँदै पत्राचार गरेका थिए ।

‘उपरोक्त सम्बन्धमा यस (गोर्खा मिडिया नेटवर्क) प्रालिको सेयरहरु बिक्रीमा छन् भन्ने जानकारी आएको र मेरो पनि यस प्रालिमा १८०,००० थान सेयरमा लगानी गर्ने इच्छा भएकाले उक्त सेयर खरिद गर्न अनुमति पाउनको लागि यो निवेदन लिई आएको छु,’ लामिछानेले गोर्खा मिडिया नेटवर्कको सञ्चालक समितिलाई लेखको पत्रमा भनिएको छ, ‘निवेदन माग बमोजिम यस प्रालिको बिक्रीमा रहेको सेयर मध्ये १८०,००० थान सेयर खरिद गर्न अनुमति पाउँ ।’

गोर्खा मिडियाको सञ्चालक समितिमा सेयर खरिद गर्न निवेदन दिएपछि २०७७ चैत २५ बसेको सञ्चालक समितिको बैठकमा लामिछाने आमन्त्रित सदस्यको रुपमा सहभागी समेत भएका थिए।

लामिछाने आमन्त्रित सदस्य भएर सहभागी भएको बैठकले लामिछानेलाई उनको माग बमोजिम सिनं १०२०००१ देखि १२००००० सम्मको जम्मा १ लाख ८० हजार थान सेयर ब्रिक्री गर्ने निर्णय गरेको थियो ।

गोर्खा मिडिया नेटवर्कले लामिछानेलाई सेयर ब्रिक्री गर्ने निर्णय गर्नुअघि नै २०७७ चैत १८ गते लामिछानेको नाममा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाले २ करोड रुपैयाँ व्यापार कर्जा जारी गरेको थियो ।

गोर्खा मिडियाका अध्यक्ष जीबी राई समेतको नियन्त्रणमा रहेको सुप्रिम सहकारीले लामिछानेको नाममा जारी भएको २ करोड रुपैयाँ कर्जामध्ये १ करोड ९६ लाख ग्लोबल आइएमई बैंकको भौचरबाट गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जम्मा गरिएको थियो।

उक्त भौचरमा रकम जम्मा गर्न लगाउने व्यक्तिको नाम रवि लामिछाने उल्लेख थियो ।

संसदीय छानबिन समितिको प्रतिवेदन हेर्दा रवि माथि सहकारी ऐन तथा कम्पनी ऐन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने आधार देखिएका छन् । तर, लामिछाने तथा उनका समर्थकहरु रविले केही गल्ती नगरेको बयान दिइरहेका छन् ।

लामिछानेले गोरखा मिडियामा कहाँबाट पैसा आयो भन्ने विषयमा आफूलाई हेर्ने अधिकार नभएको बताए ।

‘कम्पनीमा आएको पैसा एमडीले तलब दिनलाई प्रयोग गर्ने हो । सहकारीबाट पैसा ल्याउनमा मेरो भूमिका छैन । लगानीकर्ताले ल्याएको पैसाको स्रोत हेर्ने अधिकार मलाई हुँदैन,’ लामिछानेले भने, ‘कहाँबाट पैसा ल्यायो भन्ने मेरो जानकारी हुन्न । कम्पनीमा आएको पैसा आन्तरिक प्रशासन चलाउन आएको पैसा प्रयोग भएको हो । केही साथीहरु भन्छन्, एमडीले चेक काट्यो रे, एमडीले चेक नकाटेर घाँस काट्ने होइन होला ।’

मंगलबार पार्टीको कार्यक्रममा लामिछानेले लगानीकर्ताले कम्पनीमा पैसा ल्याएको बताईरहँदा आफू पनि कम्पनीको लगानीकर्ता मात्रै नभई कार्यकारी भूमिका भएको प्रबन्ध सञ्चालक भएको बिर्सिए ।

यदि लामिछाने कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएको भए उनलाई कम्पनीमा कसरी र कहाँबाट वित्तीय स्रोत आएको छ भन्ने थाहा नहुन सक्ने थियो । तर, सञ्चालकसहित कार्यकारी भूमिका भएका व्यक्तिले संस्थामा भएका विषयमा मलाई थाहा थिएन भनेर उन्मुक्ति पाउने विषय नै हुँदैन । स्मरण रहोस् छिपछिपे सहकारीबाट ऋण लिने रिसोर्टको सञ्चालक भएकै कारण राप्रपाकी सांसद गिता बस्नेत विरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनी महिनौंदेखि फरार छिन् । बस्नेतको पार्टी राप्रपाले उनको संरक्षण गरेकाे छैन भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले बस्नेतलाई अनुसन्धान गरी कारबाही गर्नुपर्ने र बस्नेतको जस्तै प्रकरणमा मुछिएका रास्वपा सभापतिमाथि छानविन हुनुपर्ने जोडदार माग गर्दै आएका छन् ।

तर रास्वपा उपसभापति वाग्ले भने लामिछानेलाई बचाउन ढाल बनेर उभिएका छन् । पार्टी महामन्त्री मुकुल ढकाल प्रकरणमा होस् वा रविको सहकारी ठगी र दोहोरो पासपोर्टको विषयमा वाग्लेले आफ्नो बौद्धिकता गुमाए भनेर उनको बौद्धिकतामा विश्वास गर्नेहरुले प्रश्न उठाइरहेका छन् ।

हनुमान बन्ने प्रयत्न ?

शास्त्रीय र आध्यात्मिकरुपमा हनुमानलाई सकारात्मक भक्तिको आदर्श मान्ने गरिन्छ । भगवान रामप्रति हनुमानको भक्ति निस्वार्थ मात्रै थिएन, प्रेमपुर्ण समेत थियो । तर पछिल्लो समय हनुमानलाई स्वार्थ र लोभमा लम्पट चरित्रको रुपमा व्याख्या गर्ने गरिएको छ । यस लेखमा हनुमान भनेर स्वार्थ र लोभका आधारमा गरिएको भक्तिलाई चित्रित गर्न खोजिएको हो ।

आफ्नो पढाइले संसारमा विक्न सक्ने वाग्ले २ वटा कानुनबिपरित काम गरेको प्रष्ट आधार देखिँदा देखिदै रवि लामिछानेको बचाउमा यसरी लागेका छन् जसरी हनुमान भगवान श्रीरामको आदेशलाई सिरोपर गर्दै र बचाउमा लग्ने गरेको पौराणिक लेखमा अध्ययन गर्न पाइन्छ ।

जबकी वाग्लेले कांग्रेस छोड्नुको मुख्य कारण गलत प्रवृत्ति पुरस्कृत भएको र राम्रो गर्न खोज्नेलाई उपेक्षा गरिएको तर्क गर्दै नेपाली कांग्रेसकी नेतृ आरजु राणाप्रति व्यक्तिगत आरोप लगाएका थिए । जबकी अहिलेसम्म राज्यका कुनै पनि निकायले आरजूलाई अनुसन्धानको दायरामा ल्याएको छैन । योजना आयोगको सदस्यबाट उपाध्यक्ष हुँदासम्म वाग्लेले अहिले रविको भक्तिमा स्तुति गान गाएइजस्तै शेरबहादुर र आरजूको स्तुति गरेको नेपाली समाजले देखीभोगी सकेको छ ।

सुशासनको राजनीति तथा विधिको राजनीति गर्ने बताउँदै रास्वपा प्रवेश गरेको बताउने वाग्ले विधि विपरित काम गरेको आरोप लागेका लामिछानेको बचाउमा कुतर्क मात्रै होइन गलत तथ्यको सहारा लिइरहेका छन् ।

सुरुमा पार्टी उपसभापति पद पाउन लामिछानेप्रति नतमस्तक वाग्ले पछिल्लो समय लामिछाने जेल जाने अवस्था आएमा पार्टी नेतृत्व गर्ने गरी रविको विश्वास जित्ने दाउमा छन् ।

लामिछानेको विश्वास जित्न सकेमा पार्टी सरकारमा सहभागी हुने अवसरसमेत पाइने र पार्टी नेतृत्व गर्ने अवसर पाएमा आफ्नो शब्द जाल फाल्ने क्षमताले जनतालाई झुक्याउन सकिने भ्रम वाग्लेलाई छ ।

सत्ता र पदका लागि आफ्नो वौद्धिकतालाई तिलाञ्जली दिइरहेका वाग्ले पछिल्लो समय उनलाई सकारात्मक सुझाव दिने व्यक्तिप्रति समेत आक्रोशित देखिन्छ । अमेरिकाबाट नेपाल आउँदा डा. रामशरण महतको फेरो समाएर योजना आयोगको सदस्य बनाएका वाग्ले नेपाल कांग्रेसका सभापति देउवाको सदासयतामा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएका थिए । गएको चुनावमा सांसदको टिकट नपाएपछि कांग्रेस छाडेका वाग्ले रवि निकट भएर कांग्रेसमाथि गालीगलौजको बमबारी गर्दै आएका छन् ।

एकपटक अवसर पाएपछि नयाँ-नयाँ सम्बन्ध बनाउँदै थप अवसर लिन माहिर वाग्ले पछिल्लो समय रवि संकटमा परेको अवस्थामा आफू राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो नेता बन्ने प्रयासमा रहेको उक्त पार्टीमा एक सांसद बताउँछन् ।

‘तनहुँमा अर्को पटक निर्वाचन हारिने डरले उहाँलाई सताएको छ । पार्टी नेतृत्वको भक्ति गर्न पाए एक पटक क्याबिनेट मन्त्री बन्ने लालशा छ । क्याबिनेट मन्त्री भएमा विभिन्न अन्तर्राष्ट्रिय निकायमा उच्च तहको पद मिल्ने लोभ उहाँलाई छ,’ राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले भने, ‘उहाँको मनमा पद र शक्ति प्रेमबाहेक अरु केही छैन, त्यसैले संसदीय समितिले प्रष्ट लेखेको प्रतिवेदनलाई अपव्याख्या गर्दा ‘विवेक बन्धक’ राख्नु भएको वा विवेकबिहिन हो आगामी दिनका घटनाक्रमले थप प्रष्ट भइहाल्छ।’


क्लिकमान्डु