स्वर्णिम वाग्लेलाई खुलापत्रः तपाईं समस्याको अंश हो कि समाधानको ?



माननीय संसद् एवं रास्वपा उपाध्यक्ष डा‍. स्वर्णिम वाग्लेज्यू,

संसदमा आइतबार नीति तथा कार्यक्रमको छलफलमा तपाईंले गर्नु भएको सम्बोधन सुनेपछि मलाई भारतमा आजभोलि चलेको एउटा जोक याद आयो ।

एकजना सन्यासीले १२ वर्षसम्म अरु सबैलाई कामधन्दा छोडेर योगमा लाग्न अभिप्रेरित गरिरहे । उनीबाट अभिप्रेरित भएर मानिसहरु जब आफ्ना कामधन्दा छोडेर योग गर्नतिर लागे सन्यासी भने ब्यापार गर्न थाले।

यो जोक नेपालको सन्दर्भमा ठ्याक्कै मिल्न जानु नेपालीको दुर्भाग्य हो ।

आइतबार संसदको रोष्ट्रममा उभिएर तपाईंले गरेको लज्जास्पद सम्बोधनका कारण नेपाली युवाले तपाईंप्रति गरेको आशा र भरोसा तोडिएको देख्दा मलाई खेद लागेको छ ।

रोष्ट्रममा पुगेपछि भावनामा बगेर चिच्याउँदै जाँदा तपाईंले जे विषयमा बोल्न आउनु भएको हो, त्यो नै बिर्सनु भयो । त्यसैले विषयमा केन्द्रित हुन दुई-दुई पटकसम्म सभामुखले सम्झाउनु पर्यो ।

विकासको एजेन्डा बोकेर राजनीतिमा जानु भएको तपाईंजस्ता युवाले यति चाँडै नेपाली जनताको पसिनाको कमाइ खुलेआम ठगेर खानेहरुका पक्षमा एजेन्डाको विकास गर्न थालेको देख्दा र संसद्को रोष्ट्रमबाट बर्बराउनु भएको देख्दा नेपालमा नयाँ तथा वैकल्पिक राजनीतिको भविष्यप्रति झन् चिन्ता लाग्न थालेको छ ।

वाग्लेज्यू, पुराना राजनीतिज्ञले पदमा आएर जनताका पसिना खाए भन्दै आराेप लगाउँदै आएका नयाँ राजनीतिक दल र तिनका नेताले पहिल्यै जनताको पसिना चुसेर राजनीतिको रक्षाकवच खोज्न आएका हुन् भन्ने थाहा हुँदाहुँदै तिनैको पक्षपोषण गर्नु पर्ने दिन आउनु तपाईंमात्र होइन, सम्पुर्ण नेपालीको लागि खेदपूर्ण छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्थात् तपाईंको पार्टी सभापति रवि लामिछाने झैं तपाईं आफ्ना गैरकानुनी कामधन्दालाई राजनीतिक आवरणमा लुकाउन छुपाउन रातारात राजनीतिमा प्रवेश गर्नु भएको होइन भन्नेमा अझैसम्म हामी विश्वस्त छौं ।

तपाईं त एउटा लामो इतिहास बोकेको, तपाईंकै भाषामा ‘गर्भे काँग्रेस’ अनि त्यहि प्रजातान्त्रिक दलको छत्रछायाँमा रहेर विभिन्न पदमा रहि लाभ पनि प्राप्त गर्नु भएको अर्थशास्त्री । तपाईंले विश्वेश्वर प्रसाद (वीपी) कोइरालालाई सम्झनु ठिकै हो । तर, गलत प्रसंग र गलत स्थानमा वीपीको नाम जोड्दा तपाईं आफैंलाई खेद लाग्नु पर्ने हो । लाज लाग्नुपर्ने हो ।

हुन त, नेपालमा राजनीतिक दलले बेच्न लायक औंलामा गन्ने एक/दुई नाममध्ये एउटा नाम वीपीको हो । त्यसैले वीपीको नाम बेच्नु अनौठो त होइन । तर, वीपीलाई युवा भनिएका अनि नयाँ भनिएका पार्टीले बारम्बार सम्झनु भनेको तपाईंहरुसँग आफ्नो कुनै पनि दूरदृष्टि छैन, वाद, सिद्धान्त छैन भन्ने स्पष्ट हुन्छ । त्यसैले सहकारी ठगी प्रकरणमा नेकपा एमालेसँग तपाईंहरुको गठबन्धन आश्चार्यको विषय रहेन, होइन पनि ।

तर, तपाईंले वीपीको नाम बेचेको यो पहिलो पटक होइन । यसअघि पनि इलामतिर हो कि कतातिर एउटा सहकारी ठगीकाे आरोपितलाई तपाईंले वीपीसँग दाँज्नु भएको थियो । कसरी यस्तो हुटहुटी आउँछ तपाईंलाई बेला-बेलामा ? हुनसक्छ, संगतको कारण पनि होला ।

वीपीको दोषी चश्मा झैं, वीपी र केपी छुट्याउन नसक्नु वाग्लेज्यूका लागि सुहाउँदो होइन । अस्ती भर्खर पनि कान्तिपुर ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ सम्बन्धमा नेपाल भ्रमणमा रहेकी एमनेस्टी इन्टरनेसनलकी महासचिव अग्नेज काल्लामार्डले प्रश्न गर्दा प्रधानमन्त्री पुष्पकमल दाहालले अप्रत्यक्ष्यरुपमा केपी ओलीतर्फ इंगित गर्दै आफूले त पक्राउ नगरी छानविन गर्न भनेको तर ओलीले नमानेको बताएछन् ।

र, केही दिनअघि मात्रै ओलीले पक्राउ नगरी अनुसन्धान गर्दा सिरोहियाले प्रमाण नष्ट गर्न सक्ने सरकारले देखेर नै पक्राउ गरिएको प्रतिक्रिया दिनुले रवि-केपी साँठगाँठ सहकारी, गिरिबन्धु र यति ओम्नी लगायतका दर्जनौं कान्डसँग सम्बन्धित भएको बुझ्न विद्वान भइरहनु पर्दैन ।

अनि बुढाहरुका स्वार्थ पूरा गर्ने गोटीका रुपमा आफू प्रयोग भइरहँदा पनि नबुझ्नु रास्वपाका सभापति रवि लामिछानेको बाध्यता छ । किनकी, सहकारी ठगीमात्र नभएर उनको दुईवटा पासपोर्टको मुद्दा अझै खुल्न बाँकी छ ।

तर, वाग्लेजू तपाईं तथा तपाईंजस्ता परिवर्तनगामी युवाको बाध्यता के हो ? नेपालमा दुई वटा कानुन छ भन्ने सिद्ध नै गर्ने हो त ? होइन भने गृहमन्त्री रवि लामिछाने, कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहिया र संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई फरक-फरक कानुन किन ?

यी तीनजनामध्ये एकजना गृहमन्त्री छन्,तपाईंको पार्टीका अध्यक्ष छन्, जसका दुईवटा राहदानी सम्बन्धमा परेको उजुरीपछि महान्यायाधिवक्ताले ‘मुद्दा नचलाउने’ निर्णय गराएर तामेलीमा छ, अर्का सभामुखसँगैको कुर्सीमा निर्लज्ज आसिन छन्, अनि तेस्रो कारागारमा छ ।

यसैगरि, सहकारी ठगीको उस्तै प्रकृतीको मुद्दामा राष्ट्रिय प्रजातन्त्र पार्टीकी एक सांसदविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । अनि रवि लामिछाने गहृमन्त्री भएर प्रधानमन्त्रीसँग कुम जोडेर संसदमा बसेका मात्र छैनन्, संसदको रोष्ट्रम प्रयोग गरेर ‘मुकुन्दे र भेलु बाजे’को शैलीमा नेता तथा व्यवसायीलाई धम्क्याइरहँदा तपाईं र तपाईंका मित्रहरु संसदको टेबल फुट्ने गरी बजाउनुहुन्छ ।

के राजनीतिमा लागेपछि लाज, सरम, घिन सबै पच्ने हो, वाग्लेज्यू ?

हुन त, नेपाली राजनीतिको पुरानै प्रवृत्ति हो । एउटा कालखण्डमा एउटा राजनीतिक दलमा लाग्ने, भेटे पाएको सबै लाभ लिने, अनि अर्को तिर जाने, फेरि लाभ लिने । अरुलाई सज्जन बन्न अर्ति उपदेश दिने । तर, सज्जन देखिएर अरुलाई लुटिरहने । ‘हम करें तो लीला, तुम करो तो क्यारेक्टर ढिला’ भनेको यहि होला ।

अझ पछिल्लो कालखण्डमा राजनीतिज्ञहरु र राजनीतिक दलहरुले राजनीतिबाहेकका सबै पेशा र ब्यवसायलाई बदनाम गर्ने । तिनैले देश बिगारेका हुन् भन्ने भाष्य स्थापित गर्ने अनि धेरैभन्दा धेरै अपराधी, ठग अनि भुइँफुट्टाहरु राजनीतिक दलको छत्र छायाँमा ल्याएर दलाल समाजवादको मार्गमा लाग्ने प्रवृत्ति पनि बढ्दो छ । तपाईंको मार्ग पनि दलाल समाजवाद हो ?

जगजाहेर छ, नेपालमा सबैभन्दा नाफा हुने अनि लगानी गर्नै नपर्ने पेशा राजनीति हो । पछिल्लो समय रवि लामिछानेले रजानीतिक दल खोल्नु आश्चार्य होइन, न त मन्त्री बन्नु नै आश्चार्य हो । तर, तपाईं र तपाईंजस्ता पढेलेखेका युवा पनि त्यस्तैको हिस्सा बन्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिन लागेको एउटा युवा अब किन नेपाल फर्कने भनेर सोच्न बाध्य छ, आज।

हिँजो त पुराना राजनीतिक दल तथा तिनका नेताले जति भ्रष्टाचार गरेपनि नेपालमा अझैं केहि गर्न सकिन्छ भन्ने आशा पनि थियो। त्यसैले तपाईं नेपालमा मौका र अवसर देखेर अनि तपाईंको सभापति अमेरिका बस्न नसकेर नेपाल फर्किएको हो नि । तर, तपाईंका अहिलेका कृयाकलाप हेरेर आजका युवा नेपाल फर्कने सम्भावना मर्दै गएको छ । बुढा पुरानाभन्दा पनि कुहिएका गन्हाएका युवा पुस्ता राजनीति छिर्दा राजनीति सफा हुँदैन नि, हुन्छ र ?

त्यसैले, वाग्लेज्यू, राजनीति समस्या हो कि समाधान ? तपाई संसदमा समस्या थप्न जानु भएको हो वा समाधान गर्न जानु भएको हो ? आइतबारको संसद्को तपाईंको प्रस्तुती र वडी ल्यांग्वेजले त तपाईं समस्या झन् थप्न जानु भएको झैं लागेको मलाईमात्र होइन होला ।

अंग्रेजीमा एउटा भनाइ छ, ‘इफ यु आर नट द पार्ट अफ सोलुसन, यु आर अल्सो द पार्ट अफ प्रोब्लम’ अर्थात् यदि तिमी समाधानको अंश होइनौ भने तिमी पनि समस्याको एउटा अंश हौं ।

सहकारी ठगी कसरी भएको छ, त्यसको बारेमा तपाईंलाई प्रष्ट छ । किनकि एक: तपाईं आफैं अर्थशास्त्री भएका कारण कसरी नेपालमा दलाल समाजवादले नेपालीलाई ठग्दैछ, बुझ्नुहुन्छ । दुई: तपाईं आफैंले पनि भर्खरै यसमा अध्ययन गर्नुभएको छ ।

अहिलेसम्म सरकारले बनाएका सहकारीसम्बन्धी अध्ययन समितिहरुले किन समस्या समाधान गर्न सकेनन् भन्ने त झन् तपाईंलाई राम्रै थाहा होला ।

राष्ट्रिय सहकारी महासंघ परामर्श समिति, संयोजक– राधाकृष्ण मैनाली २०७४ देखि राष्ट्रिय सहकारी बैंक र वचत तथा ऋण सहकारी संस्थाको सञ्चालनका लागि उपयुक्त कानुनी स्वरुप र संस्थागत व्यवस्था सम्बन्धी अध्ययन समिति– संयोजक डा युवराज खतिवडा २०६१, सहकारीसम्बन्धी विज्ञहरुको अध्ययन समिति– संयोजक तुलसीप्रसाद उप्रेती २०६१, बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको नियमन गर्ने सम्बन्धमा सुझाव दिन गठित समिति– संयोजक वैकुण्ठ अर्याल २०६९, समस्याग्रस्त बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको छानविन समिति– संयोजक महाप्रसाद अधिकारी २०६९, बचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारीको छानविन गर्न गठित जाँचबुझ आयोग– संयोजक पूर्वन्यायाधीश गौरीबहादुर कार्की २०७० तथा सहकारी क्षेत्र सुधार कार्यदल–संयोजक डा जयकान्त राउत २०८० ले समस्या समाधानमा के कति सहयोग गरे भन्ने बारेमा पनि यहाँलाइ अवगत नै छ ।

अनि तपाईं आफैले पनि सहकारी समस्या समाधान गर्न अध्ययन गरेको हो नि त । त्यसैले तपाईले कसको लागि राजनीति गरेको र समस्या समाधानमा तपाईंको याेगदान के भन्ने प्रश्न पनि आउँछ नै । हुनत तपाईंको पार्टीलाई त प्रश्न सोध्न नै मनाहि छ क्या रे । प्रजातन्त्रको यस्तो विद्रुप अभ्यास गरेर पनि नयाँ राजनीतिक दल बन्छ र ?

वाग्लेज्यू, आफ्नो छातीमा हात राखेर एकपल्ट भन्नुस् त, के रवि लामिछानेले विभिन्न कम्पनीमार्फत सहकारी ठगी गरेको होइन ? मलाई थाहा छ, तपाईंमात्र नभएर रास्वपाका धेरै संसद तथा नेता कार्यकर्तालाई आफ्ना सभापतिले ठगेको स्पष्ट भएपनि, बोल्न सकेका छैनन् । किनकि बोल्नासाथ आफुमाथि कारबाही हुन्छ, अनि आफ्नो पद जान्छ भन्ने सबैलाई डर छ । आफ्नै ब्रम्हमा लागेको बोल्न नपाइने अनि चाकरीप्रथाको कुरुपस्वरुपमा पार्टी चलाउनेले मुलुकको भविष्य परिवर्तन गर्ला र ? कांग्रेसमा हुँदा मुल नेतृत्वको आलोचना गरेर लोकप्रियता कमाएको बिर्सनुभयो कि छैन ?

आम जनतालाई थाहा छ- हिँजोअस्ति देश हाँक्नसक्ने नेता गगन थापा नै हो भनेर तपाईंले मार्केटिंग गर्दै हिँडेको । तर, कांग्रेसले संसदको टिकट नदिएपछि देश बनाउने हुटहुटीले रन्थनिएर सहकारी ठग आरोपीतसँग घाँटी जोड्न पुगेको । अनि तपाईंले देश हाँक्ने नेता भनेर विश्वास गरेको व्यक्ति सहकारी ठगी गर्नेलाई कारबाही गर्नुपर्छ भनिरहँदा तपाईं उनै गगनको सत्तोसराप गरिरहनु भएको छ । र, योजना आयोगको उपाध्यक्ष बनाएर नेपाली सामू चिनाउने दाई-भाउजूलाई जेल कोच्नुपर्छ भनेर न्वारानदेखिको बल लगाएर चिच्याइरहनु भएको छ, रवि लामिछानेकै शैलीमा ।

सहकारीमा खाइनखाइ रकम जम्मा गर्ने गरिब नेपालीको बचत झ्वाम पार्ने ठगहरुलाई कारबाही गर्नुपर्छ भनेर चुइँक्क बोल्न नसक्ने तपाईंजस्ता विद्वानसँग के आशा गर्नु ? कि यसरी बुझौं- हार्वर्डमा अस्तित्व र विवेक पढाईँदैन।

कमजोर नियमन तर अत्यन्तै बढि वामपन्थी राजनीतिक संरक्षणमा समाजवादको नाममा दुरुपयोग गरिएको सहकारी र नयाँ तथा वैकल्पिक राजनीतिको नाममा रास्वपाले सहकारी ठगी आरोपीतको पक्षपोषण गर्नु जस्ता कृयाकलापले नेपाली राजनीतिमा युवा भनेका गन्हाएका अर्को बुढा पुस्ता हो भन्ने स्पष्ट पारेको छ ।

वाग्लेज्यू, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनतासँग भोट माग्दा जसरी ‘नो नट अगेन’ भनेर मागेको थियो, सत्ताको चास्नी चाखेपछि ‘अगेन एन्ड अगेन’ मन्त्री बनेर आफैले आरोप लगाएका पुराना अनि भ्रष्टाचारीसँग मिलेर तथा आफनो सत्ता लोलुपता त देखाउन हतार नगरेको भए हुन्थ्यो ।

अन्तमा, सन् १७९६ मा जर्ज वाशिंगटनले एउटा प्रसिद्ध सम्बोधन गरेका छन् । जुन सम्बोधनमा उनी अमेरिकीहरूलाई कुनै एउटा राजनीतिक चिन्तनको पक्ष लिँदा हुन सक्ने खतराको बारेमा चेतावनी दिन्छन् ।

वाशिंगटन भन्छन्- ‘यदि कुनै अमेरिकीले प्रजातान्त्रिक संरचना कायम राख्नभन्दा पनि आफनो पार्टी ‘जित्छ’ भन्ने कुरामा बढी ध्यान दिए भने, समाजमा रहेका मुठ्ठिभर तर धूर्त र सकृय अल्पसंख्यकले जनतालाई मुर्ख बनाएर जनताको शक्तिलाई पराजित गर्न र सरकारको लगाम आफ्नो लागि कब्जा उनीहरूलाई नै शासनमा पुर्याउने संरचनालाई नष्ट गर्न पनि सक्षम हुन्छन् ।’

अर्थात्, लोकतन्त्रको बाटो प्रयोग गरेर भावनात्मक ब्ल्याकमेल गर्दै मुठ्ठिभर तर धूर्त मानिस सत्तामा पुग्छन् । आफू कानुनभन्दा माथि रहेको भाष्य स्थापित गर्दै अरुलाई कानुनको सांग्लोमा बाँध्न तत्पर रहन्छन् । र, लोकतान्त्रिक संरचना ध्वस्त गरेर उनीहरु नागरिकमाथि सर्वसत्तावाद लाद्छन् ।

नेपालमा पछिल्ला वर्षहरुका विशेषतः २०७२ पछिका घटनाक्रम हेर्ने हो भने संवैधानिक निकायहरु गैरसंवैधानिक ब्यक्ति विशेषका आँखा सन्काइमा चल्न थालेका छन् । निर्वाचन आयोग, अख्तियार, सर्वोच्च अदालत, प्रतिनिधिसभाको सभामुखलगायत सबै संबैधानिक निकाय एक ब्यक्तिको आँखा सन्काइमा चल्दा लोकतान्त्रिक ब्यवस्था नै संकटमा पर्नु अचम्म होइन ।

त्यसैले वाग्लेज्यू, राजनीतिमा अपराध र अपराधमा राजनीतिको यो ऋंखला तोडौं । राजनीतिलाई रत्नपार्कतिरकाे चटक नबनाऔं। जनतालाई ठग्ने अनि ब्यक्तिपिच्छे फरक-फरक कानुनी प्रयोग पनि नगरौं र नेपालमा एउटै कानुनी अनि गरिखानेको लागि सुरक्षित मुलुक बनाऔं न । अनि पो स्वाद आउँछ, हाेइन र ? रवि लामिछानेलाई गृहमन्त्री भन्दाखेरी के स्वाद आउँछ र हजुर ?

शिक्षित र चेतनशील जनताले तपाईंसँग धेरै ठूलो आशा गरेका थिए । तर, तपाईंका पछिल्ला गतिवधिले त्यस्तो वर्गबाट विश्वास गुमाइरहनु भएको छ । अहिले ठगहरुको हालीमुहाली छ । सपनामा यस्ता कुराले झस्काउँछ कि झस्काउँदैन ? झस्काउँछ र विवेक छ भने सत्य बोल्नुहोस् । सत्य बोल्दा कारबाही हुन्छ भने नडराउनुहाेस् ।

तर सत्य बोल्ने ह्याउ छैन भने राजनीतिमै उज्ज्वल भविष्य छ । मन्त्री खानोस् र भन्नोस्- वा क्या स्वाद आयो !

उही तपाईंको शुभचिन्तक
कुबेर चालिसे


कुबेर चालिसे