कांग्रेस उपसभापति धनराजलाई प्रश्नः पूर्वपत्नीले सहकारीमा अपचलन गरेको पैसा तपाईंले तिरेको हो



काठमाडौं । सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङले आफूलाई फसाउने खोजिएको दाबी गरेका छन् ।

धनराज र उनकी श्रीमती ज्योति गुरुङविरुद्ध ललितपुरमा रहेको मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा विभिन्न निकायमा उजुरी तथा निवेदन परेको छ ।

ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन महाप्रबन्धक ज्योती गुरुङले सहकारीको महाप्रबन्धक रहेको समयमा १४ करोड ८१ लाख रुपैयाँ अपचलन गरेको संस्थाका अध्यक्ष कुम्भराज गुरुङले बताए।

ज्योती गुरुङ विगत चार वर्षदेखि सम्पर्कविहीन रहेको उनको भनाइ छ । यो प्रकरणमा धनराज गुरुङ समेत मुछिएका छन् ।

२०७६ फागुन २९ गते श्रीमती ज्योतीसँग सम्बन्धबिच्छेद भएको बताउँदै गुरुङले आफूलाई फसाउन अहिले यो विषय उचालेको दाबी गरे ।

‘मलाई यो विषयमा केही पनि थाहा छैन । हाम्रो २०७६ फागुन २९ गते नै सम्बन्धबिच्छेद भएको हो,’ धनराज गुरुङले क्लिकमान्डुसँग भने, ‘अहिले आएर मेरो नाम आएको छ । मलाई पहिलादेखि नै केही थाहा थिएन । अहिले अध्यक्षले मेरोविरुद्ध मुद्दा हालेको भन्ने सुनेको छु । अहिले क-कसले के के भने, धनराजलाई दोषी देखाउने गरी उजुरी हालेको भन्ने सुनेको छु ।’

यस विषयमा समयमै सत्यतथ्य पत्ता लगाउन छानबिन गर्न समेत उनले माग गरे ।

सहकारीका अध्यक्ष कुम्भराजले स्वयं जोगिनका लागि आफूलाई फसाउन खोजेको धनराजको आरोप छ ।

सहकारीका तत्कालीन महाप्रबन्धक ज्योति गुरुङले संस्थामा बदमासी गरेको थाहा पाएपछि संस्थामा तपाईंलाई समेत बोलाएर छलफल गरेपछि सहकारीको पैसा फिर्ता गर्ने मौखिक सहमति भएको थियो रे नी ? भन्ने क्लिकमान्डुको प्रश्नमा धनराजले भने, ‘त्यस्ता विषयमा कुनै सहमति भएको छैन । मलाई जुन विषयमा थाहा छैन । त्यस्तो विषयमा सहमति हुन्छ ? उनीहरु आफू बच्नलाई जे पनि बोल्न मिल्छ ? आफूले गलत गरेर यस्तो बोलेपछि बचिन्छ भनेर भन्न मिल्दैन । यो अपचलनको बारेमा उहाँहरुलाई थाहा हुने कुरा हो । मैले सहकारीमा तिरेको भनेको ऋण मात्रै हो । सहकारीमा मेरो नाममा ऋण थियो । मैले सहकारीबाट पटक पटक ऋण लिएको थिएँ । त्यो तिरेको हो । अपचलनको पैसा तिरेको होइन ।’

सहकारीले षडयन्त्र गरेर आफूलाई फसाउन खोजेको भन्दै निष्पक्ष रुपमा राज्यले छानबिन गर्नुपर्ने उनको माग छ ।

संस्थाका अध्यक्ष कुम्भराज गुरुङले भने १४ करोड ८१ लाख रुपैयाँ अपचलन गरेर ज्योती गुरुङ विगत चार वर्षदेखि सम्पर्कविहीन भएको बताएका छन् ।

तर सहकारी स्रोतले भने गुरुङले श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेको भए पनि अपचलन भएको समयमा दुबै सँगै रहेको र डिभोर्स भएको भनिएपछि पनि धनराजले केही पटक पैसा तिरेको दाबी गरेको छ ।

सहकारीको बचत अपचलन गरेको पाइएपछि ज्योति फरार हुनुपूर्व संस्थाले धनराज र ज्योतिलाई सँगै राखेर छलफल समेत गरेको र छलफलका क्रममा उनीहरुले संस्थाको पैसा फिर्ता गर्ने मौखिक प्रतिवद्धता व्यक्त गरेको सहकारी स्रोतको भनाइ छ।

ज्योति ११ वर्षअघि संस्थामा कोषाध्यक्ष तथा वरिष्ठ लेखा अधिकृत थिइन् । उनी पछि महाप्रबन्धक बनेकी हुन् ।


सोभित थपलिया