राष्ट्र बैंकले ३ प्रतिशत ब्याज दिँदा पनि बैंकहरुले राखेनन् पैसा, ब्याजदर बढ्ने सम्भावना कति ?



काठमाडौं । २०८० मंसिर २१ गते नेपाल राष्ट्र बैंकले बोलकबोल विधिबाट ३ प्रतिशतसम्म ब्याज दिने गरी २५ अर्ब रुपैयाँ राष्ट्र बैंकमा राख्ने प्रस्ताव पेस गर्न वाणिज्य बैंकहरुलाई आह्वान गरेको थियो । उक्त प्रस्तावमा वाणिज्य बैंकहरु ०.४९ प्रतिशत ब्याजमै राष्ट्र बैंकमा पैसा राख्न तयार भएका थिए ।

ब्याजदर करिडोरको सिद्धान्तअनुसार अन्तर बैंक ब्याजदरलाई निक्षेप संकलन दरको सीमाभित्र राख्न राष्ट्र बैंकले नियमित रूपमा वाणिज्य बैंकबाट पैसा संकलन गर्दै आएको छ ।

वाणिज्य बैंकमा अधिक तरलता भएमा बजारको ब्याजदर निक्षेप संकलन दरभन्दा मुनी झर्ने तथा बैंकहरुले अधिक तरलता भएको रकम अन्धाधुन्ध कर्जा लगानी गर्ने जोखिम भएपछि राष्ट्र बैंकले नियमित रूपमा बजारबाट निक्षेप संकलन गर्दै अन्तर बैंक ब्याजदरलाई ब्याजदर कोरिडोरको तल्लो सीमा अर्थात् निक्षेप संकलन दरभित्र राख्ने प्रयास गर्दै आएको छ ।

वाणिज्य बैंकमा अधिक तरलता हुन नदिन राष्ट्र बैंकले आइतबार १०० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने प्रस्ताव आह्वान गरेको थियो । तर, उक्त प्रस्तावमा ९ वटा बैंकले २२ वटा प्रस्ताव पेस गर्दै ५३ अर्ब ८० करोड रुपैयाँ राष्ट्र बैंकमा राख्ने प्रस्ताव पेस गरेका थिए।

राष्ट्र बैंकले ३ प्रतिशतसम्म ब्याज माग गर्ने बैंकहरुको ५१ अर्ब ८० करोड रुपैयाँ औसतमा २.९४ प्रतिशत ब्याज दिँदै संकलन गरेको छ ।

नेपाल राष्ट्र बैंकले बोलकबोलबाट २१ दिनका लागि निक्षेप संकलन गरेको हो । घटीमा १० करोड रुपैयाँ बोल गर्न सकिने गरी राष्ट्र बैंकले सूचना प्रकाशित गरे पनि बैंक तथा वित्तीय संस्थाको न्यून सहभागिता रहेको छ ।

यसअघि गत भदौ २ गते राष्ट्र बैंकले १०० अर्ब रुपैयाँ निक्षेप संकलनका लागि प्रस्ताव आह्वान गर्दा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप राष्ट्र बैंकमा राख्ने प्रस्ताव पेस गरेका थिए । राष्ट्र बैंकले २.९७ देखि २.८ प्रतिशत ब्याज दिँदै १०० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

२१ दिनका लागि संकलन गरिएको उक्त निक्षेप आइतबार फिर्ता भएको छ । आइतबार १०० अर्ब निक्षेप फिर्ता भएकाले राष्ट्र बैंकले १०० अर्ब रुपैयाँ नयाँ निक्षेप संकलन गर्दै अन्तर बैंक ब्याजदरलाई निक्षेप संकलन दरको सीमाभित्र राख्ने प्रयास गर्न खोजेको थियो ।

तर, आइतबार राष्ट्र बैंकमा वाणिज्य बैंकहरुले ५१ अर्ब ८० करोड रुपैयाँ मात्रै निक्षेप राख्दै बैंकहरुमा अधिक तरलता नरहेको संकेत गरेका छन् ।

आइतबार समेतको गरी हाल राष्ट्र बैंकमा बैंकहरुको कुल १ खर्ब १० अर्ब रुपैयाँ निक्षेप जम्मा छ ।

गत भदौ १२ गते ४० अर्ब रुपैयाँ निक्षेप आह्वान गरि संकलन गरिएको २१ अर्ब निक्षेप असोज २ गते तथा १९ गते ४० अर्ब नै आह्वान गरिएकोमा संकलन गरिएको ३७ अर्ब ६० करोड निक्षेप असोज ९ गते फिर्ता हुनेछ ।

आइतबार संकलन गरिएको निक्षेप भने असोज १३ गते फिर्ता हुनेछ ।

भदौ १२ गतेयता राष्ट्र बैंकले बोलकबोलमा प्रकाशित गरे अनुसार निक्षेप संकलन नभएको तथा अन्तर बैंक ब्याजदर ३ प्रतिशतको सीमामा रहेको तथ्यांकले बैंक तथा वित्तीय संस्था अधिक तरलताको चापमा नहरेको संकेत गरेको छ ।

आगामी दिनमा समेत निक्षेप संकलन गर्ने गरी राष्ट्र बैंकले प्रकाशित गर्ने सूचनामा बैंक तथा वित्तीय संस्थाको न्यून सहभागी भएमा अन्तर बैंक ब्याजदर ३ प्रतिशतको सीमाभन्दा माथि जाने मात्रै होइन, बैंक तथा वित्तीय संस्थामा निक्षेप खोसाखोसको प्रतिस्पर्धा बढ्ने जोखिम छ ।


क्लिकमान्डु