रवि लामिछाने, विपिन आचार्य र पूर्वडीआईजीसँग कास्की प्रहरीको सोधपुछ, जोशीको घरमा प्रहरीको छापा



काठमाडौं । पोखरा महानगरपालिकामा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारीका बचतकर्ताका निक्षेप हिनामिना प्रकरणमा कास्की प्रहरीले अनुसन्धान तथा छलफललाई जारी राखेको छ ।

सहकारी हिनामिनाका विषयमा अनुसन्धानका लागि भन्दै कास्की प्रहरीको टोली काठमाडौंमा आएर उक्त सहकारीसँग जोडिएका व्यक्तिहरुसँग छलफल गरेको छ ।

कास्की प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माको टोलीले अघिल्लो साता र गत साता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई नेता र नेपाल प्रहरीका अवकाशप्राप्त डीआईजी छविलाल जोशीसँग थप छलफल गरेको हो ।

शर्मासहितको टोलीले रास्वपा सभापति रवि लामिछाने, सहमहामन्त्री विपिन कुमार आचार्य र पूर्वडीआईजी छविलाल जोशीसँग छलफल गरेको हो ।

लामिछाने गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक हुन् भने आचार्य गोरखा मिडिया नेटवर्कका क्रिएटिभ डाइरेक्टर हुन् ।

उनीहरुसँग अघिल्लो र गत साता फरक फरक समयमा प्रहरीले छुट्टा–छुट्टै भेट गरि सहकारी हिनामिनाका विषयमा छलफल गरेको हो ।

आचार्यसँग अघिल्लो शनिबार मध्याह्न, त्यसपछि जोशी र लामिछानेसँग प्रहरीले छुट्टाछुट्टै छलफल गरेको हो । भेटमा आवश्यक कागजात, बैंक स्टेटमेन्ट समेत लिएको स्रोतको भनाइ छ ।

रास्वपाका सहमहामन्त्री विपिन आचार्यले आफूसँग कास्की प्रहरीले छलफल गरेको क्लिकमान्डुलाई जानकारी दिए ।
‘अघिल्लो शनिबार कास्की प्रहरीको टोलीसँग सहकारीका विषयमा छलफल भएको हो,’ आचार्यले भने, ‘विवाद उठेको सहकारी र गोरखा मिडियाका विषयमा उहाँहरुले सोध्नु भएको हो ।’

बैंक स्टेटमेन्टका साथै आफूलाई गोरखा मिडिया नेटवर्कले दिएको नियुक्तिपत्र समेत उनले प्रहरीलाई बुझाएका छन् ।

आचार्यले आफूहरुमाथि यो विषयमा प्रश्न उठेकोले यसको चाडो निरुपण गर्न प्रहरीसँग आग्रह गरेको बताए ।

‘प्रश्न उठेको छ । यसमा विभिन्न खालका अनुसन्धान भइरहेको छ । ति अनुसन्धानमा पूर्णरुपमा सहयोग गर्न तयार छु,’ आचार्यले भने, ‘अनुसन्धान भइरहेको विषय चाडो निष्कर्षमा पुगे हुन्थ्यो भन्ने हो ।’

स्रोतका अनुसार प्रहरीले गोरखा मिडिया नेटवर्क, नेचर नेष्ट र नेचर हवमा समेत खानतलासी गरेको छ । खानतलासी पछि आवश्यक कागजात प्रहरीले नियन्त्रणमा लिएको हो ।

सूर्यदर्शन सहकारीबाट बचतकर्ताको पैसा गोरखा मिडिया नेटवर्कमा कानून विपरित लगानी भएको थियो ।

सहमहामन्त्री आचार्यको नामबाट २०७८ पुस ६ गते सूर्यदर्शन सहकारीको १ करोड रुपैयाँ गोर्खा मिडियामा गएको देखिएको छ । तर, उनीहरुले आफू यसमा कुनै दोषी नरहेको र यो छानबिन छिटो सकेर वास्तविकता समयमा नै बाहिर ल्याउन माग गरिरहेका छन् ।

यस्तै गोरखा मिडियाका संस्थापक छविलाल जोशीसँग प्रहरीले छलफल गर्नुका साथै उनको घरमा समेत छापा मारेको छ । उनी गितेन्द्र बाबु (जिबी) राईका व्यवसायीक साझेदार रहेका थिए । जोशीको घरमा नेचर हब्र्स इन्टरनेसनल प्रालिको कार्यालय रहेको छ । प्रहरीले उनको घरमा रहेको कार्यालयमा समेत छापा मारेको हो ।

उनको घरमा प्रहरीले यसअघि पनि २०८० माघ २४ गते शंखमूलमा रहेको घरमा छापा मारेर सहकारीका डेटा रहेको सर्भर बरामद गरेको छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले तीन जनासँग यसअघि नै बयान लिइसकेको छ ।


क्लिकमान्डु