विमानस्थलमा रहेको तेल भण्डारण र थानकोट डिपो सार्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जोखिमयुक्त स्थानमा रहेका नेपाल आयल निगमको भण्डारण डिपो सार्न निर्देशन दिएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषयमा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले जोखिमयुक्त स्थानमा रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल आयल निगमको भण्डारण र थानकोटको डिपोलाई बस्ती कम भएको स्थानमा स्थानन्तरण गर्न निर्देशन दिए ।

बस्ती भएको स्थानमा जोखिम निम्त्याउने प्रज्वलनशील पदार्थहरुको भण्डारण गर्न उपयुक्त नहुने ओलीले बताए ।

सिनामंगलको घनावस्तीबीच अति जोखिम अवस्थामा रहेको हवाई इन्धन डिपो सार्न नेपाल आयल निगमले भने अटेरी गर्दै मानिसको सुरक्षामा खेलाँची गर्दै आएको आरोप लागिरहेको छ ।

घनावस्ती बीचमा परेको उक्त हवाई इन्धन डिपोका कारण सिनामंगल र जागृतीनगरका हजारौं घर उच्च जोखिममा रहे पनि निगमले उक्त डिपो सार्न २ वर्षदेखि अटेरी गर्दै आएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै दक्षिणी क्षेत्रमा रहेको उक्त डिपोका कारण विमानस्थल र जहाजहरु समेत उच्च जोखिममा छ । आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन) को सुरक्षा मापदण्डबिपरित रहेको उक्त हवाई इन्धनको डिपो त्यहाँबाट हटाउन निगम व्यवस्थापनले आनाकानी गर्दै आइरहँदा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

विमानस्थलमा ७६ लाख ४० हजार लिटर क्षमताको हवाई इन्धनको डिपो छ । यो डिपोमा १ हजार ६ सय किलोलिटरको ३, ७ सय ६० किलोलिटरको ३ र ७० किलोलिटर क्षमताको ८ वटा इन्धन भण्डारण गर्ने भाँडो छ ।


क्लिकमान्डु