‘जोखिमपूर्ण’ हवाई इन्धन डिपो सार्ने नाममा ‘चलखेल’, यस्तो छ अन्तर्राष्ट्रिय अभ्यास



काठमाडौं । त्रिभुवन विमानस्थलमा साउन ९ गते सौर्य एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त भएपछि सुरक्षा सवाललाई जोडेर हवाई इन्धन डिपो तत्काल सार्नुपर्ने विषय निक्कै जोडतोडका साथ उठान भयो ।

प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीसम्म र नेपाल आयल निगमकै कर्मचारीहरुको एउटा गुटले पनि विमानस्थलमा भएको हवाई इन्धन डिपो सुरक्षाको हिसावले निकै ‘जोखिम’ युक्त भएको भन्दै तत्कालै त्यहाँबाट अन्यत्र स्थानान्तरण गर्नुपर्ने सार्वजनिक रुपमा अभिव्यक्ति दिए । भलै यो विषयमा नेपाल आयल निगमको उच्च तह र निगमकै कर्मचारीले भने कुनै पनि औपचारिक टिप्पणी गरेका छैनन् । तर निगमको उच्चतह भने डिपो जहाँ स्थानान्तरण गरे पनि जोखिम त्यतिकै रहने अनौपचारिकरुपमा बताउँछन् ।

विमानस्थलभित्रको हवाइ इन्धन डिपो साँच्चिकै जोखिम हो कि सार्ने नाममा माफियाले गरेको चलखेल हो ? यो समाचार यस विषयमा केन्द्रित छ ।

भवितव्य पर्यो र सुरक्षाका भरपर्दो उपाय अलवम्बन गर्न नसकिए निक्कै टाढा स्थानान्तरण गर्दा पनि दुर्घटनाको जोखिम उस्तै अवस्थामा रहिरहने उनीहरुको भनाइ छ ।

‘सुरक्षाको हिसाबले कुरा गर्ने हो भने डिपो जहाँ सारेपनि जोखिम त्यतिकै रहन्छ,’ निगमका एक अधिकारी भन्छन्, ‘मुख्य विषय सुरक्षाको भरपर्दो सिस्टमलाई हामीले कति फलो गरेका छौं भन्ने हो । किनकि अहिले जुन स्थानमा सार्ने भनिएको छ, सुरक्षाको हिसाबले हेर्ने हो भने त्यो स्थान पनि त्यति सुरक्षित मानिँदैन । जोखिम यथावत रहन्छ ।’

निगम स्रोतका अनुसार हिन्दीको चर्चित उखान ‘कहि पें निगाहे, कहि पें निशाना’ भने जस्तै ‘सुरक्षा’ को नाममा डिपो सार्न प्रधानमन्त्रीदेखि विभागीय मन्त्री र औंलामा गन्न सक्ने संख्यामा रहेका निगमकै केही कर्मचारी लविङ गर्दै आएका छन्, यसको पछाडी चलखेल भएको स्रोतको दावी छ ।

यदि विमानस्थलसँगै टाँसिएको डिपोको कारण विमानस्थलमा जोखिम निम्तिएको हो भने नेपालभन्दा निक्कै व्यस्त र ठूला अन्तर्राष्ट्रिय विमानस्थल पनि त्यतिकै जोखिमयुक्त मान्नु पर्ने विज्ञहरु बताउँछन् ।

अन्य देशका अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था कस्तो छ ?

त्रिभुवन विमानस्थलभन्दा निकै ठूलो र विश्वभर चर्चित मानिएका भारतको मुम्वईस्थित छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थल, दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थल, बंगलादेशको ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थल, दुवईस्थित अन्तर्राष्ट्रिय विमान स्थलको रनवे नजिकै हवाई इन्धनको डिपो छ ।

फ्रैकफर्ट अन्तर्राष्ट्रिय विमानस्थल, जर्मनी
चाङगी अन्तर्राष्ट्रिय विमानस्थल, सिंगापुर

यस्तै जर्मनीको फ्रैकफर्ट विमानस्थल, दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल, सिंगापुरको चाङगी अन्तर्राष्ट्रिय विमानस्थल, मालदिभ्सस्थित भेलेदा अन्तर्राष्ट्रिय विमानस्थल र चीनको वेइजिङ्ग अन्तर्राष्ट्रिय विमानस्थलको रनवे नजिकै डिपो निर्माण भएका छन् ।

मालदिभ्सको भेलेन्दा अन्तर्राष्ट्रिय विमानस्थलमा भने झन् रनवे र विमान पार्किङ्ग वे सँगै २ वटा हवाई इन्धन (एटीएफ) डिपो निर्माण गरिएको छ । यस्तै दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा पनि दुई वटा एटीएफ डिपो छन् ।

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल, दिल्ली
छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थल, मुम्वई

गुगल म्यापको सहयोगमा हेर्दा चीनको बेइजिङ्गस्थित अन्तर्राष्ट्रिय विमानस्थलको रनवे नजिकै दुईवटा एटीएफ डिपो छन् । जसअनुसार रनवेको ७६६.६५ मिटरमा एउटा र २ किलोमिटर ११८ मिटरको दूरीमा अर्को डिपो छन् ।

यस्तै सिंगापुरको चाङगी अन्तर्राष्ट्रिय विमानस्थलमा रनवेको ६९७.६८ मिटरको दूरीमा यस्तो डिपो निर्माण भएको छ । त्यस्तै दुवई अन्तर्राष्ट्रिय विमानस्थलमा रनवेभन्दा ४११.८२ मिटरको दूरीमा एटीएफ डिपो छ ।

दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा रनवेसँगै दुईवटा एटीएफ डिपो निर्माण भएको छ । पहिलो डिपो र रनवे बीचमा ३९४.१४ मिटर र दोश्रो डिपो र रनवेबीचमा ४४२.८४ मिटर दूरी छ ।

भेलेदा अन्तर्राष्ट्रिय विमानस्थल, मालदिभ्स

जोखिमकै कुरा गर्ने हो भने सबैभन्दा भयावह अवस्था भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको पाइएको छ। यो विमानस्थलभित्रै दुईवटा एटीएफको डिपो छ भने रनवेनजिकै ४ वटा पेट्रोल पम्प र १ संकुचित प्राकृतिक ग्यास (सीएजी ग्यास) डिपो निर्माण भएका छन् ।

यो विमानस्थलमा जहाज पार्किङ्गसँगै १७७.२२ मिटरको दूरीमा एउटा डिपो छन् । त्यस्तो अर्को डिपो रनवेभन्दा १०६९ मिटरको दूरीमा निर्माण भएका छन् ।

अन्तर्राष्ट्रिय विमान स्थल, दुवई

जर्मनीस्थित फ्रैंकफर्ट अन्तर्राष्ट्रिय विमानस्थलको रनवे र डिपोबीच ११७.३४ मिटरको दूरी कायम गरिएको छ । यस्तै भारतको मुम्वईस्थित छत्रपति अन्तर्राष्ट्रिय विमानस्थलको रनवे र डिपोबीच २१२.६७ मिटरको दूरी कायम गरिएको छ ।

यस्तै माल्दिभ्सको भेलेन्दा विमानस्थलमा दुईवटा एटीएफ डिपो निर्माण भएको छ । एउटा डिपो र रनवेबीच ३९२.८८ मिटर र अर्को डिपो र रनवेबीच ३०५.५ मिटर दूरी कायम गरिएको छ । यसैगरी बंगलादेशको ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थलकोको रनवे र डिपोबीच ८०५.७४ मिटरको दूरी कायम छ ।

हमाद अन्तर्राष्ट्रिय विमानस्थल, दोहा

नेपालमा मात्रै होइन, आईकाओको मापदण्डअनुसार विश्वभरका चर्चित विमानस्थलको रनवे नजिकै हवाई इन्धनको डिपो निर्माण भएर सञ्चालनमा छन्।

‘त्यतिकै जोखिम र असुरक्षित हुन्थ्यो भने केहि वर्षअघि विस्तार गरिएको मुम्वईको छत्रपति शिवाजी विमानस्थलको रनवे नजिकै एटीएफको डिपो निर्माण हुँदैन्थ्यो,’ निगमका एक अधिकारीले भने ।

त्यसैले गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै दक्षिणी क्षेत्रमा रहेको नेपाल आयल निगम स्वामित्वको एटीएफ डिपोका कारण विमानस्थल र जहाज उच्च जोखिममा परेको पछिल्लो समयमा चलेको चर्चाको पछाडी ‘स्वार्थ समूहको’ हात रहेको अनुमान गर्न सहजै सकिन्छ ।

अन्तर्राष्ट्रिय विमानस्थल ढाका, वंगलादेश
वेइजिङ्ग अन्तर्राष्ट्रिय विमानस्थल, चीन

औपचारिकरुपमा सुरक्षित स्थानमा जग्गा उपलब्ध भएको छैन: भट्ट

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट डिपो सार्ने विषयमा बाहिर चर्चा चलेपनि डिपो स्थानान्तरणको लागि हालसम्म औपचारिकरुपमा सुरक्षित स्थानमा जग्गा उपलब्ध नभएको बताउँछन् ।

डिपो सार्ने विषयमा पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग हालसम्म औपचारिकरुपमा छलफल वा पत्राचार नभएको भट्टले दावी गरे ।

‘विमानस्थलको मास्टर प्लानमा के छ, त्यो हाम्रो जानकारीमा छैन,’ भट्टले क्लिकमान्डुसँग भने, ‘डिपो सार्न जग्गा उपलब्ध गराइएको छ भनेर बाहिर चर्चा चलेजस्तो औपचारिकरुपमा हालसम्म जग्गा निगमलाई उपलब्ध भएको छैन, यो विषयमा आधिकारिकरुपमा प्रक्रिया पनि निर्देशनालय र निगमबीच सुरु भएको छैन ।’

तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना निर्देशनालयले उक्त डिपो आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन) को सुरक्षा मापदण्डबिपरित रहेको भन्दै डिपो त्यहाँबाट सार्न निगमसँग अनौपचारिकरुपमा लविङ गर्दै आएको छ ।

निर्देशनालयले अनौपचारिकरुपमा डिपो सार्न लविङ गरे पनि हालसम्म औपचारिकरुपमा यो विषयमा निगमलाई जानकारी नगराएको भट्टले जानकारी दिए ।

‘तत्कालीन समयमा आइकाओको मापदण्ड र चलनअनुसार नै उक्त डिपो बनाइएको थियो, आइकाओको मापदण्डविपरित विमानस्थल क्षेत्रमा हवाई इन्धन डिपो बनाउन र सञ्चालन गर्न पाइँदैन,’ उनले भने, ‘बाहिरको हल्लाको पछि लाग्नु हुँदैन । वास्तविक तथ्यमा जानुपर्छ । अहिले विमानस्थल फराकिलो पार्न लागिएकाले क्षेत्रफल साँघुरिएर जोखिम निम्तिएको विषय बाहिर आएको हो ।’

चर्चा र हल्लाको पछि लाग्नुभन्दा अन्तर्राष्ट्रिय क्षेत्रमा भएका अभ्यास पनि अध्ययन गर्नुपर्ने उनको भनाइ छ । उनका अनुसार विश्वभर हवाई इन्धनको डिपो विमानस्थलको रनवे नजिकै निर्माण भएका छन् । जोखिम मानिएको भए विश्वका ठूला विमानस्थलको रनवेसँगै हवाई इन्धनको डिपो निर्माण हुँदैन्थ्यो ।

डिपो सार्न निगमले आनाकानी नगरेको दावी गर्दै भट्टले भने, ‘निगम व्यवस्थापनले डिपो सार्न आनाकानी गरेको छैन । यो निकै संवेदशनशील विषय हो, सरकारको माथिल्लो निकायबाट यो विषयमा मार्ग प्रसस्त गर्नुपर्ने हुन्छ ।’

‘अहिलेको तुलनामा सबै प्रकारले सुरक्षित मानिएको, निर्माण गर्दा लागत खर्च कम लाग्ने र डिपो निर्माण गर्न वैज्ञानिकरुपले उपयुक्त भएको जग्गा औपचारिकरुपमा प्राप्त भयो भने सरकारको निर्देशनअनुसार प्रक्रिया अघि बढाउन सकिन्छ,’ भट्टले भने । उनले निगमले डिपो सार्न डिपिआर गर्न खोज्दा जग्गा उपलब्धताको समस्या आएको पनि जानकारी दिए ।

‘हाम्रो जग्गाका इस्युहरु छन्, निगमको आफ्नै ३२ रोपनी जग्गा पनि त्यहाँ छ । ५ रोपनी भाडामा लिएका छौं । सम्बन्धित निकायले पनि हामीसँग यो जग्गाको विषय सल्ट्याउनुपर्यो,’ भट्टले भने, ‘हामी सल्ट्याउन तयार छौं ।’

सांसद भन्छन्- तत्काल डिपो सार, मन्त्रालय भन्छ- तत्काल सम्भव छैन

आइतबारको प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ४४औं बैठकमा सहभागी सांसदहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हवाई इन्धनको डिपो सुरक्षाका दृष्टिले अति संवेदनशील भएकाले तत्काल सार्नुपर्ने धारणा राख्दै सरकारसँग माग गरेका थिए ।

सांसद रमेश रिजाल, सूर्यमान तामाङ, कान्तिका सेजुवाल, सुरेन्द्रराज आचार्य, रुक्मिनी राना बराइली लगायतकाले डिपो सार्न सरकारसँग माग गरेका थिए । तर, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुसुधन बुर्लाकोटीले उक्त डिपो तत्काल विमानस्थलबाहिर स्थानान्तरण गर्न सम्भव नरहेको बताएका थिए।

प्राविधिक कारणले पनि बाहिर स्थानान्तरण गर्न नसकिने भन्दै विमानस्थल भित्रै भण्डारण गर्नु आफूहरुको बाध्यता भएको उनले बताएका थिए । यद्यपि प्रधानमन्त्रीको निर्देशनअनुरुप आफूले काठमाडौं उपत्यकाका केही स्थानहरुमा विकल्प खोजिरहेको भन्दै राजनीतिक तहबाट स्वीकृत हुन बाँकी रहेको उनको भनाइ थियो ।

उनले राजनीतिक तहले स्वामित्व नलिएसम्म उक्त स्थानबारे आफूले अहिले नै खुलाउनु उपयुक्त नहुने जानकारी पनि दिए । उनले विमानस्थलभित्रको इन्धन भण्डारणलाई सम्भव भएसम्म सुरक्षित तवरले राखिएको बताए ।

विश्व सम्पदा क्षेत्रमा डिपो राख्न पाइँदैनः पशुपति क्षेत्र विकास कोष

निर्देशनालयका निर्देशक दिपेन्द्र श्रेष्ठका अनुसार विमानस्थलको मास्टर प्लानअनुसार हाल रहेको हवाई इन्धन डिपो विमानस्थलको उत्तरतर्फ गुहेश्वरी क्षेत्रमा पर्ने नेपाली सेनाको गल्फ कोर्स भवननजिकै खाल्डोमा सार्न जग्गा छुट्टयाइएको छ ।

उक्त स्थानमा करिब ५० रोपनी जग्गा छुट्याइएको छ । त्यहाँ खाल्डो भएकाले माटो पुरेर नयाँ डिपो निर्माण गर्न सकिने श्रेष्ठको भनाइ छ । मास्टर प्लानमा भर्टिकल ट्याँकी, फ्युल हाइड्रेन्ट सिस्टमसहितको फ्युल डिपो निर्माण गर्नुपर्ने योजना समावेश छ ।

तर, पशुपति क्षेत्र विकाश कोषका आयोजना प्रमुख सीताराम रिसेलले डिपो सार्न उपलब्ध गराउन तोकिएको क्षेत्र विश्व सम्पदा क्षेत्र सूचीमा सुचीकृत रहेकाले त्यहाँ इन्धनको डिपो निर्माण गर्न नपाइने जानकारी दिए ।

डिपो सार्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना निर्देशनालयले उपलब्ध गराउने भनेर छुट्टयाएको जग्गा विश्व सम्पदा क्षेत्र सुचीमा सूचीकृतका साथै पशुपति स्मारक मध्यवर्ती क्षेत्रभित्र रहेको छ ।

‘पशुपतिनाथसहित गुहेश्वरी क्षेत्र र वरपरको क्षेत्र विश्व सम्पदा क्षेत्र सुचीमा सूचीकृत छ, त्यो स्थानमा विश्व सम्पदा सूचीसम्बन्धी मापदण्डलाई मिचेर इन्धनको डिपो निर्माण गर्न पाइँदैन,’ रिसेलले भने, ‘सिनामंगल क्षेत्रमा जोखिम भयो भनेर गुहेश्वरी क्षेत्रमा सार्नु भनेको हास्यास्पद विषय हो । डिपोको कारण गुहेश्वरी क्षेत्र वरपरको बस्ती र पशुपतिनाथ मन्दिर पनि जोखिममा पर्छ । एउटा स्थानको जोखिम कम गर्न अर्कोस्थानलाई जोखिममा पार्न मिल्दैन ।’

विश्व सम्पदा क्षेत्र सुचीमा परेको क्षेत्रमा इन्धनको डिपो निर्माण गर्दा यूनेस्कोले पशुपतिलगायत गुहेश्वरी क्षेत्रलाई ‘डेन्जर’ सुचीमा सूचीकृत गर्न सक्ने अवस्था सिर्जना हुने रिसेलले जानकारी दिए । ‘यसले गर्दा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमै नेपालको बदनामी हुन जान्छ,’ उनले भने, ‘कुनै पनि शर्तमा त्यहाँ डिपो निर्माण गर्न र सञ्चालन गर्न पाइँदैन ।’

अहिले सार्ने भनिएको स्थानमा कतिको सुरक्षित ?

विमानस्थलको मास्टर प्लानमा अहिले डिपो निर्माणको लागि छुट्याइएको जग्गाको ठिक दक्षिणी भागमा अन्तर्राष्ट्रिय उडानका विमानहरु राख्न पार्किङ्ग निर्माण गर्ने योजना समावेश गरिएको छ । त्यहाँ अत्यन्त महत्वपूर्ण व्यक्तिहरुको लागि भीभीआईपी कक्षसहित अन्तर्राष्ट्रिय विमान टर्मिनल निर्माण गरिनेछ ।

प्रस्तावित निर्माण हुने डिपो स्थल र जहाज राख्ने पार्किंग स्थल

यो प्लानअनुसार इन्धन डिपो र अन्तर्राष्ट्रिय उडानका विमानहरु राख्न पार्किङ्ग निर्माण भयो भने ती दुबैबीच करिब २५० मिटरको दूरीमात्रै कायम हुने देखिन्छ । वर्तमान स्थानमा रहेको स्थान जोखिमका हिसाबले सम्बेदनशील भएको चर्चा भइरहेको स्थानमा डिपो सार्न छुट्टयाइएको स्थान पनि सुरक्षाको दृष्टिकोणले उपयुत्त नभएको जानकारहरुले औंल्याएका छन् ।

‘निर्माण गर्ने भनिएको डिपो नजिकै भीभीआइपी कक्षसहित जहाज पार्किङ्ग र अन्तर्राष्ट्रिय टर्मिनल निर्माण हुँदा जोखिम र सुरक्षाको हिसाबले कति सुरक्षित हुन्छ आफैं बुझ्न सकिन्छ,’ निगमका एक पूर्वअधिकारीले भने, ‘जोखिमकै कुरा गर्ने हो भने त झन् असुरक्षित हुने भयो ।’

प्रस्तावित निर्माण हुने डिपो स्थल, जहाज राख्ने पार्किंग स्थल र अन्तर्राष्ट्रिय जहाज टर्मिनल स्थल (रातो घेराले पशुपति स्मारक मध्यवर्ती क्षेत्रलाई बुझाउँछ)

निगमका एक अधिकारीको दावी भने फरक छ । ती अधिकारीका अनुसार डिपो निर्माण गर्न छुट्टयाइएको क्षेत्र निक्कै गहिरो स्थानमा छ । त्यो गहिरो स्थानमै भर्टिकल ट्यांकीसहितको डिपो निर्माण हुनेछ । अहिलेको रनवेबाट ५ मिटर गहिराईमा त्यो ट्यांकीसहितको डिपो निर्माण हुने भएकाले कुनै पनि प्रकारका जोखिम निम्तन नसक्ने ती अधिकारीले दावी गरे ।

प्रस्तावित निर्माण हुने डिपो स्थल, जहाज राख्ने पार्किंग स्थल र अन्तर्राष्ट्रिय जहाज टर्मिनल स्थल

‘अहिले भनिएको जग्गा विमानस्थलको रनवेदेखि निक्कै गहिरो स्थानमा छ, त्यहाँ डिपो बनाउँदा कुनै पनि प्रकारको जोखिमको अवस्था सिर्जना हुँदैन,’ दावी गर्दै ती अधिकारीले भने, ‘रनवेभन्दा ५ मिटर गहिराईमा डिपो निर्माण हुने भएकाले कुनै पनि प्रकारले डिपोतर्फ जहाज जान सक्दैन ।’

विमानस्थल फराकिलो पार्न डिपो सार्ने योजना

विमानस्थलको मास्टर प्लानअनुसार अहिले विमानस्थल सुधार गरी फराकिलो र सुरक्षित बनाउन लागिएको छ । फराकिलो बनाउने क्रममा आयोजनाले विमानस्थलको मूल रनवे नजिकै समानान्तर ट्याक्सी वे (प्यारालाल ट्याक्सी वे) निर्माण गर्न लागेको छ ।

हवाई यातायात क्षमता अभिवद्धि अयोजनाअनुसार अन्तर्राष्ट्रिय सिभिल एभिएसन अर्गानाइजेसन (आइकाओ)ले रनवेको केन्द्ररेखादेखि ट्याक्सी वेबीचको न्युनतम दूरी १७२.५ मिटर कायम गर्नुपर्ने मापदण्ड बनाएको छ । विमानस्थलको मापदण्डमा पनि यहि उल्लेख गरिएको छ । ट्याक्सी वे निर्माण गर्दा अहिले भएको निगमको माथिल्लो डिपोको करिब आधा क्षेत्रफल हटाउनुपर्ने अवस्था छ ।

त्यस्तै समानान्तर ट्याक्सी वे निर्माणसँगै अर्को ट्याक्सी वे स्ट्रिप (सेफ्टी एरिया) पनि निर्माण गर्नुपर्ने मास्टर प्लानमा उल्लेख छ । यो अर्को ट्याक्सी वे स्ट्रिप निर्माण गर्दा पनि डिपोको सम्पूर्ण संरचना हटाउनुपर्ने हुन्छ ।

ती डिपोका कारण अन्तर्राष्ट्रिय मापदण्ड पूरा हुन नसक्दा विमानस्थल सुरक्षा, उडान सुरक्षा तथा वरपरका घना बस्तीमा ठूलो जोखिम उत्पन्न हुन सक्ने भन्दै आयोजनाले डिपो स्थानान्तरण गर्न २०७९ साउन ११ गते निगमलाई पत्राचार गरेको थियो ।

ठूला जहाज (वाइड वडी) को पखेटा निक्कै लामो र फराकिलो हुने भएकाले समानान्तर ट्याक्सी वेपछि निर्माण हुने ट्याक्सी वे स्ट्रिपका लागि पर्याप्त खुला स्थान आवश्यक परेको हो ।

अहिले निर्माण गर्ने भनिएको समानान्तर ट्याक्सी वे र ट्याक्सी वे स्ट्रिपले ओगट्ने भनेको क्षेत्रफलबाट डिपोलाई अन्य स्थानमा हस्तान्तरण नगरिए विमानस्थलको अन्तर्राष्ट्रिय मापदण्ड पूरा नहुने दावी गरिएको छ ।

यस्तो छ डिपोको वर्तमान अवस्था

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूल रनवेको दक्षिणतर्फको गहिरो क्षेत्रमा निगमको हवाई इन्धन डिपो छ । गुगल म्यापअनुसार रनवे र माथिल्लो डिपो बीचको दूरी करिब १४२.५६ मिटर छ । हवाई इन्धन डिपो कार्यालय सिनामंगलले भने ८० मिटर भएको जानकारी दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

माथिल्लो डिपोमा ७० किलोलिटरको ट्याँकी भूमिगत गरेर राखिएको छ भने ७६० किलोलिटर क्षमताको ३ वटा भर्टिकल ट्यांकी छ । यस्तै गुगल म्यापअनुसार रनवेदेखि दक्षिणतर्फ नै करिब २०४.८४ मिटरको दूरीमा १६०० किलोलिटरको ३ वटा ट्याँकीसहितको दोश्रो डिपो छ । हवाई इन्धन डिपो कार्यालय सिनामंगलले भने रनवे र दोश्रो डिपोबीच १६० मिटर दूरी रहेको जनाएको छ ।

माथिल्लो डिपो, तल्लो डिपो र फ्युल सेन्टर ओगटेको कूल क्षेत्रफल ३७ रोपनीको छ । जसमध्ये निगमको स्वामित्वको ३२ रोपनी र भाडाको जग्गा ५ रोपनी छ । माथिल्लो डिपोले ओगटेको क्षेत्रफलमध्ये ५ रोपनी जग्गा विमानस्थलबाट भाडामा लिइएको छ भने तल्लो डिपो भएको क्षेत्र निगमको आफ्नै जग्गामा निर्माण भएका छन् ।

विमानस्थलको जग्गा भाडामा प्रयोग गरेबापत निगमले वार्षिक करिब ४१ लाख रुपैयाँ त्रिभुवन विमानस्थललाई तिर्दैआएको छ । यसबाहेक विमानस्थलमा हवाई इन्धन बिक्री गरेवापत निगमले बिक्री मूल्यमा ०.३ प्रतिशत ‘थ्रु पुट’ कर पनि विमानस्थललाई तिर्दै आएको छ ।

भित्रभित्रै अर्कै खेल

विमानस्थल सुधार आयोजनाले रनवेसँगै समानान्तर ट्याक्सी वे र ट्याक्सी वे स्ट्रिप निर्माणका लागि उक्त डिपो सार्नुपर्ने आफ्नो मास्टर प्लानमा योजना समावेश गरेको हुनाले केहि स्वार्थ समूह उक्त डिपो तत्कालै सार्नुपर्ने भनेर राजनीतिक रुपमा लविङ गर्दै आएका छन् । नयाँ स्थानमा डिपो निर्माण गर्न प्रारम्भिक चरणको लागत अनुमान ६ अर्ब रुपैयाँ निकालिएको छ ।

निगमका एक पूर्वउच्च अधिकारीका अनुसार यस्ता स्वार्थ समूहले उच्च राजनीतिक दबाबमा वास्तविक लागत खर्चभन्दा अत्यधिक लागत खर्च बनाएर उक्त डिपो निर्माणको ठेक्का हत्याउन भित्री चलखेल सुरु भै सकेको छ ।

‘केही ठूला स्वार्थ केन्द्रहरुले वास्तविक लागतको तुलनामा दोब्बर लागतमा टेण्डर गर्न निगममाथि दबाब दिएकाले निगमले डिपो सार्ने योजनामा त्यति चासो देखाएको छैन,’ ती पूर्वअधिकारीले भने, ‘जोखिमको कुरा गर्ने हो भने विमानस्थलको जुन क्षेत्रमा डिपो स्थानान्तरण गर्दा पनि त्यतिकै हुने हो । हाम्रो जस्तै अवस्थामा अन्य मुलुकमा पनि हवाई डिपो छन् । डिपो सारेर भवितव्य जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ, तर यहाँ डिपो सार्न राजनीतिक आडमा ठूला माफिया गिरोह सक्रिय रहेकाले समस्या परेको हो ।’

उनका अनुसार इन्धन डिपो निर्माणको क्षेत्रमा कुनै अनुभव नै नभएको केही समूह राजनीतिक पहुँचको आडमा दोब्बर लागत खर्चमा सार्न र निर्माणका लागि चर्को दबाब दिएपछि डिपो सार्ने योजना अघि बढ्न नसकेको हो ।

‘डिपो सार्न त्यति सहज छैन । यो निक्कै प्रज्जवलशील पदार्थ हो । यसको निर्माणमा विशिष्टता प्राप्त गरेको व्यक्ति वा कम्पनीले मात्रै निर्माण गर्न सक्छ । कसैले सेटिङ गरेर हत्याउन खोज्यो भने निर्माणपश्चात् हुने दुर्घटनाको जिम्मेवारी कसले लिने ?,’ ती अधिकारीले भने ।

आन्तरिकरुपमा यो विषयले विवादास्पद रुप लिएपछि केहि समयअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उक्त डिपो सार्न आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहयोग इण्डियन आयल कर्पोरेशन (आईओसी) सँग माग गरेका थिए ।

नयाँ दिल्लीमा आयोजित बिमस्टेक बिजनेस समिट २०२४ मा सहभागी हुन पुगेका मन्त्री भण्डारीले आईओसीका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्दै आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराइदिन आग्रह गरेका थिए ।


राजेश बर्मा