डेडिकेटेड ट्रंक लाइन विवाद: कुलमानलाई कारबाहीको निर्णयका विषयमा लेखा समितिमा तनाब (भिडियो)



काठमाडौं । डेडिकेटेड ट्रंकलाइनका विषयमा सत्तारुढ कांग्रेस र एमालेबीचनै विवाद भएको छ ।

एमालेका सांसदहरू नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई कारबाही गर्नु्पर्ने पक्षमा देखिए पनि कांग्रेस सांसदहरु बिपक्षमा उभिएपछि आइतबार सार्वजनिक लेखा समितिको बैठक होहल्ला भएको हो ।

एमाले सांसदहरुले कुलमानलाई कारबाही गर्न पत्राचार गर्नु पर्छ भनिरहँदा कांग्रेस सांसदहरु मध्यमार्गी लाइनमा छन् ।

उनीहरु ट्रंक डेडिकेटेड लाइनका विषयमा भएको विवादका विषयमा समितिले थप स्पष्टता गर्नका लागि कुलमानसँग छलफल गर्नु पर्ने बताइरहेका छन् । कारबाहीका लागि अहिले नै आक्रामक हुन नहुने उनीहरुको भनाइ छ ।

माओवादी सांसदहरुले बक्यौता विवादका विषयमा प्राधिकरण प्रवन्ध निर्देशक कुलमान घिसिङमाथि कारबाही गर्न पत्राचार गर्न नहुने बताइरहेको छ ।

विहानबाट सुरु भएको बैठकमा निर्णय गर्नुअघि विवाद भएको हो ।

करिब १ घण्टादेखि सांसदहरुबीच बैठकमा चर्काचर्की परिरहेको छ ।


क्लिकमान्डु