गाडी किन्न कुन बैंकले कति प्रतिशत ब्याजमा दिन्छन् ऋण ?



काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनामा गाडी खरिद गर्नेलाई दिने ब्याजदर सार्वजनिक गरेका छन् । सवारी साधान खरिद गर्दा बैंकबाट व्यक्तिगत तथा व्यवसायीक कर्जा पाइन्छ । व्यक्तिगत कर्जाभन्दा व्यवसायीक कर्जाको ब्याजदर केही महँगो पर्छ ।

बैंकहरुले कर्जा दिँदा स्थिर र अस्थिर गरि दुई प्रकारको दिने गरेका छन् । स्थिर ब्याजदर जति समयका लागि लिएको हो त्यही समयसम्म परिवर्तन हुँदैन । अस्थिर ब्याज भने बैंकको आधारदर घटबढ हुँदा कर्जाको ब्याजदर पनि घटबढ हुने गर्छ ।

पछिल्लो समय बैंकहरुले विद्युतीय गाडीमा दिने कर्जा अन्यकोभन्दा केही कम दरमा दिने गरेका छन् ।
ब्याजमा प्रतिस्पर्धामा रहेका बैंकहरुमध्ये राष्ट्रिय वाणिज्य बैंकले दसैंका लागि अफर समेत ल्याएको छ ।

नेपालमा हुने विभिन्न प्रदर्शनीमध्येको सबैभन्दा बढी चर्चा र चासोका साथ हेरिने गाडीको कुम्भ मेला अर्थात नाडा अटो शो भदौ ११ गतेदेखि सुरु हुँदैछ । नाडा अटो शोमा गाडी बिक्री तथा बुक हुनुका साथै बैंकहरुले दिने कर्जा पनि यो अवधिमा बढ्छ ।

मेलामा कतिपय बैंकहरुले अफर समेत ल्याउने बताइन्छ । भदौ महिनामा बैंकहरुले गाडी कर्जामा फरक फरक ब्याज दिने जनाएका छन् ।

कुन बैंकको कति ब्याज ?

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकबाट फिक्स अवधिका लागि ८.९९ देखि ११.९९ प्रतिशतसम्म ब्याज लाग्ने छ । यस्तो कर्जा बैंकले १५ वर्षसम्मका लागि दिने जनाएको छ ।

असार मसान्तसम्म बैंकको आधारदर ८.७० प्रतिशत रहेको छ । बैंकबाट अटो लोन लिँदा आधारदरमा १ देखि ३ प्रतिशतसम्म प्रिमियम थप गर्नुपर्ने छ ।

नबिल

नबिल बैंकको साउन मसान्तसम्म आधारदर ७.६३ प्रतिशत रहेको छ । बैंकबाट अटो लोन लिँदा प्राइभेटमा आधार दरमा २ देखि ४ प्रतिशत प्रिमियम तिर्नुपर्छ । कमर्सियलमा आधार दरमा ३ देखि ४ प्रतिशत प्रिमियम थप्नुपर्छ ।

विद्युतीय गाडीमा प्राइभेटतर्फ आधारदरमा १ देखि ३ प्रतिशत र कमर्सियलमा आधारदरमा ३ देखि ४ प्रतिशत प्रिमियम थप्नुपर्छ।

बैंकबाट ५ वर्षसम्मका लागि प्राइम लोन लिँदा १२ र स्टयान्डर्ड कर्जा लिँदा १२.२५ प्रतिशत ब्याज लाग्छ । ५ देखि १० वर्षका लागि फिक्स कर्जा लिँदा प्राइम तर्फ १२.२५ र स्टयान्डर्ड तर्फ १२.५० प्रतिशत रहेको छ । १० वर्षदेखि बढी अवधिका लागि प्राइम तर्फको कर्जामा १२.५० र स्टयान्डर्डमा १२.७५ प्रतिशत ब्याज रहेको छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंक बैंकबाट स्पेसिफिक कर्जा लिँदा आधादरमा ०.५० देखि २.५० प्रतिशतसम्म ब्याज लाग्ने छ । यस्तै नर्मलमा आधारदरमा १ देखि ३ प्रतिशत प्रिमियम थप हुनेछ । कमर्सियल सवारीमा स्पेसिफिक तर्फ ०.५ देखि २.५० र नर्मलमा २ देखि ४ प्रतिशत प्रिमियम थपिने छ ।

असार मसान्तसम्म बैंकको आधारदर ८.१३ प्रतिशत रहेको छ । बैंकबाट ५ वर्षका लागि स्थिर ब्याजदरमा कर्जा लिने हो भने १० प्रतिशत, ५ देखि १० वर्षका लागि ११ प्रतिशत ब्याजमा कर्जा पाइने छ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंक बैंकबाट ५ वर्षसम्मका लागि गाडी कर्जा लिँदा स्थिर तर्फ १०.४९ देखि ११.४९ प्रतिशत ब्याज लाग्ने छ ।

यस्तै ५ वर्षभन्दा बढी अवधिको लागि ११.९९ देखि १२.९९ प्रतिशत ब्याज लाग्ने छ । बैंकको अस्थिर ब्याजदर अटो तर्फ आधारदरमा ३.५० प्रतिशत थप रहेको छ । असार मसान्तसम्म बैंकको आधारदर ८.०९ प्रतिशत रहेको छ ।

कुमारी बैंक

कुमार बैंकबाट सवारी साधान कर्जा दिँदा १२.३९ प्रतिशतसम्म ब्याज लाग्ने छ । असार मसान्तसम्म बैंकको आधारदर ८.८९ प्रतिशत रहेको छ ।

बैंकबाट कमर्सियल हायर पर्चेज लोन लिँदा आधारदरमा २.५० देखि ३.५० प्रतिशतसम्म प्रिमियम थप्नुपर्ने छ । यस्तै व्यक्तिगत अटो लोन लिँदा आधारदरमा १ देखि ३ प्रतिशतसम्म प्रिमियम थप्नुपर्ने छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकबाट स्थिर अटो कर्जा लिँदा ५ वर्षसम्मका लागि व्यक्तिगत तर्फ १०.५० प्रतिशत, ६ देखि १० वर्षका लागि ११ प्रतिशत ब्याज लाग्नेछ । व्यवसायीक प्रयोजनका लागि ५ वर्षसम्मको कर्जा लिँदा ११ प्रतिशत ब्याज लागने छ ।

असार मसान्तस बैंकको आधारदर ८.२६ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा व्यक्तिगत तर्फ आधारदरमा ३ र व्यवसायीक प्रयोजनका लागि आधारदरमा ४ प्रतिशत प्रिमियम थपिन्छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट व्यक्तिगत रुपमा गाडी कर्जा लिँदा आधार दरमा २ देखि ४ प्रतिशत प्रिमियम थप्नुपर्छ । व्यवसायीक कर्जा लिँदा आधारमा २.५० देखि ४.५० प्रतिशत प्रिमियम थप्नुपर्छ ।

विद्युतीय गाडीका लागि कर्जा लिँदा आधारमा १ देखि ३ प्रतिशत प्रिमियम थप्नुपर्छ । साउन मसान्तसम्म बैंकको आधारदर ७.८२ प्रतिशत रहेको छ ।

एनएमबि बैंक

एनएमबि बैंकबाट ५ वर्षसम्मका लागि एनएमबि सुलभ अटो लोन (इलेक्ट्रिक) लिँदा १०.१० प्रतिशत र ७ वर्षसम्मका लागि अटो इलेक्ट्रिक कर्जा लिँदा ८.९९ प्रतिशत ब्याज लाग्ने छ ।

इन्टर्नल कम्बुस्चन इन्जिन (आइसीई) तर्फ व्यक्तिगत कर्जा लिँदा आधार दरमा १ देखि ३ र व्यवसायीक प्रयोजनका लागि २.५ देखि ४.५ प्रतिशत ब्याज लाग्ने छ ।

यस्तै विद्युतीय गाडीमा व्यक्तिगततर्फ ०.५ देखि २.५ र व्यवसायीक तर्फ २ देखि ४ प्रतिशत आधारदरमा थपिने छ ।
साउन मसान्तसम्म बैंकको आधारदर ७.४२ प्रतिशत रहेको छ ।

प्रभु बैंक

प्रभु बैंकबाट ५ वर्षसम्मका लागि अटो लोन लिँदा ९.५० र ५ वर्षदेखि बढी अवधिका लागि कर्जा लिदा ११.५० प्रतिशत ब्याज लाग्ने छ ।

यस्तै बैंकबाट ५ वर्षसम्मका लागि अटो लोन लिँदा २ देखि ४ र ५ देखि ८ वर्ष अवधिका लागि कर्जा लिँदा आधार दरमा २.५० देखि ४.५० प्रतिशत प्रिमियम थप्नु पर्ने छ । असार मसान्तसम्म बैंकको आधारदर ८.०२ प्रतिशत रहेको छ ।

हिमालयन बैंक

हिमालयन बैंकबाट फिक्स रेटमा ७ वर्षसम्मका लागि कर्जा लिँदा ११ प्रतिशतमा ऋण पाइन्छ ।

बैंकबाट ७ वर्षसम्मका लागि कमर्सियल हायर पर्चेज कर्जा लिँदा ११.५० प्रतिशत ब्याज लाग्ने छ ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले विद्युतीय तथा अन्य गाडी कर्जामा चाडपर्व योजना नै ल्याएको छ । भदौ १ देखि २०८१ कात्तिक मसान्तसम्म कायम हुने योजना भित्र विद्युतीय वा अन्य गाडी कर्जा ७ वर्षका लागि लिँदा ७.७७ प्रतिशत स्थिर ब्याजदर रहेको छ ।

बैंकबाट गाडी कर्जा लिँदा प्राकृतिक व्यक्तिको हकमा स्थिर कर्जा लिँदा ७ वर्षसम्मका लागि १०.५० प्रतिशत, ७ वर्षसम्मका लागि विद्युतीय सवारी साधानमा ९ प्रतिशत ब्याज रहेको छ । स्थिर ब्याजमा संस्थागत तर्फ ५ देखि १० वर्षका लागि गाडी कर्जामा १०.५० र १० वर्षदेखि माथीकोमा ११.५० प्रतिशत ब्याजदर लाग्ने छ ।

स्थिर बाहेक बैंकबाट ५ वर्षसम्मका लागि कर्जा लिँदा आधारदरमा १.२५ प्रिमियम र ५ देखि ७ वर्षका लागि कर्जा दिला आधारदरमा १.४५ प्रतिशत प्रिमियम थपिने छ । असार मसान्तसम्म बैंकको आधारदर ७.०१ प्रतिशत रहेको छ ।

नेपाल एसबिआई बैंक

नेपाल एसबिआई बैंकले अटो कर्जा लिनेका लागि तीन प्रकारको स्थिर व्याजको व्यवस्था गरेको छ । बैंकबाट ३ वर्षसम्मको कर्जा लिँदा १२.५० प्रतिशत, ३ देखि ५ वर्षका लागि कर्जा लिँदा १३ र ५ देखि १० वर्षका लागि अटो कर्जा लिँदा १३ प्रतिशत ब्याज लिने जनाएको छ ।

बैंकबाट व्यक्तिगत प्रयोजनका लागि विद्युतीय गाडीका लागि आधादरमा ०.२५ देखि २.२५ सम्म, व्यक्तिगत प्रयोजनका लागि इन्धनवाला गाडीका लागि ०.५० देखि २.५० प्रतिशतसम्म ब्याज लिने जनाएको छ ।

कार्यालय प्रयोजनका लागि विद्युतीय गाडीमा आधादरमा ०.२५ देखि २.२५ सम्म, कार्यालय प्रयोजनका लागि इन्धनवाला गाडीका लागि ०.५० देखि २.५० प्रतिशतसम्म, ब्यवसायीक प्रयोजनका लागि इभीमा आधार दरमा १ देखि ३ र ब्यवसायीक प्रयोजनका लागि इन्धनवाला गाडीमा आधारदरमा १ देखि ३ प्रतिशत ब्याज थपिने बैंकले जनाएको छ । असार मसान्तसम्म बैंकको आधारदर ८.१२ प्रतिशत रहेको छ ।

सानिमा बैंक

सानिमा बैंकबाट व्यक्तिगत अटो कर्जा लिँदा आधादरमा १.५० देखि ३.५० प्रतिशतसम्म प्रिमियम थप्नुपर्छ ।

यस्तै व्यावसायीक प्रयोजनका लागि कर्जा लिँदा पनि आधारदरमा १.५० देखि ३.५० प्रतिशतसम्म ब्याज तिर्नुपर्छ । साउन मसान्तसम्म बैंकको आधादर ७.५८ प्रतिशत छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकबाट ५ वर्षसम्मका लागि स्थिर अटो लोन लिँदा १०.७५ प्रतिशत ब्याज तिर्नुपर्छ भने ५ वर्षदेखि बढी अवधिका लागि लिएको कर्जामा ११.२५ प्रतिशत ब्याज तिर्नुपर्छ ।

यता अस्थिर ब्याजदर तर्फ अटो लोन लिँदा आधादरमा ३ प्रतिशत प्रिमियम थपिने छ । यस्तै व्यवसायीक प्रयोजनका लागि आधारदरमा ३.२५ प्रिमियम थपिने छ । असार मसान्तसम्म बैंकको आधारदर ८.११ प्रतिशत छ ।


क्लिकमान्डु