प्रिमियममा आईपीओ ल्याएको घोराही सिमेन्ट व्यापार घट्यो, ९ महिनामा मार्जिन २.०४% मा सीमित



काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ ल्याएको घोराही सिमेन्टको व्यापारमा गिरावट आएको छ । व्यापारिक ग्रुप त्रिवेणी समूह र विशाल ग्रुपको स्वामित्वमा रहेको घोराही सिमेन्ट उद्योग प्रालिको व्यापारमा सन् २०२१ यता निरन्तर गिरावट आइरहेको हो ।

कम्पनीले गत असारमा सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता ४३५ रुपैयाँका दरले साधारण सेयर आईपीओ निष्कासन गरेको थियो ।

सन् २०२० मा कम्पनीको व्यापार ५ अर्ब ७३ करोड १० लाख रुपैयाँको थियो । सन् २०२१ मा भने व्यापारमा केही वृद्धि भएर ५ अर्ब ८५ करोड ७० लाख रुपैयाँको कारोबार भएको थियो । तर, त्यसपछि भने कम्पनीको व्यापारमा निरन्तर गिरावट आएको छ।

सन् २०२२ मा कम्पनीको व्यापार ५ अर्ब ४ करोड २० लाख रुपैयाँको थियो । सन् २०२३ मा ४ अर्ब ७९ करोड १० लाख रुपैयाँको व्यापार गरेको घोराही सिमेन्टले सन् २०२४ को पहिलो ९ महिनामा ३ अर्ब १० करोड रुपैयाँको व्यापार गरेको छ ।

व्यापारमा निरन्तर गिरावट भइरहँदा यसको नाफाको मार्जिनमा भने उतारचढाव देखिएको छ ।

सन् २०२० यो कम्पनीको मार्जिन १०.९९ प्रतिशत रहेकोमा सन् २०२१ मा वृद्धि भएर १५.७६ प्रतिशत पुगेको थियो । सन् २०२२ मा पनि मार्जिनमा वृद्धि भएर १९.५२ प्रतिशत रहेको थियो । सन् २०२३ मा भने मार्जिनमा गिरावट भएर १७.६१ प्रतिशत रहेको थियो । सन् २०२४ को पहिलो ९ महिनामा भने मार्जिनमा भारी गिरावट भएर २.०४ प्रतिशतमा सीमित भएको छ ।

सन् २००७ मा खुलेको घोराही सिमेन्ट नेपालका दुई ठूला व्यापारिक समूहको स्वामित्वमा छ र यसको अध्यक्ष पुरुषोत्तम लाल संघाई रहेका छन् । यसको उत्पादन कारखाना दाङमा रहेको छ, जहाँ दैनिक ३५ सय टन क्लिंकर उत्पादन र १६ सय टन प्रतिदिन ग्राइन्डिङ क्षमता रहेको छ । घोराही सिमेन्ट उद्योगले सगरमाथा ब्राण्डमा सिमेन्ट बिक्री गर्दै आएको छ ।

व्यापारमा गिरावट भएको कम्पनीले हालका लागि १० अर्ब ७६ करोड ४६ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । इन्फोमेरिक्सले कम्पनीलाई दीर्घकालीन कर्जा सुविधामा ८ अर्ब ९ करोड १९ लाख रुपैयाँका लागि डबल बि र २ अर्ब ६७ करोड २६ लाख रुपैयाँको अल्पकालीन कर्जा सुविधामा ‘ए फोर’ रेटिङ दिएको छ ।


क्लिकमान्डु