अर्बमा व्यापार गर्ने अम्बे सिमेन्टको व्यापार १५ करोडमा सीमित, नाफा नकारात्मक



काठमाडौं । सन् २०२२ मा १ अर्बभन्दा धेरैको व्यापार गरेको अम्बे सिमेन्ट प्रालिको व्यापारमा भारी गिरावट भएको छ ।

सन् २०२२ मा १ अर्ब २६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको कम्पनीको व्यापारमा निरन्तर गिरावट देखिएको छ ।

सन् २०२३ मा यो कम्पनीको व्यापारमा आधाभन्दा धेरैको गिरावट भएर ५७ करोड ७० लाखको कारोबार भएको थियो । यद्यपि सन् २०२४ मा भने यसको व्यापारमा भारी गिरावट भएर १५ करोड ६० लाख रुपैयाँको मात्रै व्यापार भएको छ ।

सन‍् २००४ मा स्थापना भएको यो कम्पनीले दैनिक रुपमा १ हजार मेट्रिक टन ग्राइडिङ क्षमताको उद्योग स्थापना गरेको छ । कम्पनीको उद्योग पर्सामा रहेको छ । विभिन्न ६ ब्रान्डको नाममा पिएससी सिमेन्ट, दुई ब्रान्डको नाममा पिपिसी र दुई नाममा ओपिसि सिमेन्ट उत्पादन तथा बिक्री गरिरहेको कम्पनीको नाफाको मार्जिन भने सन् २०२४ मा नकारात्मक भएको छ ।

सन् २०२२ मा ६.९५ प्रतिशत मार्जिन भएको कम्पनीको सन् २०२३ को मार्जिन ०.२७ प्रतिशत रहेको थियो । सन् २०२४ मा यस्तो मार्जिन नकारात्मक भएको छ ।

हालका लागि कम्पनीले ५६ करोड ५३ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । उक्त अल्पकालीन कर्जा सुविधाका लागि केयर रेटिङ नेपालले कम्पनीलाई ‘ए फो’ रेटिङ दिएको छ ।


क्लिकमान्डु