झन् घट्यो निक्षेपको ब्याजदरः बढाउने प्राइममात्रै, सर्वाधिक एनएमबि र एनआईसीमा पाइने



काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाका लागि नयाँ ब्याजदर प्रकाशन गरेका छन् । नयाँ महिनाका लागि अघिल्लो महिनाको अन्तिम दिनअघि नै ब्याजदर तोक्नुपर्ने व्यवस्थाअनुसार उनीहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

प्रकाशित ब्याजदरअनुसार निक्षेपमा सबैभन्दा बढी ब्याज एनआईसी एशिया र एनएमबि बैंकले ७.४१ प्रतिशत दिनेछन् । यी बैंकले साउनको तुलनामा ब्याजदर ०.१२ प्रतिशत बिन्दुले घटाए पनि सर्वाधिक ब्याज दिने बैंकको सूचीमा शीर्ष स्थानमा यथावत् छन् ।

यस्तै सबैभन्दा कम ब्याज दिने बैंक नेपाल बैंक हो । बैंकले मुद्दती निक्षेपमा सबैभन्दा कम ५.२५ प्रतिशत ब्याज दिने भनेको छ ।

प्रकाशित ब्याजदर अनुसार हिमालयन, नबिल, माछापुच्छ्रे र स्ट्यान्डर्ड चार्टर्ड बैंकले निक्षेपमा ७ प्रतिशत ब्याज दिने भनेका छन्।

सञ्चालनमा रहेका २० मध्ये प्राइमले मात्र ब्याजदर बढाएको हो । ग्लोबल आईएमई, कुमारी, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल, सिटिजन्स र स्ट्यान्डर्डले ब्याजदर यथावत राख्दा अरु १३ बैंकले ब्याजदर घटाएका हुन् ।

भदौका लागि सबैभन्दा बढी दरले ब्याजदर घटाउने बैंक नेपाल बैंक हो । बैंकले १ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ भने बढी दरले घटाउनेमा प्रभु बैंक पनि अगाडि छ ।

यससँगै बैंकहरुको औसत अधिकतम ब्याजदर ६.७३ प्रतिशतबाट ०.१८ बिन्दुले घटेर ६.५६ प्रतिशत कायम भएको छ ।

यसअघि सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये १३ वटाले घटाएका थिए । बढाउनेमा एभरेस्ट र कृषि विकास बैंक थिए भने ५ बैंकले यथावत राखेका थिए ।

असारमा पनि सबैभन्दा बढी ब्याज व्यक्तिगत मुद्दती निक्षेपमा एनआईसी एशिया र एमएमबि बैंकले दिने घोषणा गरेका थिए ।


क्लिकमान्डु